स्वच्छ पानी: घरेलु शुद्धीकरण विधि
डा. ईश्वर सुवेदीसफा पानी प्रयोग गर्न पाउनु सबैको अधिकार हो । स्वास्थ्यसम्बन्धी अधिकार (हक) मा पानीसम्बन्धी अधिकार (हक) पनि पर्दछ । प्रशस्त पानी भएपछि पिउने, नुहाउने, सफा गर्ने, लुगा धुने काम सहजै गर्न सकिन्छ र स्वस्थ्य पनि रहन सकिन्छ । पानीका स्रोतहरू संरक्षण गर्न र पानीलाई सुरक्षित बनाउन सबैको प्रयास हुनुपर्छ । सरकार र समुदायले पानी प्रणालीको संरक्षण, सुधार र विस्तारका लागि काम गर्नुपर्छ, ताकि नागरिकले पर्याप्त पानी पाउन सकून् ।
हाल बजारमा प्रशोधित पानी भनेर व्यापारीहरूले महँगोमा पानी बेचिरहेको हामी सबैले देखेकै छौं । बोतल वा जारमा राखेर बेचिँदैमा र महँगो हुँदैमा त्यो पानी सुरक्षित नै हुन्छ भन्ने हुँदैन । सिधै धाराको पानी भरेर बजारीकरण गरेको अवस्थामा त्यस्तो पानी सफा र स्वच्छ नहुन पनि सक्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरूबाट खाद्य ऐन, २०२३ वमोजिम प्रशोधित पिउने पानी उत्पादक उद्योगहरूको नियमन भैरहेको पाइन्छ ।
प्रयोग भैसकेका (फालिएका) बोतलहरूको फोहोरले जमिन र खोला/नदीहरूलाई प्रदूषित गर्ने गरेका छन । बोतलहरू जथाभावी जलाइने गरेका छन्, ती जलाउँदा हावामा धेरै विषालु ग्यास फैलन्छ र त्यस्तो हावामा सास फेर्दा धेरै स्वास्थ्य समस्याहरू देखापर्ने गरेका छन् । गाउँघरमा पानीको राम्रो स्रोत छ भने त्यसमा कुनै व्यापारिक उद्योग सञ्चालन गर्न दिनु हुँदैन । किनकि, मानवजाति र वातावरणलाई स्वस्थ्य राख्न सार्वजनिक पानी प्रणाली पनि आवश्यक छ र त्यसका लागि पानीका स्रोतहरूको संरक्षण गर्नु सबैको कर्तव्य हो ।
बालबालिकाको जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइका बानीहरू महत्वपूर्ण हुन्छन् । पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्यु हुनुका मुख्य कारणहरूमध्ये खानेपानी तथा सरसफाइजन्य रोगहरू पनि एक मुख्य समस्या हो कुरा बिर्सनु हुँदैन ।
गरिबी, कठिन भू–बनोट र द्वन्द्वजस्ता चुनौतीहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा नेपालले केही दशकयता उल्लेखनीय प्रगति हासिल गरेको छ । तर, सन्तोष मान्ने स्थिति भने अझै देखिँदैन । खानेपानीको गुणस्तर र वितरण प्रणाली अहिले पनि साह्रै कमजोर छ । नगरवासीलाई दीर्घकालीनरूपले स्वस्थ्य, स्वच्छ र सुरक्षित पानी खुवाउने प्रतिबद्धताअनुरूप नेपालको प्रदेश– १ मा अवस्थित धरान उपमहानगरपालिकाजस्तो सहरमा समेत नवनिर्वाचित नगरप्रमुख र उनको नेतृत्वमा नगरवासीहरूले गरिरहेको श्रमदानले खानेपानीका सम्बन्धमा हाम्रो अवस्था के–कस्तो छ भन्ने अवस्था दर्शाउँछ ।
