जीवनदायी यी चार जडीबुटी

होलिस्टिक संवाददाता

शरीर मजबुत बनाउने एन्जेलिका

एन्जेलिकाको वैज्ञानिक नाम ‘एन्जेलिका सिनेन्सिस्’ हो । यो वनस्पतिको उद्गमस्थल चीन मानिन्छ । चीन, जापान, कोरिया हुँदै विश्वका धेरै मुलुकमा आजकल यो वनस्पति पाइन्छ । यो उच्च हिमाली भागको चिसो ठाउँमा पाइन्छ ।
प्राकृतिक उपचार विधिमा यो वनस्पतिको जरा प्रयोग गरिन्छ । यसमा पाइने ‘लिगुस्टिलाइड’, ‘फाइटोस्टेरोल’, ‘पोलिस्याकराइड’, ‘फेरुलेट’ जस्ता तत्त्वले शरीर मजबुत बनाउन सहयोग गर्छन् । सन्तुलितरूपमा एन्जेलिका सेवन गर्नाले रक्तसञ्चारमा सहजता मिल्छ । यसले महिलाको रजश्वलामा हुने दुखाइ कम गर्न समेत सहयोग पुर्याउँछ । यसको प्रयोगबाट पाचन प्राणाली मजबुत बन्नुका साथै शरीरमा ट्युमर आउने सम्भावनाबाट बच्न सकिन्छ । शरीरको समग्र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसको सन्तुलित सेवन लाभदायक हुन्छ ।
बिहान र बेलुकाको खानापछि वयस्क व्यक्तिले दैनिक तीनदेखि पाँच ग्राम एन्जेलिका खानु उचित हुन्छ ।

घरै सुगन्धित बनाउने रोजमेरी

रोजमेरी एक किसिमको बासनादार जडीबुटी हो । यसको पात खानामा हाल्दा खाना बासनादार हुन्छ । यसलाई खानाका विभिन्न परिकारमा धनियाँजस्तै प्रयोग गरिन्छ । यसको तेल पनि बासनाका लागि प्रयोग गरिन्छ । यसको बासनादार तेललाई अत्तरका रूपमा विभिन्न कस्मेटिक्स सामग्रीमा समेत प्रयोग गरिन्छ ।
रोजमेरीमा ‘ए’, ‘सी’, ‘बी–सिक्स’, ‘थायामिन’ जस्ता भिटामिन पाइन्छ । त्यसैगरी, यसमा ‘आइरन’, ‘क्याल्सियम’, ‘मेनगानिज’ जस्ता खनिज तत्त्व पाइन्छ । रोजमेरीमा पाइने यस्ता भिटामिन तथा खनिज तत्त्वले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । रोजमेरीको पात नियमित उपभोग गर्नाले पाचन प्रक्रिया मजबुत भई खाना राम्रोसँग पच्न सहयोग मिल्छ । यसमा पाइने ‘कार्नोसिक एसिड’ का कारण आँखाको दृष्टि मजबुत बनाउन समेत रोजमेरीले सहयोग पुर्याउँछ ।
रोजमेरीलाई प्रायः न्यानो हावापानी हुने ठाउँमा रोप्न सकिन्छ । घर वरिपरि यसको बिरुवा रोप्नाले घर नै सुगन्धित हुन्छ । काठमाडौंलगायत नेपालका विभिन्न सहरमा घर वरिपरि यसका बिरुवा रोपेर घरलाई सुगन्धित तुल्याउनुका साथै कीटाणु नियन्त्रण गर्ने गरेको पाइन्छ ।

लसुनका फाइदै फाइदा

लसुन हाम्रो भान्सामा प्रायः नछुट्ने मसला हो । लसुन प्रायः नेपालका करेसाबारीमा रोपिन्छ । यसको पात र पोटी प्रयोग गरिन्छ । मध्ये एशियाली मुलुकमा मुख्य मसलाका रूपमा यसको उपभोग गरिन्छ ।
लसुन हालेको तरकारी कम स्वादिलो हुँदैन । लसुन स्वादिलो मात्रै होइन, यसको गुण पनि कम छैन । लसुनलाई प्राकृतिक चिकित्सकीय विधिमा महत्त्वपूर्ण औषधिका रूपमा प्रयोग गरिन्छ ।
लसुनमा ‘सी, ‘बी–सिक्स’ जस्ता भिटामिन र ‘पोटासियम’, ‘क्याल्सियम’, ‘आइरन’, ‘म्यानगानिज’ जस्ता खनिज तत्त्व पाइन्छन् । यस्ता तत्त्वका कारण लसुनले मुटुरोग र दमजस्ता समस्याबाट बच्न समेत सहयोग पुर्याउँछ । लसुनमा हुने सल्फरजन्य तत्त्वका कारण पाचन प्रणाली मजबुत भई खाना पच्न सहज हुन्छ ।
सन्तुलितरूपमा लसुन खानाले रगतमा चिनीको मात्रा सन्तुलित रहन सहयोग पुग्छ । लसुन कुटेर लेदो बनाई अनुहारमा लगाएमा छालामा भएका विकार तत्त्व बाहिर निकाली अनुहारमा चमक आउँछ । यसको सेवनले ग्यास्ट्रिकको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

सिस्नोको स्वाद


सिस्नो नेपालको अधिकाङ्श ठाउँमा पाइन्छ । नेपालमा सिस्नोको तरकारीसँग भात खाने चलन नयाँ होइन । आजकल सहरबजारमा समेत सिस्नोलाई प्रशोधन गरी धूलो बनाएर यसको सुप तथा चिया खाने चलन बढ्न थालेको छ ।
सिस्नोको तरकारी स्वादका हिसाबले मात्रै होइन, औषधीय गुणका कारण समेत लाभदायक छ । सिस्नोमा ‘भिटामिन–ए, सी, डी’ र आइरन, पोटासियम तथा क्याल्सियम पाइन्छन् । सिस्नोमा पाइने यस्ता तत्त्वका कारण यसलाई सन्तुलितरूपमा खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । अध्ययनअनुसार सन्तुलितरूपमा सिस्नोको सेवन गर्नाले पिसाबमा हुने विभिन्न किसिमका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
सिस्नोमा हुने आइरनका कारण रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने भएकाले रगतको कमीका कारण निम्तने समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । सिस्नोमा प्रोटिन तत्त्व समेत पाइन्छ । यो तत्त्व माछा–मासु नखाने व्यक्तिका लागि लाभदायक हुन्छ ।
त्यसो त सिस्नोको तत्त्व (एक्स्ट्र्याक्ट) लाई कस्मेटिक्स सामग्रीमा समेत प्रयोग गरिन्छ । सिस्नो प्रयोग गरिएका कस्मेटिक्स सामग्री प्रयोग गर्नाले छाला स्वस्थ भई अनुहारको चमक बढ्छ ।