प्रकोपको अवस्थामा सन्तुलित यौन

गोपाल ढकाल

कुनै पनि व्यक्तिको दैनिकीमा विभिन्न किसिमका प्रकोपले प्रभाव पारेको हुन्छ । प्रकोपका कारण दैनिक क्रियाकलापमा प्रभाव पर्दा तनावको स्थिति सिर्जना हुन्छ । प्रकोपका कारण तनाव हुँदा यौन जीवनमा समेत प्रभाव नपर्ने कुरै भएन ।
प्रकोपको समयमा सामान्यतः सामूहिकरूपमा बस्नुपर्ने अवस्था सिर्जना हुन्छ । सामूहिकरूपमा बस्दा जोडीबीच यौन सम्पर्कको समुचित वातावरण नमिल्न सक्छ । त्यसैले प्रकोपको अवस्थामा बुद्धिमत्तापूर्ण तरिकाले यौन व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
इन्फ्लुन्जा, कोरोनाभाइरस (कोभिड– १९) जस्ता भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यस्तो अवस्थामा त झन् यौन जोडी अलग्गै बस्नुपर्ने अवस्था समेत सिर्जना हुन सक्छ । अतः यस्ता भाइरसको सङ्क्रमण भएको अवस्थामा यौन सम्पर्क गर्नु हुँदैन ।

प्रकोपमा असहज यौन

प्रकोपको समयमा दैनिक जीवनको व्यवस्थापनमा नै व्यक्तिको समय बित्ने तथा ध्यान जाने भएकाले यौनप्रति ध्यान केन्द्रित हुन पाउँदैन । सामान्यतया तनाव भएको अवस्थामा व्यक्तिको मनमा यौनको सोच कम हुनुका साथै यौन क्रियाकलाप एवम् यौन सम्पर्कको रुचि समेत कम हुन्छ । बाढी–पहिरो, भूकम्प तथा विभिन्न किसिमका रोगको सङ्क्रमणजस्ता कारण व्यक्ति मानसिकरूपमा तनावमा हुन्छ । शारीरिक रोग समेत लागेको अवस्थामा व्यक्ति शारीरिकरूपमा पनि दुर्बल हुने भएकाले शरीर र मन दुवै शिथिल हुन्छन् । यस्तो अवस्थामा यौन सम्पर्क असहज हुनु स्वाभाविकै हो ।
प्रकोपको अवस्थामा व्यक्ति हतास मानसिकतामा हुने भएकाले पहिलो कुरा त यौन प्राथमिकतामा नै पर्दैन र यौन सम्पर्क गरी नै हाले तापनि मनमा भय कायम रहन्छ । भयको अवस्थामा यौन जोडीका दुवै वा कुनै एक पक्षमा झन् तनाव बढ्ने अवस्था हुन्छ । दुईमध्ये एक जनामा तनाव छ भने यौन सन्तुष्टि प्राप्त हुँदैन र अझ दुवैमा तनाव भएको अवस्थामा त झन् यौन सम्पर्कमा सरिक हुने कुरै भएन ।
प्रकोपको अवस्थामा व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने नै भयो । यस्तो अवस्थामा मानसिक आघात, डर–चिन्ताको समस्या, डिप्रेसनलगायतका मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने सम्भावना बढी हुन्छ । मानसिक समस्या भएको अवस्थामा यौन जोडीबीचमा यौनको गडबढी हुन्छ । यौन जोडी मानसिकरूपमा तनावमा रहेको अवस्थामा एक–अर्काको भावना बुझी यौन सम्पर्क नगर्नु नै उचित हुन्छ ।
आनन्दमयी यौनका लागि यौन जोडीका दुवै पक्ष शारीरिक तथा मानसिकरूपमा स्वस्थ हुनु आवश्यक हुन्छ । त्यसैगरी, यौन जोडीका दुवै यौनका लागि तयार हुनु पनि उत्तिकै आवश्यक हुन्छ । तर, प्रकोपको समयमा अदृश्यरूपमा मनमा भय कायम रहन्छ ।

दुर्व्यवहारको सम्भावना

विभिन्न रोगको प्रकोपको समयमा यौन सम्पर्क गरेको खण्डमा यौनरोग तथा सङ्क्रमणहरू जोडीमा सर्ने सम्भावना प्रबल हुन्छ । बाढी–पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिको समयमा व्यक्तिले आफ्नो वासस्थान समेत छाडेर अन्यत्रै (कुनै खुला वा सुरक्षित ठाउँमा) बस्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा यौन सम्पर्क गर्ने अनुकूल, सुरक्षित तथा गोप्य वातावरण नहुन सक्छ । यस्तो समयमा हुने यौन सम्पर्क असुरक्षित समेत हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा विभिन्न किसिमका हिंसाको समेत सम्भावना हुन्छ । गोपनीयता कायम नरहेको अवस्थामा यौन उच्छृङ्खलता बढ्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । यौन उच्छृङ्खलता बढेको अवस्थामा यौन दुव्र्यवहारको बढी सम्भावना हुने नै भयो ।