एकातिर पानीकै अभाव छ भने अर्कातिर खानेपानीका स्रोतहरूमध्ये करिव ७१ प्रतिशत र विपन्न समुदायले प्रयोग गर्नेमध्ये ९१ प्रतिशत स्रोतहरूमा अनेकौं रोगजन्य जीवाणुहरू पाइएको तथ्याङ्क छ । सहरहरूमा पिउने पानी वितरण गर्ने लाइनमध्ये २५ प्रतिशत त पूर्णरूपमा कामै नलाग्ने अवस्थामा छन् भने थप ४० प्रतिशतमा ठूलै मर्मतको आवश्यकता छ ।
१६ प्रतिशत जनसङ्ख्याले अझै पनि खुलारूपमा दिसा–पिसाब गर्ने गरेको पाइन्छ । ४३ जिल्लाहरूले मात्र औपचारिकरूपमा खुला दिसा–पिसाब निषेधित क्षेत्र घोषणा गरेका छन् । २० प्रतिशत सरकारी विद्यालयहरूमा अझै सुधारिएको खानेपानी सुविधा उपलब्ध छैन । थप १९ प्रतिशतमा पुरूष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारीसम्बन्धी सरसफाइको सुविधा नभएको तथ्याङ्क छ ।
नेपाल सरकार–युनिसेफ संयुक्त कार्ययोजना, २०१८ अनुसार सन् २०२२ सम्ममा सम्पूर्ण बालबालिका तथा तिनका परिवारलाई सफा र दिगो खानेपानी तथा सरसफाइको सुविधा पुर्याउने योजनावमोजिम काम गरिए तापनि कोभिड महामारी र बिग्रँदो राजनीतिक–सामाजिक–आर्थिक अवस्थाका कारण त्यसले गति लिन सकेको देखिएन । हालसालै मात्र पनि खानेपानीले नै निम्त्याएका झाडापखाला, हैजा, हेपाटाइटिस ए, टाइफाइड ज्वरो आदि रोगको महामारीले जनतालाई हैरान पारेको तथ्य कसैबाट छिपेको छैन । तथ्याङ्क हेर्नेहो भने विरक्तलाग्दो स्थिति छ ।
विशेषतः हैजा र झाडापखालाबाट जलवियोजन भई बालबच्चाहरूको ज्यान जाने गरेको छ । सम्बन्धित निकायहरूले खानेपानी नियमन, सुद्दढीकरण र सुरक्षा योजना कार्यान्वयन तथा पानी शुद्धीकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार र पानीको गुणस्तर अभिवृद्धिमा पटक्कै ध्यान नपुर्याएको कुरा स्पष्टै छ ।
पिउने पानी सुरक्षित गर्ने तरिका
पानी पिउनका लागि सुरक्षित बनाउन सके झाडापखालाबाट बच्न सकिन्छ । पाइप वा इनारको पानी सफाजस्तो देखिए तापनि त्यो प्रदूषित हुन सक्छ । तसर्थ, पानीलाई प्रशोधन गरेर मात्र पिउनुपर्छ । प्रत्येक समुदायले पानी प्रशोधनको कुन उपाय अपनाउने भन्ने कुरा कति पानी चाहिन्छ र त्यो केबाट प्रदूषित छ अनि कस्ता स्रोतहरूबाट उपलब्ध छ भन्ने कुरामा निर्भर हुन्छ ।
१. अवस्थिति सचेतता
पानी प्रदूषित हुन नदिन वा प्रदूषणबाट जोगाउन या पानीको अभाव हुन नदिन विभिन्न काम गर्न सकिन्छ । खानी उत्खनन वा उद्योगहरू भएका स्थानमा पानीको अत्यधिक प्रयोग हुन्छ र त्यस्तो ठाउँमा प्रदूषण पनि बढी नै हुने गर्दछ । कृषिफर्म, खानी उत्खनन र उद्योगबाट निस्केका फोहोरमैलाबाट विषालु रसायनहरू पानीमा जाने भएकाले पानीको स्रोत त्यस्ता स्थानहरूबाट टाढा हुनु आवश्यक छ । बाग्मती, मनोहराजस्ता नेपालका धेरै नदीहरू यस्ता समस्याबाट ग्रस्त छन् । अस्वस्थ पानीको उपभोग गर्दा छालामा फोका आउने, क्यान्सर र अन्य जटिल