नर्सहरू के खान्छन्, कसरी रमाउँछन् ?

होलिस्टिक संवाददाता

नर्सिङ समवेदनशील र व्यस्त रहनुपर्ने पेशा हो । यो पेशा अपनाउने व्यक्तिले अहोरात्र बिरामीको सेवामा खट्नुपर्ने हुन्छ । बिरामीको सेवामा खटिरहने नर्सको दैनिक खानपानको रुटिनमा एकरुपता नहुँदा उनीहरुको स्वास्थ्यमा असर पुग्न सक्छ । नर्सिङ पेशा अपनाउने व्यक्ति खानपानमा कत्तिको सचेत हुन्छन् भन्ने विषयमा होलिस्टिककर्मी सागर दाहालले केही नर्ससँग गरेको कुराकानी ।

अञ्जली मगर : काठमाडौं मेडिकल कलेज

नर्सिङ यति व्यस्त रहने पेशा रहेछ कि भोक लागेको समयमा खाजा खानसम्म पनि भ्याइँदैन । बिरामीको सेवामा खटिरहँदा कहिलेकहीं त खाना खान समेत भुलिन्छ । पेट खालि भएर हात–खुट्टाले भर नपाउँदा समेत खटिनुपर्ने अवस्था आउँछ ।

घरबाट बोकेर ल्याएको खाजा समेत चिसो भइसक्छ । गर्मीको समयमा त ठीकै हो, जाडोमा समेत भोकाएका बेला फुर्सद मिलाएर त्यही चिसो खानामै चित्त बुझाउनुपर्ने हुन्छ । कहिलेकहीं त घरबाट बोकेर ल्याइराखेको खाना खान समेत समय नमिलेर घरमै फर्काउँछु ।

कहिलेकहीं घरबाट खाजा बोक्छु, नबोकेको दिन अस्पतालकै क्यान्टिनमा खान्छु । घरबाट बोक्दा त सकभर हाइजेनिक किसिमकै खाना र खाजा बोकिन्छ । क्यान्टिनमा धेरैजसो मःमः, चाउमिन खान्छु । कतिपय खाना पोषणको ख्याल नगरी भोक मेटाउनकै लागि खाइन्छ । कामको सिलसिलामा घरबाहिर (हस्पिटलमा) खाना खाँदा कयौं पल्ट बिरामी परेकी छु । तर, बाहिर नखाई सुखै हुँदैन, के गर्नु !

प्रशिद्धा दाहाल : नेपाल मेडिसिटी अस्पताल

आईसीयूमा काम गर्दा त अझ बढी समवेदनशील हुनैप¥यो । यस्तो अवस्थामा खानपान गर्ने समय मिलाउनै गह्रो हुन्छ । बिरामीको सेवामा खटिरहनुपर्छ । लगातार १२ घन्टा बिरामीको सेवामा खटिनुपर्ने ड्युटीले शरीर मात्रै होइन, मन–मष्तिष्क नै थकित हुन्छ । खाना खानै मन लाग्दैन । कतिखेर घरमा पुगेर आराम गरुँजस्तो हुन्छ ।

कति पटक त मैले खाना खानै बिर्सिएकी छु । भोकले अति नै भएपछि खाना नखाएको कुरा सम्झन्छु । त्यसपछि मिल्यो भने खाना खान्छु नत्र भोकै । सकभर घरबाटै खाना बनाएर बोक्छु । तर सधैं सम्भव हुँदैन । घरबाट टिफिन बट्टामा बोकेको खाना समयमै खान नभ्याएर पछि खाँदा मिठो लाग्दैन । पेट भोकै राखेर बट्टा पोको पार्छु । घरबाट खाना–खाजा नबोकेका दिन क्यान्टिनमा गएर मःमः, चाउमिनजस्ता खाजा खान्छु ।

कहिलेकहीं त क्यान्टिनमा पुगेर खाजा खाने फुर्सदसम्म हुँदैन । यस्तो बेला भोक बिर्सिएर बिरामीको सेवा गरिरहनुपर्ने बाध्यता हुन्छ ।
समयमै खानपान गर्न नपाउँदा कयौं पटक अस्वस्थ भएकी छु । तर, पेशाप्रतिको मोहले गर्दा आफ्नै शरीर अस्वस्थ हुँदाहुँदै पनि बिरामीको सेवामा खट्छु ।

सृष्टि दुलाल : काठमाडौं मेडिकल कलेज

‘सेवा नै धर्म हो’ भन्ने भावनाले गर्दा अस्पतालको ड्युटीमा बिरामीको सेवामा रहँदा कयौं पटक आफूले खाना खानै नभ्याएकी छैन र भुलेकी छु । बिरामीको सेवामा तल्लिन रहेको अवस्थामा आफ्नो स्वास्थ्यको समेत ख्याल हुँदो रहेनछ । यो मेरोे साँचो अनुभूति हो ।

समयमा खानपान गर्न नपाउँदा कयौं पटक अस्वस्थ भएकी छु । सकेसम्म घरबाटै टिफिन बोकेर अस्पताल पुग्छु । तर, सधैं सम्भव हुँदैन । घरबाट खाना नबोकेका दिन क्यान्टिन वा होटलमा गएर खान्छु । पेशाको प्रकृति नै कठिन भएकाले आफ्नो स्वास्थ्यको त ख्यालै हुँदो रहेनछ । पोषणको त के कुरा गर्नु !

पूजा दाहाल : नेपाल मेडिसिटी अस्पताल

मेरो दिनचर्या बिरामीको सेवामै बित्छ । बिरामीको उचित रेखदेख गर्नु मेरो कर्तव्य हो । बिरामीको सेवामा खटिरहँदा आफ्नो खानपानमा त ध्यानै जाँदैन । बिरामीको सेवा गर्दागर्दै आफ्नो स्वास्थ्यको त महŒव नै बिर्सिइन्छ । कहिलेकहीं त रिङ्गटा लागेपछि मात्रै खाना र खाजा नखाएको सम्झना हुन्छ ।

पानी प्रशस्त पिउनुपर्छ भन्ने थाहा छ तर पनि अस्पतालमा पानी पिउने फुर्सद समेत हुँदैन । घरमा बनाएको खाना खानुपर्छ भन्ने लाग्छ तर थकित हुँदा न घरमा गएर राम्रोसँग खान मन लाग्छ न त अस्पतालमै ।

कहिलेकहीं अस्पताल क्षेत्रमै चटपटे खाइन्छ । बिदाको समयमा भने परिवारसँग घुम्न गएर मुड फ्रेस गर्छु । ठीक समयमा खानपान गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि बाध्यताले पाइँदैन । बिरामी निको भएर उनीहरुले मुस्कुराउँदा भने आनन्द लाग्छ; आफूलाई लागेको भोक पनि बिर्सिन्छ ।