‘पहिलो रोजाइ अर्ग्यानिक, कहिलेकहीं जङ्क’

लोकप्रिय गायिका हुन् टीका प्रसाईं । उनले गाएका दर्जनौं गीत बजारमा लोकप्रिय छन् । पछिल्लो समय उनका ‘माया लुकी–लुकी’, ‘नाइँ मलाई थाहा छैन’ जस्ता गीत दर्शक–श्रोताको जिब्रोमा झुन्डिन सफल छन् । उनै गायिकासँग होलिस्टिककर्मीले गरेको जीवनशैली सम्वादः
बिहानदेखि बेलुकीसम्मको दैनिकी बताइदिनोस् न !
बेलुका सुत्दा मोबाइल अफ गरेकी हुन्छु किनभने रातभरि फोन आएर निद्रा नबिग्रियोस् । प्रायः बिहान उठेर पूजापाठ गर्छु । अनि कालो चिया बनाएर पिउँछु । पूजापाठ सकेपछि खाना बनाएर खान्छु । त्यसपछि कार्यक्रमहरूको सेड्युल हेर्छु । सोही सेड्युलअनुसार काम थाल्छु ।
कति बजे उठ्नुहुन्छ ?
मेरो उठ्ने समय ६ बजे हो ।
कति बजे सुत्नुहुन्छ ?
बेलुकी १० बजे सुतिसकेकी हुन्छु । कहिलेकहीं भने साढे १० पनि बज्न सक्छ ।
कुन–कुन समयमा के–के खानुहुन्छ ?
सबभन्दा पहिले कालो चिया पिउँछु त्यसपछि खाना खान्छु । दिउँसोतिरका निम्ति मेरो ‘फेबरेट’ थुक्पा हो, धेरेजसो थुक्पा नै खान्छु; त्यो पनि भेजमा । कार्यक्रमको सिलसिलामा तराईमा भए भक्का मन पर्छ त्यही खान्छु, पहाडमा भए सुठुनीलगायतका परिकार खान्छु । विदेशमा भए त्यही अनुसारका नास्ता खाइरहेकी हुन्छु । चिल्लो–पीरो कम खान्छु । चिसो पेय पदार्थ कहिल्यै पिउँदिनँ ।
खाना प्रायः घरमै खानुहुन्छ कि बाहिर ?
घरमा हुँदा घरमै खान्छु बाहिर हुँदा त बाहिरै खानुपरिहाल्यो । स्वास्थ्यमा अलिक सचेत छु । बाहिर खाँदा अलिक् सचेत रहन्छु । प्रायः भेज नै खाने गर्छु, जसले गर्दा म ‘फ्रेस’ हुन्छु ।
खाना आफैं बनाउनुहुन्छ कि अरुले बनाउँछन् ?
म त आफैं बनाइरहेकी हुन्छु । अरु त कसले बनाइदिन्छ र !
प्रायः कुन समयमा खानुहुन्छ ?
छिनछिनमा खाइरहेकी हुन्छु ।
कत्तिको ‘हाइजेनिक’ खाना खानुहुन्छ ?
प्रायः अर्ग्यानिक खाने कुरा नै खाइरहेकी हुन्छु । कहिले झापाबाट त कहिले सिन्धुलीबाट गुन्दुक लिएर आउँछु । सिन्धुलीस्थित आफ्नै बारीबाट पनि सागपात आइरहेको हुन्छ । स्वस्थ त हुने भइहाल्यो नि, होइन ? अर्ग्यानिकले नै हाइजेनिक बनाउँछ जस्तो लाग्छ ।
चाउचाउ–चाउमिनजस्ता ‘जङ्क फुड’ चाहिँ कत्तिको खानुहुन्छ ?
बेला–बेलामा खाइरहनुपर्छ । आज त चाउचाउ झोलामै बोकेर आएकी छु, खान चाहिँ पाएको छैन । तर, यस्ता खाने कुरा सधैं चाहिँ खान्नँ ।
शारीरिक व्यायाम कति र कसरी गर्नुहुन्छ ?