स्वास्थ्य समस्याहरू समेत हुने गर्दछन् । अझ रसायनहरूबाट प्रदूषित पानी त पिउनै हुँदैन । पानीको रासायनिक प्रदूषणको तब मात्रै समाधान गर्न सकिन्छ, जब उद्योगहरूमाथि कडाइपूर्वक नियम लागू गर्न जनसमुदायले नै सरकारलाई दबाव दिन्छन् । अर्काे शब्दमा भन्ने हो भने जब आम उपभोक्ताहरूमा खाद्य स्वच्छताको चेतना अभिवृद्धि हुने छ, तब मात्रै स्वच्छ र स्वस्थ पानीको सुनिश्चितता हुने छ ।
२. पानीको सङ्कलन
सम्भव भएसम्म सफा ठाउँबाट पानी सङ्कलन गर्ने वा ल्याउने गर्नुपर्छ । यदि नदीबाट पानी सङ्कलन गर्ने हो भने मुहानतिरबाट सङ्कलन गर्नु उचित हुन्छ ।
३. आकासे पानी सङ्कलन
छानाबाट आकाशे पानी जम्मा गरेर घरसँगै राखिएका कन्टेनरहरूमा सङ्कलन गर्न सजिलो हुन्छ । जस्ता वा धुरी खाल्डो भएको (नालीदार) धातुबाट बनेका छानाबाट पानी सङ्कलन गर्नु उत्तम हुन्छ । तर, यस्तो पानीलाई पिउन मिल्ने गरी सुरक्षित बनाउन भने प्रशोधन गर्नु अनिवार्य हुन्छ ।
फोहोर वा चरा या अन्य जनावरहरूको दिसा–पिसाबबाट छानामा रोगका किटाणुहरू प्रशस्तै जम्मा भएका हुन सक्दछन् । सिसा, एस्वेस्टस वा अलकत्राले बनेका छानामा विषाक्त रसायनहरू हुने भएकाले तीबाट जम्मा गरिएको पानी पिउनका लागि भने असुरक्षित नै हुन्छ । पानी जम्मा गर्ने ट्याङ्की सफा हुनुपर्छ, यसमा कहिल्यै कुनै रसायन हालिएको हुनु हुँदैन ।
४. पानी छान्ने घरेलु विधिहरू
क) कपडा फिल्टरको प्रयोग:
भारत, बङ्गलादेशलगायतका अरु विकाशील मुलुकमा जस्तै नेपालमा पनि राम्रोसँग बुनिएका कपडाको फिल्टरबाट पानीमा रहेका हैजाका किटाणुहरू हटाउने गरिएको पाइन्छ । कपडाको फिल्टर बनाउन रुमाल वा सनपाटबाट बनेका कपडा या धोती बनाउन प्रयोग गरिने कपडा आदि प्रयोग गर्न सकिन्छ । पुरानो तर सफा कपडाको प्रयोग गर्नु उचित हुन्छ किनकि पुरानो फाइबरले कपडा फिल्टरको बीचको खालि भागलाई सानो बनाउँछ र राम्ररी फिल्टर हुन्छ । कपडाको प्रयोग गरिसकेपछि त्यसलाई धोएर घाममा सुकाउनुपर्छ, यसो गर्दा किटाणु वृद्धि रोकिन्छ । वर्षायाममा भने कपडामा इस्त्री (आइरन) लगाएर पनि फिल्टरमा प्रयोग गर्न सकिन्छ ।
ख) बालुवा र कोइला संयुक्त फिल्टरको प्रयोग:
बालुवा र कोइलाको फिल्टर बनाउनका लागि पहिले कोइलालाई स–साना टुक्रा पार्नुपर्छ । अधिशोषी शक्ति बढाउनका लागि सक्रिय पारिएको कोइला वा क्रियाशील कोइलाले राम्रोसँग काम गर्छ । पानी फिल्टर गर्न काठ या दाउराको साधारण कोइला पनि प्रयोग गर्न सकिन्छ तर ब्रिकेट कोइला भने प्रयोग गर्नै हुँदैन किनकि त्योचाहिँ विष नै हो ।