सङ्क्रमणको डर

प्राकृतिक प्रकोपको अवस्थामा शारीरिक सरसफाइका निम्ति समेत उचित वातावरण मिल्दैन । शारीरिक सरसफाइको कमी भएको अवस्थामा यौनरोग सर्ने सम्भावना बढी हुन्छ । यौन सम्पर्क गरेको अवस्थामा समेत यौनाङ्गको सरसफाइ गर्ने मौका नमिल्दा यौन तथा यौनजन्य र विभिन्न किसिमका रोग सङ्क्रमणको जोखिम हुने भएकाले यस्तो अवस्थामा यौन सम्पर्क नगर्नु नै उचित हुन्छ । इन्फ्लुएन्जा तथा कोरोनाभाइरसजस्ता सङ्क्रमण भएको व्यक्तिसँग यौन सम्पर्क गरेको अवस्थामा त सङ्क्रमण सर्ने सम्भावना प्रबल हुने नै भयो । यसबारे सचेत हुनु अत्यावश्यक छ ।

प्रकोपले जोडीबीच तनाव

प्रकोपले एकैसाथ पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिकलगायतका विविध क्षेत्र÷पक्षमा बहुआयामिक प्रभाव पार्दछ । यस्तो समयमा पारिवारिक सम्बन्धमा समेत दरार उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा यौन जोडीबीच मतभेद बढ्न गई झैझगडा हुने तथा सम्बन्ध–विच्छेदसम्मको अवस्था सिर्जना हुन सक्छ ।
प्रकोपको तनावका कारण छिटो रिस उठ्ने, चिट्चिटाहट हुने, झर्किने, यौन जोडीबीच एक–अर्कालाई विश्वास नगर्नेजस्ता लक्षण देखिन सक्छन् । यस्तो अवस्थामा यौन जोडीले संयमता अपनाई आपसी समझदारी कायम गर्नु बुद्धिमानी हुन्छ ।

गर्भ रहे झन् तनाव

प्रकोपको स्थितिमा मानसिक एवम् भौतिक–सामाजिक अवस्थामा समेत गम्भीर प्रभाव पर्ने भएकाले सामान्यतया यस्तो बेला बच्चा जन्माउने योजना हुँदैन । तर, प्रकोपको अवस्थामा यौन सम्पर्क गरी अनिच्छित गर्भ रहेको खण्डमा गर्भवती महिलामा झन् तनावको स्थिति सिर्जना हुन्छ । प्रकोपको अवस्थामा जीवनरक्षाका लागि नै सङ्घर्ष गर्नुपर्ने हुनाले पौष्टिक खानपानको त कुरै छाडौं, सामान्य खानपानको पनि उचित व्यवस्थापन हुँदैन ।
खानपान र आरामको राम्रो व्यवस्थापन हुन नसक्दा गर्भवती महिला कुपोषित हुने र अरु विभिन्न समस्या थपिने सम्भावना हुन्छ । गर्भवती कुपोषित हुँदा गर्भमा रहेको बच्चाको राम्रो वृद्धि–विकास हुन पाउँदैन, जसका कारण बच्चामा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने सम्भावना प्रबल हुन्छ । बच्चा शारीरिक तथा मानसिकरूपमा अस्वस्थ भएको अवस्थामा बुबा–आमामा समेत झन् तनाव थपिने भएकाले प्रकोपको समयमा सकभर यौन सम्पर्क गर्नै हुँदैन । यौन सम्पर्क गर्नु परेको अवस्थामा सुरक्षित तवरले गर्नु आवश्यक हुन्छ ।

बच्चामा नकारात्मक असर

विभिन्न किसिमका रोगको सङ्क्रमण कहिलेसम्म रहन्छ भन्ने यकीन समेत नहुने भएकाले स्वास्थ्य संस्थाको पहुँचको अभाव हुने जोखिम हुन्छ, जसका कारण गर्भवतीले स्वास्थ्य सेवा र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
त्यति मात्र होइन, यस्तो स्थितिमा बच्चा जन्मिएपछि पनि विभिन्न किसिमका अभाव झेल्नुपर्ने सम्भावना भएकाले बच्चा थप कुपोषित हुने स्थिति आउन सक्छ । बच्चाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक गम्भीर असर पर्ने भएकाले प्रकोपको समयमा यौन जोडी सचेत हुनु अत्यावश्यक हुन्छ ।

आमामा डिप्रेसन

तनावको अवस्थामा गर्भ रहेमा गर्भवती आमाले बच्चा जन्माइसकेपछि समेत डिप्रेसनको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । बच्चा जन्माइसकेपछि आमामा हुने डिप्रेसनलाई ‘पोस्टनेटल डिप्रेसन’ भनिन्छ । बच्चा जन्माएलगत्तै आमामा डिप्रेसन भएमा बच्चाको लालनपालनमा त असर पर्छ नै, समयमै उपचार नपाएको अवस्थामा आमाले आत्महत्या गर्नेसम्मको जोखिम हुन्छ ।
प्रकोप आफैंमा सङ्कटको अवस्था हो । यस्तो अवस्थामा यौन जोडी निकै सचेत भएर मात्रै यौन सम्पर्क गर्नुपर्छ । प्रकोपको अवस्थामा असुरक्षितरूपमा गरिने यौन सम्पर्कले जोडीमा थप समस्या बढ्न सक्छ ।
‘मार्क नेपाल’ मनोसेवा केन्द्रमा कार्यरत ढकाल मनोविद् हुन्