व्यायाम एकदमै गर्छु । बिहान उठ्ने बितिक्कै कसरत गर्छु । कामको सिलसिलामै पनि केही हिँडेर शरीरलाई फूर्तिलो बनाउने कोशिस गर्छु । गाउँमा जस्तो ढिकी–जाँतो गर्नु पर्दैन । गाउँमा भए त सबै काम गरिन्थ्यो । यहाँ त कि हिँड्ने हो नत्र व्यायाम नै गर्ने हो । स्वास्थ्यका लागि व्यायामका विभिन्न प्रविधि प्रयोग गर्छु ।
स्वास्थ्य परीक्षणहरू कत्तिको गराउनुहुन्छ ?
पछिल्लो समय नियमित परीक्षणहरू गराइरहेकी छु । ‘स्वास्थ्य नै धन हो’, जाँच त गराउनु परिहाल्यो नि !
कुनै औषधि खाइरहनु भएको छ कि छैन ?
ग्यास्ट्रिकको औषधि खाइरहेकी छु । कहाँ, कतिखेर, के हुन्छ– थाहा हुँदैन । त्यसकारण औषधि त झोलामै बोकर हिँड्छु ।
स्वास्थ्य समस्या आएर अस्पतालमै भर्ना हुनुपरेको छ कि छैन ?
त्यस्तो त छैन ।
ज्वरो, रुघाखोकीजस्ता समस्या हुँदा के गर्नुहुन्छ ? मेडिकलबाछट सोझै औषधि किनेर खानुहुन्छ कि विशेषज्ञ/चिकित्सकसँग जाँच गराउनुहुन्छ ?
हल्का हुँदा बाफ लिने गरेकी छु । सकेसम्म तातो पानी पिएरै निको हुने गरेकी छु, थाम्नै नसक्दा चाहिँ चिकित्सकको सल्लाहवमोजिम नै औषधि किन्छु ।
स्वास्थ्य समस्याकै कारण कुनै नमिठा अनुभव पनि सँगालिए कि ?
मेरो सबभन्दा ठूलो समस्या भनेकै ग्यास्ट्रिक हो । मलाई ग्यास्ट्रिक हुँदा हावाले पेट फुल्छ, ढाड दुख्छ, टाउको दुख्छ । यस्ता अनुभव धेरै नै छन्, भनेर साध्यै छैन ।
सुन्दर हुन के–के गर्नुहुन्छ ? विशेषतः अनुहारको सुन्दरताका लागि के गर्नुहुन्छ ?
कलाकार भएपछि हल्का मेकअप त गर्नेपर्छ ताकि दर्शक–श्रोताले ‘नराम्री रै’छ नभनून् । सुन्दरताकै लागि उति धेरै खर्च र मेहनत चाहिँ गर्दिनँ । साँझ परेपछि या कार्यक्रम सकेर घर फर्केपछि मेकअप पुछ्छु र धुन्छु । अनुहारमा चमक ल्याउनका लागि पानी बढी पिउँछु ।
कस्मेटिक्स किन्दा ‘ब्राण्ड’ वा गुणस्तरमा कत्तिको ध्यान दिनुहुन्छ ?
एकदमै ध्यान दिन्छु । जे पायो त्यही लगाउँदा अनुहार बिग्रेला कि भन्ने डर लाग्छ । म मात्र होइन, हरेक मान्छे आफूलाई सुन्दर राख्न चाहन्छ । अझ कलाकारहरू त पहिलो नजरमा नै पर्ने भएकाले सचेत हुनैपर्यो । तर, मैले नेपालमा कस्मेटिक्स किनेकै छैन । कार्यक्रममा विदेश गइरहन्छु, आफूलाई चाहिने सामग्री उतैबाट ल्याउँछु ।
नेपालमा चाहिँ केही पनि नकिन्ने ?
यता चाहिँ केही–केही हर्बललगायतका सामग्री कहिलेकहीं किन्छु । फेसलाई सुट गर्ने–नगर्ने भन्ने कुरा मलाई थाहै छैन ।