फिल्टर बनाउनका लागि दुईवटा प्लास्टिक बाल्टिन वा बाटा लिने । एउटा बाल्टिन वा बाटाको पिँधमा प्वालहरू बनाउने । बाटा वा बाल्टिनलाई राम्रोसँग धुने । बालुवालाई पानीमा भिजाएर पखाल्दा निस्कने पानी सफा नहुन्जेलसम्म पखाल्ने । पखालेको बालुवालाई करिव ५ से.मी. बाक्लो तह बन्ने गरी बाल्टिनमा हाल्ने र त्यसमाथि पानी खन्याउने । प्वालहरूबाट पानी बाहिर जाने हुनुपर्छ । पानी कत्ति पनि नछिरेमा प्वालहरूलाई केही ठूलो बनाउन सकिन्छ । यदि ती प्वालहरूबाट बालुवा नै बगेमा प्वाल ठूला भएका हुन सक्छन् । त्यसो भएमा त्यसबाट बालुवा निकाली माथिपट्टि पातलो कपडा राखेर त्यसमाथि फेरि बालुवा राख्नुपर्छ ।
अब बाल्टिनको बालुवामाथि फुटाइएका स–साना टुक्रा कोइला ८ से.मी. जतिको तह बन्ने गरी थप्ने । त्यसपछि सो बाल्टिनमा पखालिएको थप बालुवा १० से.मी. जतिको तह बन्ने गरी भर्ने । दुई वटा बाल्टिन वा बाटाहरूलाई एकमाथि अर्काे गरी राखेर तलको बाल्टिन वा बाटामा फिल्टर भएको सफा पानी जम्मा गर्ने । फिल्टरमा छानिएका रोगका किटाणुहरू कोइलामा सङ्कलित हुने भएकाले दैनिक प्रयोग हुने फिल्टरबाट सातामा एक पटक कोइला निकालेर सफा गर्नैपर्छ । कोइला सफा गर्न त्यसलाई फिल्टरबाट बाहिर निकालेर पानी हाली पखाल्नुपर्छ र पारिलो घाममा सुकाई पुनः फिल्टरमा राख्नुपर्छ । यो विधिबाट फिल्टर गरिएको पानीलाई उमालेर वा क्लोरिन मिसाएर या सूर्यको प्रकाशबाट निसङ्क्रमित गरेर मात्रै पिउनु राम्रो हुन्छ ।
पानीलाई निसङ्क्रमित गर्ने तरिका
क) उमालेर
पानी उम्लिसकेपछि पनि त्यसलाई थप एक मिनेटसम्म भकभक्ती उम्लिइरहन दिने । अझ जुम्ला, हुम्ला, ताप्लेजुङ, डोल्पा, जाजरकोट, मुगु आदिजस्ता हिमाली जिल्लाहरूमा त तीन मिनेटसम्म उम्लिइरहन दिनुपर्छ ।
कसै–कसैले चाहिँ ‘आगोमा उमालेको पानीमा केही गन्हाउँछ’ पनि भन्दछन् । उमालिएको पानीको स्वाद मन नपरे त्यसलाई चिसो पारेर बोतलमा खन्याई खाँदा हुन्छ । यसो गर्दा पानीमा हावा मिसिन्छ र स्वाद राम्रो हुन्छ । खाना पकाइसकेपछि आगो निभ्नुअघि पानी उमाल्नाले दाउराको समेत बचत हुन्छ ।
ख) क्लोरिन प्रयोग गरेर
पानी सफा पारेर खानयोग्य बनाउने क्रममा उक्त पानी कति फोहोर छ, त्यहीअनुसार क्लोरिन प्रयोग गर्नु उचित हुनछ । पानीमा रोगका किटाणु जति बढी हुन्छन्, तिनलाई नष्ट गर्न त्यति नै बढी क्लोरिन चाहिन्छ । ठिक्क मात्रामा क्लोरिन प्रयोग भए पानीमा मन्द–मन्द गन्ध आउँछ, यसको मतलब सो पानी पिउनका लागि सुरक्षित छ भन्ने हो ।
धेरै क्लोरिन हालेमा भने पानीको स्वाद पनि मिठो हुँदैन, अस्वाभाविक गन्ध आउँछ र त्यो हानिकारक समेत हुन्छ । पानी धमिलो भएमा वा त्यसमा धेरै ठोस पदार्थहरू भएमा क्लोरिन मिसाउनुअघि उक्त पानीलाई फिल्टर गर्नु पर्दछ । त्यसपछि ठीक मात्रामा क्लोरिन मिसाइसकेर राम्रोसँग चलाउनुपर्छ अनि आधा घन्टा त्यत्तिकै छाड्नुपर्छ । क्लोरिन मिसाइएको पानी पिउनुअघि पनि चलाउनुपर्छ ।
