आफैं बनाउनोस् मिठा–मिठा परिकार
होलिस्टिक संवाददातामाछाको अचार
चाहिने सामग्री
साना माछाः ४०० ग्राम , गोलभेंडाः २०० ग्राम, नुनः १ चिया चम्चा, खुर्सानीः स्वाद र आवश्यकताअनुसार ।
बनाउने टेक्निक
माछालाइ राम्रोसँग सफा गर्ने । माछाको भित्राङ्श जानेगरी सफा पानीले पखाल्ने । पखालीसकेपछि माछालाई फोहोर नपर्ने ठाउँमा सफा मान्द्रो वा नाङ्लोमा सुकाउने । सुकेको माछा र गोलभेंडालाई आगोमा पोल्ने । पोलेको माछा र गोलभेंडालाई सफा गरी सिलौटामा पिस्ने ।
स्वादअनुसार नुन, खुर्सानी र मसला हालेर राम्ररी मोलिसकेपछि माछाको अचार तयार हुन्छ । यसरी तयार भएको अचारलाई चिउरा, रोटी वा खानासँग खान सकिन्छ । धेरै भएको अचारलाई सफा बट्टामा भण्डारण गरे पछि–पछिसम्म पनि खान सकिन्छ ।
ओनिअन सुप
चाहिने सामग्री
स्लाइस्ड ओनिअनः (२ कप), लसुनः (४ केस्रा पिसेको), बटरः (१ चिया चम्चा), नुनः (स्वाद अनुसार), रोजमेरी पाउडरः (१ चिम्टी), भेजिटेबल सुप क्युबः (आधा क्युब), सोय ससः १ चम्चा, मैदाः (१ चिया चम्चा), पानीः (१ लिटर) ।
बनाउने टेक्निक
पहिले बटरलाई फ्राइङ प्यानमा तताउने । बटर राम्ररी पग्लेपछि त्यसमा स्लाइस्ड ओनिअन राख्ने र त्यसलाई खैरो–खैरो हुने गरी फ्राई गर्ने । अब त्यसमा पिसेको लसुन र मैदा राखेर हलुका फ्राई गर्ने । भेजिटेबल सुप क्युबलाई थोरै पानीमा घोलेर सो मिश्रणलाई पनि प्यानमा हालेर तताउने । अब पानी हालेर त्यसलाई उमाल्ने ।
उम्लेपछि त्यसमा रोजमेरीको धुलो र सोय सस हाली करिव १० मिनेट जति कम रापको आगोमा पकाउने । अब सुप तयार भयो । माथि उल्लेखित मात्राको सामग्रीबाट तयार पारिएको ओनिअन सुप करिव २ जना व्यक्तिका लागि पर्याप्त हुन्छ । यसलाई ब्रेकफास्टमा ब्रेडसँग वा यसै डिनरमा पनि खान सकिन्छ । यो सुपमा चिज हालेर पनि स्वाद लिन सकिन्छ ।
कागतीको निम्की
चाहिने सामग्री
कागतीः १ के.जी., नुनः २५० ग्राम ।
बनाउने टेक्निक
छिप्पिएका कागती लिने र सफा पानीले राम्ररी पखाल्ने । खस्रो ढुङ्गा वा सिलौटामा बोक्राभन्दा बाहिरको पहेंलो भाग जाने गरी कागतीलाई घोट्ने । सफा पानीले राम्ररी पखाल्ने र घाममा केहीबेर सुकाएर ओभानो पार्ने । सफा गरेको सिसाको जारमा नुनको एक तह राख्ने र माथिबाट कागतीको तह राख्ने । त्यसपछि फेरि नुनले ढाक्ने र कागती राख्ने । यसै गरी कागती र नुनको तह–तह पारी अन्त्यमा नुनले ढाक्ने र हावा नछिर्ने गरी बिर्काे लगाउने ।
निम्कीको भाँडालाई २०–२५ दिनसम्म लगातार नुन–पानीको बाक्लो लेदो नबनुन्जेल घाममा राख्ने । अन्त्यमा, कागती गलेर रसवरीजस्तै रसिलो बन्छ । यसरी तयार पारिएको निम्कीलाई सुख्खा तथा चिसो ठाउँमा भण्डारण गर्नुपर्छ ।
फर्सीको खीर
चाहिने सामग्री
दूधः १५० मिलिलिटर, पाकेको फर्सीः ६५ ग्राम, चिनीः २ चम्चा, अलैंचीः १ चिम्टी, कोरेको गाजरः १० ग्राम, घ्युः ३ ग्राम ।
बनाउने टेक्निक
फर्सीको बोक्रा र गाजर ताछेर सफा पानीमा पखाल्ने । फर्सी र गाजरलाई कोरेसोमा कोर्ने । दूध उमाल्ने र त्यसमा कोरेको फर्सी, कोरेको गाजर, अलैंचीको धुलो र चिनी हाल्ने । बिस्तारै चलाउँदै पकाउने । फर्सी बाक्लो र नरम नभएसम्म पकाउने । तातो–तातो खीरमा घ्यु राखेर पनि खान सकिन्छ ।