तनावका बेला किन पटक–पटक अनुहारमा हात पुग्छ ?
गोपाल ढकाल
अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामी प्रायः चिन्तित वा निराश भएका बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौं । डराएका बेला हत्त न पत्त हातले अनुहार छोप्छौं ।
रोएका बेला पनि हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा अनुहार छोपिरहेका हुन्छौं या आँखा मिचिरहेका हुन्छौं । लजाएका बेला पनि अनायासै अनुहारमा हात पुगिसकेको हुन्छ । खुसी भएका बेला वा दुःखद् समाचार सुन्दा पनि हाम्रो हात मुख छोप्न पुगिसकेको हुन्छ ।
कुनै समस्याको समाधान नभेटेर सोचिरहेका बेला या त नाक कोट्याइरहेका हुन्छौं, या त कान वा कपाल तानिरहेका हुन्छौं वा हातका औंलाहरू ओंठमा पुगिसकेका हुन्छन् । कसैको पीडामा सहानुभूति देखाउँदा वा अरूको खुसीमा सामेल हुँदा पनि हाम्रो हात उसको गाला वा अनुहारमै पुग्ने गर्छ ।
अनुहार मनको ऐना हो । मनका भावहरू (जस्तो– पिर, व्यथा, वेदना, खुसी, उमङ्ग अर्थात् सम्बेग) को अभिव्यक्ति अनुहारबाट नै भइरहेको हुन्छ । दुवै अवस्था– खुसी वा दुःखी हुँदा तनाव बढ्छ । त्यस्तो बेला हामी हात नचलाई बस्नै सक्दैनौं । सामान्यतया कम्तिमा पनि घन्टामा दुई–चार पटक अनुहारमा हात पुग्नुलाई आधारभूत मानवीय स्वभाव नै मानिन्छ । तर, तनावमा भएको बेला भने सामान्य अवस्थामा भन्दा धेरै पटक अनुहारमा हात पुग्ने गर्छ ।
अहिले विश्वभर नै कोरोना महामारीको सङ्कट छ । यो अवस्थामा पक्कै पनि सबैमा धेरथोर डर–चिन्ता र तनाव बढेकै छ । यसलाई सामान्य र स्वाभाविक नै मानिन्छ । कतिपयमा भने यो समस्या अलिक बढी नै पनि हुन सक्छ । यस्तो विषम परिस्थितिमा डर–चिन्ता र तनावका कारण शरीर र मन दुवै अशान्त हुने, छटपटी बढ्ने, अस्थिर हुने, उकुसमुकुस हुनेजस्ता समस्या हुन्छन् ।
नाक–मुख कोट्याउने समस्या र कोरोनाको सम्बन्ध
कोरोनाको प्रकोप बढेसँगै मनोसामाजिक एवम् मानसिक स्वास्थ्य समस्याहरू पनि बढेर गएका छन् । यस्तो अवस्थामा चिन्ता तथा चिन्ताजन्य मानसिक समस्या (जस्तो– अब्सेन्सिभ कम्पल्सिभ डिसअर्डर्स, प्यानिक अट्याक, मानसिक आघात, डिप्रेसन, एक्युटस्टेस डिसअर्डर्स, तनाव तथा तनावजन्य मनोवैज्ञानिक समस्याहरू) अरू बेलामा भन्दा धेरै बढ्ने गर्दछन् ।
यस्ता मानसिक एवं मनोवैज्ञानिक समस्या देखिँदा शारीरिक लक्षणहरू पनि देखिन्छ । जस्तो टाउको दुख्ने, अनुहार रातो हुने, कान, शरीर तात्ने, पोल्ने, झम्झमाउने, मुख सुक्ने, आँखा पोल्ने, फुर्फुराउने वा धमिलो देख्ने, सास फेर्न गाह्रो हुने शरीरमा वा नाकमा बढी पसिना आउने, नाक सकसकाउने जस्ता लक्षणहरू देखिन्छन् ।
यस्ता लक्षणहरूले गर्दा पनि असहज भई नाक, मुख, आँखामा हात पुग्छ । अनायासै अनुहार र शरीर सुम्सुम्याउन पुगिन्छ । अझ कोरोनाभाइरसको सङ्क्रमण हुँदा मुख्य लक्षणका रूपमा ज्वरो आउने भएकाले त्यस्तो आशङ्का लाग्नासाथ पटक–पटक निधार छाम्न पुगिन्छ ।
वास्तवमा कोरोनाभाइरस हातको माध्यमबाट मुख, नाक र आँखा हुँदै शरीरभित्र प्रवेश गर्ने भएकाले हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ र हात नाक–मुख आँखामा सकेसम्म लानै हुँदैन; हातले अनुहारमा छुने काम गर्नै हुँदैन । यसो गर्दा सङ्क्रमणको जोखिम झन् बढ्छ । यस्तै लापरबाहीले गर्दा कोरोना सङ्क्रमणको विस्तारमा योगदान पुर्याएको सहजै अनुमान गर्न सकिन्छ । तर, तनाव बढेका बेला मान्छेले चाहेर पनि हातलाई कन्ट्रोलमा राख्न सकिरहेको हुँदैन ।
नाक–मुख किन कोट्याउँछ मान्छेले ?
आफ्नो अनुहार आफैंले सुम्सुम्याउने, नाक कोट्याउने, कान कोट्याउने, आँखा मिच्ने, औंलाले ओठ चलाउने, नङ टोक्नेलगायतका कार्यहरू नजानिँदो पाराले गरिरहेका हुन्छौं । यसो गर्दा आनन्दानुभूति हुने, सन्तुष्टि मिल्ने एवम् तनाव कम भएको महसुस हुने गर्छ ।
आफैंलाई छोएर, शरीर, अनुहार सुम्सुम्याएर आफ्नो सम्वेग र ध्यानलाई नियन्त्रण गर्न खोजिरहेका हुन्छौं । यसले सम्वेगात्मक प्रक्रियामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
मानवीय स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थले यस तथ्यलाई स्वीकार गर्दै मानिसहरूको यो व्यवहारलाई बदल्न निकै गाह्रो रहेको बताएका छन् । त्यसैले अहिलेको अवस्थामा मानिसलाई ‘अनुहार नछुन’ आग्रह गर्नुभन्दा पनि ‘हात धोइराख्न’ आग्रह गर्न सजिलो हुने उनको राय छ ।
कसरी घटाउने यस्तो प्रवृत्ति ?
– तनावका बेला अस्थिरता बढ्ने तथा हातहरू पनि अनुहारतिर धेरै जाने हुनाले तनाव व्यवस्थापनमा जोड दिने । तनाव व्यवस्थापनका विभिन्न तरिका र विधिहरू छन्, तिनैलाई अपनाउने ।
– आफ्नो शारीरिक अवस्थाप्रति सचेत रहने । आफूले के गरिरहेको छु भन्ने कुरा ख्याल गर्ने ।
– कतिपय अवस्थामा पारिवारिक सदस्यहरूको पनि सहयोग लिन सकिन्छ । अनायासै यस्तो व्यवहार गरेको देखेमा आफूलाई सूचित गर्न वा सम्झाउन आफन्तलाई भन्न सकिन्छ ।
– आवश्यक परेको खण्डमा साइकोथेरापी वा मनोपरामर्श सेवा पनि लिन सकिन्छ ।
मनोविद ढकाल ‘मार्क नेपाल मनोसेवा केन्द्र’ मा कार्यरत छन्