ग) सूर्यको प्रकाशद्वारा
पिउने पानीलाई सूर्यको प्रकाशबाट पनि निसङ्क्रमण गर्न सकिन्छ । गर्मीभन्दा जाडो समयमा पानीलाई घाममा बढी राख्नुपर्छ । घाममा राख्नुअघि पानीलाई फिल्टर गरिए त्यो पानी छिट्टै सफा हुन्छ ।
फुड ग्रेडको प्लास्टिक वा सिसाको बोतलमा आधाजति पानी भरेर २० सेकेन्डसम्म हल्लाएपछि त्यसमा हावाका फोकाहरू थपिन्छन्, त्यसो गर्दा पानी केही छिटो सफा हुन्छ । त्यसपछि बोतल पूरै भरेर छायाँ नपर्ने अनि मानिस या जनावरहरूले असर नगर्ने ठाउँमा राखेर निसङ्क्रमित गराउनुपर्छ । पानी भरिएका बोतललाई घरको छाना वा छतमाथि राख्न सकिन्छ । पूरै घाम लागेको भए कम्तिमा ६ घन्टामा र बादल लागेको भए दुई दिनमा पानी निसङ्क्रमित हुन्छ ।
घ) कागतीको रसद्वारा
एक लिटर पिउने पानीमा कागतीको थोरै रस मिसाएर आधा घन्टासम्म राखिएमा कागतीको रसमा भएको अम्लले प्रायः हैजा र केही अन्य किटाणुहरू समेतलाई नष्ट गरिदिन्छ । यसले सबैथरी किटाणु भने नष्ट गर्दैन । केही पनि प्रशोधन या उपचार नगर्नुभन्दा कम्तिमा यतिसम्म भए पनि गर्नु पानी सुरक्षित तुल्याउने एउटा उपाय हो । विशेषतः हैजा प्रभावित क्षेत्र या मौसममा यो विधि निकै लाभदायी हुन्छ ।
पानीको सुरक्षित भण्डारण
पानीलाई फिल्टर र निसङ्क्रमित गरिसकेपछि सुरक्षित भण्डारण गर्नुपर्छ । टुटेफुटेका ट्याङ्कीमा राखिएको पानी सुरक्षित हुँदैन । खुकुलो या राम्रोसँग नबनाइएका/नमिलाइएका ढक्कन वा ढक्कन नै नभएका कन्टेनरहरूमा राखिएको पानी पनि छिट्टै प्रदूषित हुन्छ ।
खुला ट्याङ्कीको तुलनामा ढाकिएका ट्याङ्की र घरको छतमा राखिएका ट्याङ्कीहरू पानी भण्डारण गर्न बढी सुरक्षित हुन्छन् । ढाकिएका या बन्द गरिएका ट्याङ्की वा कन्टेनरहरूमा लामखुट्टे र अन्य कीराहरू पस्न पाउँदैनन् र पानी सुरक्षित रहन्छ ।
भण्डारण गरिएको पानी प्रदूषित हुनबाट जोगाउन कन्टेनरको मुख नछोइकन पानी खन्याउने वा लामो ह्यान्डल भएको सफा ठूलो चम्चाले निकाल्ने गर्नुपर्छ । सानो मुख भएको कन्टेनर वा घैंटोलाई छोपेर राखिएमा बाहिरका कीरा–फट्याङ्ग्रा आदि जीव पस्न पाउँदैनन् र पानी सुरक्षित रहन्छ । कन्टेनरलाई २ देखि ३ हप्तामा खालि गराएर तातो पानीले सफा गर्नुपर्छ । कन्टेनरहरूलाई छोपेर राख्नुपर्छ र पिउने गिलासहरू पनि सफा गर्नुपर्छ । विषादी वा विषाक्त रसायनहरूका लागि प्रयोग भएका कन्टेनरहरूमा कहिल्यै पानी भण्डारण गर्नु हुँदैन ।
छोटो समयको प्रयोगका लागि पानी चाहिएमा चाहिएभन्दा बढी पानी प्रशोधन गर्नु हुँदैन । मौसम, शारीरिक अवस्था र जीवनशैलीअनुसार पिउनका लागि एक दिनमा प्रतिव्यक्ति ३ देखि ५ लिटरसम्म पानी चाहिन्छ ।
सुवेदी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्लाका कार्यालय प्रमुख हुन्