कोरोना महामारी: अन्धकारबीच आशाको दियो !
केदारनाथ गौतमअँध्यारो कोठामा एउटा मधुरो दियो बल्दा पनि प्रकाशको राम्रै आभास हुन्छ र आशाको त्यान्द्रो देखापर्छ । प्रायः सबै नकारात्मकतासँगसँगै सकारात्मकता पनि हुन्छन्; तिनलाई ठम्याउन र सदुपयोग गर्न सक्नु–नसक्नु अर्कै कुरा हो । त्यसैले त भनिन्छ– ‘कालो बादलको वरिपरि चाँदीको घेरा हुन्छ ।’
हो, कोरोनाभाइरस (कोभिड˗ १९) सङ्क्रमणको महामारीले पनि कयौं उज्याला पक्षहरू उजागर गरिदिएको छ; आशाको दियो जगाइदिएको छ । कोरोना महामारी चर्किरहेका बेला विश्वभर नै अधिकाङ्श सरुवा रोगहरूको प्रकोप निकै कम भएको पाइएको छ । महामारीको यस्तो चपेटाबीच नेपालमा पनि अधिकाङ्श सरुवा रोगको प्रकोप निकै कम भएको पाइएको छ । तथ्याङ्कअनुसार सन् २०१९ को तुलनामा कोरोना सुरु भएयता (अक्टोबर, २०२० सम्म) नेपालमा सरुवा रोगहरूको प्रकोप निकै घटेको देखिएको छ । र, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि यो कुराको पुष्टि गरिसकेको छ ।
कोरोना महामारी सुरु भएयता नेपालमा मौसमी फ्लु (इन्फ्लुन्जा), रुघाखोकी, निमोनिया, डेङ्गु, झाडापखाला, हैजा, आउँलगायतका सरुवा रोगको समस्या निकै कम मात्र देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्दा फ्लुकै कारण प्रत्येक वर्ष विश्वका करिव साढे ६ लाख नागरिकले ज्यान गुमाउँदै आएको देखिन्छ । चिकित्सकहरूका अनुसार मौसम परिवर्तनको प्रभावस्वरूप विगतका वर्षहरुमा नेपालमा दुई पटक फ्लु सक्रिय हुने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्कअनुसार असारदेखि असोज (जुलाई–सेप्टेम्बर) सम्म र माघ अन्तिमदेखि वैशाख (जनवरी–अप्रिल) सम्म नेपालमा फ्लुको सङ्क्रमण बढ्ने गरेको देखिन्छ । यी दुवै अवधि नेपालमा मौसम परिवर्तन हुने समय हुन् । तर, यस वर्ष असारदेखि असोज (जुलाई–सेप्टेम्बर) सम्म फ्लुको सङ्क्रमण, रुघाखोकी तथा सरुवा रोग निकै कम देखिएको चिकित्सकहरूको भनाइ छ ।
कसैकसैले त ‘कोरोनाको समयमा बिरामीहरु अस्पताल नै गएनन् त्यसैले रोग कम भएजस्तो देखियो’ पनि भन्ने गरेका छन् तर यसबारे अध्ययन नै गरिएका मुलकमा समेत विभिन्न किसिमका मौसमी फ्लु तथा सरुवा रोग नाटकीय ढङ्गले कम देखिएका तथ्याङ्कहरू सार्वजनिक भएका छन् । सन् २०१४ देखि २०१८ सम्मको प्रयोगशाला तथ्याङ्कलाई आधार मान्ने हो भने फ्लुको परीक्षण गराउनेमध्ये २५ देखि ४० प्रतिशतसम्ममा सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ । मार्चको तुलनामा अगस्टमा फ्लुको समस्या बढी देखिने चिकित्सकहरूको अनुभव छ । तर, यस वर्ष अगस्टमा पनि फ्लुको सङ्क्रमण निकै कम देखियो । यही तथ्यलाई आधार मानेर कोरोनाभाइरस निरन्तर रहिरहँदा अबको जाडोमा पनि मौसमी फ्लु कमै मात्र देखिने अनुमान चिकित्सकहरूले गरेका छन् । यद्यपि ‘भविष्यवाणी’ नै गरिहाल्नु भने हतार हुने चिकित्सकहरूको भनाइ छ ।
बरु जाडो मौसममा कोरोनाले चाहिँ थप तरङ्ग निम्त्याउन सक्नेतर्फ चिकित्सकहरूले सजग गराउँदै आएका छन् । भ्याक्सिन भित्रिइनसकेको अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरूको अधिकतम अवलम्बन गर्नु नै कोरोना महामारीबाट बच्ने उत्तम उपाय हो ।
गत वर्षको तुलनामा यस वर्ष नेपालमा डेङ्गुको समस्या पनि कम भएको छ । गत वर्ष महामारीकै रूप लिएको यो सङ्क्रमण यस वर्ष छिटफुट मात्रै देखियो । सन् २०२० सुरु भएयता हालसम्म ४ सय १२ जनामा मात्रै डेङ्गु देखियो । यस वर्ष मलेरिया पनि निकै कम देखियो, हैजा देखिएन । कालाजार, स्क्रब टाइफसजस्ता रोग भने गत वर्षकै हाराहारीमा देखिए । तर, ती सरुवा रोग किन कम भए भन्नेबारे भने सम्बन्धित निकायहरूसँग ठोस उत्तर छैन ।
स्वास्थ्य सुविधा र संस्थाहरूको विस्तार हुनु; नागरिकमा सचेतना र स्वास्थ्य सुरक्षा मापदण्डहरू अपनाउने सीप एवम् बानीको विकास हुनु; स्वस्थ, स्वच्छ एवम् अग्र्यानिक खानपानतर्फ आकर्षण बढ्नु; आम नागरिकमा सूचना प्रविधिको ज्ञान–सीप बढ्नु र नागरिक निकै हदसम्म प्रविधिमैत्री बन्नु आदिजस्ता उपलब्धि समेत कोरोनाभाइरस सङ्क्रमणले निम्त्याएका ‘चाँदीका घेरा’ हुन् ।