ओझेलमा मानसिक स्वास्थ्य
गोपाल ढकाल
मानसिक स्वास्थ्य समस्या विश्वभर नै जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका चारमध्ये एक व्यक्ति जीवनको कुनै न कुनै समयमा मानसिक रोगबाट प्रभावित हुने गरेका छन् ।
विश्वमा करिव ४५ करोड मानिस यो समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६०–७० लाखको हाराहारीका नागरिकहरू कुनै न कुनै किसिमको मनोसामाजिक एवम् मानसिक समस्याबाट प्रभावित छन् । करिव तीन लाख नेपाली कडाखाले मानसिक रोगबाट पीडित रहेको अनुमान छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । सर्वेक्षणले १० प्रतिशत वयस्कमा जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ । १६ वर्ष उमेरसमूहका ७.७ प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको सर्वेक्षणले देखाएको छ ।
कोरोनाभाइरसको प्रकोप तथा लामो समयसम्मको लकडाउन एवम् निषेधाज्ञाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो रूपमा छ । पछिल्लो वर्ष गरिएको विश्वव्यापी अध्ययनले महामारीपछि मानसिक समस्या २० प्रतिशत बढेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
कोभिड– १९ सुरु भएपछि मानसिक स्वास्थ्य सेवाको माग अत्यधिक बढेर गएको छ । आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ । कतिपय मानिसहरू अत्यधिक मदिरापान, लागूऔषध सेवन, अनिद्रा तथा छटपटीजस्ता समस्याले प्रभावित भएका छन् ।
कोभिड– १९ ले विश्वका ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ्य सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य सङ्गठनको गतवर्षको सर्वेक्षणले देखाएको छ । विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ्य सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ ।
उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ्य सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र प्रौढ बढी प्रभावित रहेको देखिएको छ । ६७ प्रतिशत जनसङ्ख्याले काउन्सिलिङ तथा साइकोथेरापी सेवा नपाएको देखिएको छ ।
मानसिक स्वास्थ्य: राष्ट्रिय अवस्था
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ । मानसिक रोगीबाट पीडितलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, ‘भूतप्रेत’ वा ‘बोक्सी’ लाग्यो भनेर उपचारका नाममा तातो पन्यूले डाम्नेजस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।
हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्य समस्यालाई ‘कलङ्क’ का रूपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखापर्दा ‘कुल बिग्रेको’, ‘देउता चढेको’, ‘माता चढेको’, ‘बोक्सी लागेको’, ‘धामी उत्रेको’ इत्यादि भन्दै विषयान्तर र नजरअन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान छ ।
बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागू पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङ्गिक विभेद, अन्धविश्वास, राजनीतिक अस्थिरताजस्ता कारकतत्वले मानसिक स्वास्थ्य समस्या बढाउँदै लगेको देखिन्छ ।
शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, यस क्षेत्रमा दातृनिकायको आँखा नपर्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन । सन् १९९७ मा बनेको मानसिक स्वास्थ्य नीति अझै पनि कार्यान्वयनमा आएको छैन ।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन । हालै मात्र प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पनि पर्याप्त लगानी हुन सकिरहेको छैन । नेपालको संविधान, २०७२ ले स्वास्थ्यको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरेको छ । तैपनि तीनै तहका सरकार– सङ्घ, प्रदेश र स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा रहेको मानसिक स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ हुन सकिरहेको छैन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिस्ट, नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन् । ७७ जिल्लामध्ये केहीमा मात्र सरकारले मानसिक स्वास्थ्य सेवा दिएको छ । धेरथोर भएका मानसिक रोग विशेषज्ञ पनि काठमाडौंमै छन्; मोफलसमा चिकित्सककै अभाव छ ।
नेपालजस्तो विकासोन्मूख देशमा पाँच जना मानसिक रोगबाट पीडित नागरिकमध्ये चार जनाले त उपचार नै नपाउने अवस्था देखिन्छ । हाम्रोजस्तो निम्न आय भएका देशमा करिव ८० प्रतिशत जनता मानसिक रोगको उपचारबाट वञ्चित छन् ।
समाधानका केही उपाय
– शारीरिक रोगझैं मानसिक स्वास्थ्य समस्यालाई पनि सहजरूपमा लिनुपर्छ । मानसिक रोग पनि निको हुने रोग नै हो । औषधिको सेवन, मनोपरामर्श तथा पुनस्र्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाँक्री लगाएर, मानसिक रोग निको हुँदैन; बेलैमा विज्ञलाई देखाउनुपर्छ ।
– मानसिक रोग र आत्महत्याप्रतिको गलत धारणा हटाउन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ; अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
– मानसिक स्वास्थ्य क्षेत्रमा राज्यको बजेट नगन्य मात्रामा छ, यसलाई वृद्धि गर्नु जरुरी छ । नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे तापनि मानसिक स्वास्थ्यमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको कूल बजेटको एक प्रतिशतभन्दा कम मात्र छुट्याउने गरिएको छ । मानसिक समस्याहरूको उपचारका लागि एक डलर मात्र लगानी गरेमा पनि त्यसको प्रतिफल स्वास्थ्य क्षेत्रमा मात्र तीन डलर बराबर अनि सर्वाङ्गीण अर्थतन्त्र र उत्पादनशीलतामा पाँच डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।
– मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्ति वृद्धि गर्नुपर्छ । अहिलेसम्म नेपालमा दुई सयको हाराहारीमा मनोचिकित्सकहरू छन् । यो सङ्ख्या निकै कम हो जबकि, तीन करोड नेपालीमा यो सङ्ख्या भनेको पन्ध्र लाख नागरिक बराबर एक जना मनोचिकित्सक पर्न आउने अवस्था हो ।
– मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउनुपर्छ ।
– प्रकृतिक विपत्ति आइपर्दा , रोगब्याधि फैलँदा, दुव्र्यवहार, अन्याय, विभेद र लाञ्छनाजस्ता जीवनका कठिन अवस्थामा मानसिक समस्या पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई राज्यले बेलैमा मनोसामाजिक सेवा/सहयोगको व्यवस्था गर्नुपर्छ ।
– विद्यालय तहमा तत्काल मानसिक स्वास्थ्यका विषयमा पठनपाठन सुरु गर्नुपर्छ । विद्यालयहरूलाई बालमैत्री बनाउनुपर्छ । विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
– वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि विदेश जानुअघि मानसिक स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यबारे तालिम र तनाव व्यवस्थापनसम्बन्धी सिप सिकाउनु जरुरी छ ।
– आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति व्यक्ति स्वयम् पनि सचेत र चनाखो हुनुपर्छ । आत्महत्या र मानसिक रोगबारे खुलेर कुरा गर्नुपर्छ । मानसिक स्वास्थ्य सबल बनाउन दैनिक रहनसहन, खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठ्यारो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको सहयोग लिन ढिलो गर्नु हुँदैन ।
– मानसिक स्वास्थ्यको सम्बर्द्धन र प्रवर्द्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी छ । सबै सरोकारवाला व्यक्ति, निकाय सङ्घ–संस्थाहरूबीच ऐक्यबद्धता जरुरी छ ।
– मानसिक स्वास्थ्यको सम्बर्द्धन र प्रवर्द्धन तथा आत्महत्याको रोकथामका निम्ति आम सञ्चारका माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । सञ्चार माध्यमहरूले यसप्रति समवेदनशील भएर सकारात्मक भूमिका खेल्नुपर्छ ।
लेखक ‘मार्क नेपाल मनोसेवा केन्द्र’ मा कार्यरत छन्