छाला टल्काउने स्टिम बाथ
होलिस्टिक संवाददाताअनिता सुनुवार
‘स्टिम बाथ’ भनेको पानीको बाफबाट नुहाइने एक प्राकृतिक उपचार पद्धति हो । स्टिम बाथ गर्नाले व्यक्ति स्वस्थ, सुन्दर र तन्दुरुस्त रहन मद्धत मिल्छ ।
आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा पद्धतिमा विभिन्न किसिमका जडीबुटी मिसेर पानीको बाफमा नुहाइन्छ । यसरी जडीबुटी सहितको बाफले नुहाउँदा शारीरिक तथा मानसिक लाभ हुन्छ ।
नेपालका विभिन्न फिटनेस क्लब तथा होटलमा स्टिम बाथको लोकप्रियता दिनानुदिन बढिरहेको छ । घरमा समेत सहजै गर्न सकिने विधि हो यो । तर, सुरुमा भने तालिम प्राप्त व्यक्तिबाट तरिका सिक्नुपर्छ ।
बाफमा स्नान
स्टिम बाथ गर्ने पनि विभिन्न तरिका र पद्धति हुन्छन् । सामान्यतया स्टिममा नुहाउनका लागि स्टिम बक्स तयार पारिएको हुन्छ । आफू स्टिम बक्सभित्र बसेर टाउको भने बाहिर निकालिन्छ । स्टिम बाथरुममै पनि स्टिम बाथ लिन सकिन्छ । कोठामा तातो पानीको बाफ छाडेर सामूहिकरुमा समेत स्टिम बाथ गर्न सकिन्छ । स्टिम बक्सभित्र बाथ गर्दा भने एक जनाले मात्रै गर्न मिल्छ ।
स्टिम बाथ लिनुपूर्व कुकरमा भएको पानीको बाफ पाइपको सहायताले स्टिम बक्सभित्र छाडिन्छ र त्यही बाफले नुहाइन्छ । यसो गर्दा टाउकामा रुमाल भिजाएर राख्नुपर्छ, जसले टाउकामा तापक्रमको सन्तुलन कायम राख्न सहयोग गर्छ ।
बाथ लिँदा अपनाउनुपर्ने सजगता
स्टिम बाथ गर्दा केही सजगता अपनाउनै पर्छ । स्टिम बाथ गर्नुभन्दा दुई घन्टा अघिदेखि स्टिम बाथ गरिसकेको दुई घन्टा पछिसम्म कडा किसिमका खानपान गर्नु हुँदैन । स्टिम बाथ गर्ने समयमा कडा किसिमको खानपान गर्नाले बान्ता हुने तथा झाडापखाला लाग्ने सम्भावना हुन्छ । यसमा सचेत हुनु आवश्यक छ । स्टिम बाथ गर्न छिर्नुअघि र गरिसकेपछि प्रशस्त मात्रामा कागती, नुन, पानी पिउनुपर्छ, जसले शरीरमा कम भएको पानीको मात्रा परिपूर्ति गर्न सहयोग गर्छ ।
स्टिम बाथको तापक्रम करिव ४० डिग्रीको हुन्छ । एक पटकमा करिव आधा घन्टा बाथ गरिन्छ । स्वस्थ व्यक्ति र छालाको चमकका लागि हप्तामा एक पटक स्टिम बाथ गर्नु उपयुक्त हुन्छ । थोरै खर्चमा घरमै पनि गर्न सकिने हुनाले स्वस्थ रहन यो विधि उपयुक्त हुन्छ ।
सामान्यतः वयस्क व्यक्तिले नै यस्तो बाथ गर्नु उचित हुन्छ । बालबालिकाले स्टिम बाथ लिनु उचित हुँदैन । बालबालिकाको छाला नरम हुने भएकाले नकारात्मक असर पर्न सक्छ । त्यसैगरी, पाको उमेरका व्यक्ति तथा दीर्घरोगीले पनि चिकित्सकको सल्लाहविना यस्तो बाथ गर्नु हुँदैन ।
स्टिम बाथ गरिसकेपछि तुरुन्तै बाहिरको चिसो पानीले नुहाउनु हुँदैन । त्यसले छालामा नकारात्मक असर पर्न सक्छ ।
छाला टलक्क
बाथ गर्दा स्टिम बक्सभित्र रहेको शरीरमा खलखली पसिना आउँछ, जसका कारण छालामा हुने फोहोर तथा विकार तŒव पसिनाका माध्यमबाट बाहिर गई छाला स्वस्थ बन्नुका साथै चमक आउँछ ।
स्टिम बाथ गर्नाले मोटोपनको समस्या कम गर्न समेत सहायता पुग्छ र तनाव पनि कम हुन्छ । यो बाथबाट श्वास–प्रश्वास तथा रक्त–प्रवाहमा समेत सहजता आउँछ । हाडजोर्नीको समस्याबाट बच्न समेत स्टिम बाथ उपयोगी हुन्छ ।
सन्तुलितरूपमा स्टिम बाथ गर्नाले राम्रोसँग निद्रा लाग्ने, खाना रुच्ने, शारीरिक स्फूर्ति बढ्ने जस्ता सकारात्मक परिवर्तनका साथै स्मरणशक्ति समेत तीक्ष्ण हुन पनि यसबाट सहयोग मिल्छ । स्टिम बाथ गर्नाले छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ । घाउ–खटिराको सम्भावना पनि कम हुन्छ । यसले छालामा अड्किएर बसेका फोहोर बाहिर निकाली छालालाई स्वस्थ तुल्याउँछ । यसले छालाका मरेका कोषिकालाई पनि पुनर्ताजगी गराउँछ ।