सुन्दर स्विडेनको भ्रमणले सिकाएको शिक्षा

डा. डीबी सुनुवार

सुन्दर स्विडेन विश्वकै सुन्दरतम स्थानहरूमध्येको एक हो । यहाँको यात्रा मनोरम नहुने कुरै भएन । यतिखेर म स्विडेनको स्टकहोम भन्ने स्थानको मनोरम यात्रामा रमाइरहेको छु । हिउँको यात्रा छ, जताततै हिउँ । चिसो सिरेटोले अनुहार नीलो बनाएर सेकेको छ मजाले ।

यात्रा हिउँको, सुविधा युरोपको ! व्यवस्थित जीवनशैलीले लोभ्याएको छ मलाई । प्रायः सबै कुरा व्यवस्थित भएकाले जीवनशैली सहज छ स्विडेनमा । स्विडिस साथीले ‘यो वर्ष हिमपात निकै भएको छ, आउनोस् भ्रमणमा’ भन्दै न्यानो आतिथ्यताका लागि अनुरोध गरे । त्यसैको प्रतिफलस्वरूप महान् वैज्ञानिक अल्फ्रेड नोबेल जन्मिएको सुन्दर सहर स्टकहोमको यात्रामा छु ।

जिम्मेवारीबोधसम्बन्धी एउटा प्रसङ्गको याद आयो । कहाँबाट, कसरी प्राप्त गर्‍यो स्विडेनले विकासको मार्गदर्शन ? खुल्दुली चलिरहन्छ मनमा । सर्वाङ्गीण विकासको बाटोले कसरी निरन्तरता पायो स्विडेनमा ? मनमा प्रश्न मडारिइरहेको छ ।

अवलोकनका क्रममा निस्कियो निष्कर्ष– वास्तवमै नीति तथा योजनाले चलेको मुलुक रहेछ स्विडेन । र, आखिर यही नै त रहेछ– निरन्तर विकास, दिगो विकास अनि समग्र विकासको मुख्य मार्गदर्शन ।

००० ००० ००० ०००

दुई हजार वर्ष पहिलेको इतिहास हेर्दा भारत र इजिप्टलगायत विश्वकै कम आय भएका मुलुक थिए । क्यानडा र अस्ट्रेलिया स्वतन्त्र भएको एक सय पचास वर्ष भयो । अहिले यी देश संसारकै विकसित मुलुकहरूमध्येमा पर्दछन् ।

कुनै मुलुकमा प्राकृतिक सम्पदाहरूको परिमाण बढी वा घटी हुनुले पनि विकासमा निकै ठूलो अन्तर पार्ने त रहेनछ । वर्षमा चार महिना मात्र माटोको अनुहार देख्न पाइन्छ स्विडेनमा । विकासको चरणमै अघि बढिरहेको मुलुकमा व्यक्ति–व्यक्तिबीच वैचारिक मतभिन्नता पनि उति धेरै देखिँदो रहेनछ भन्ने कुराको उदाहरणका रूपमा स्विडेनलाई नै लिन सकिन्छ । न जातीय विभेद छ, न त रङ्गभेद नै । बरु आर्थिकलगायत सबै पक्षमा सक्षम तथा सबल मुलुक हुनका लागि आवश्यकता त त्यो देशका नागरिकको बानी–व्यवहार अनि दृष्टिकोणकै पो पर्दो रहेछ ।

मुलुक आर्थिकलगायत समग्र क्षेत्रमा सम्पन्न हुँदा त्यहाँका अधिकाङ्श नागरिकको जीवनशैली पनि बडो व्यवस्थित हुने रहेछ । स्विडेनका नागरिकको जीवनशैली, उनीहरूमा पाइएको जिम्मेवारीबोध, कानुनको परिपालना, कामप्रतिको प्रेम, इमानदारिता र निष्कपटपन देख्दा र सुन्दा मलाई निकै लोभ लाग्यो ।

नियम–कानुनप्रतिको आदरभाव, बचत र लगानीमा जोड, कामप्रतिको इच्छाशक्ति र लगाव, जनअधिकारको आदरजस्ता विषय विकसित मुलुकका नागरिकको विशेषता नै देखिन्छ । यस्ता विषयलाई इमानदारिताका साथ पालना गर्ने हो भने नेपाल विकसित हुन पनि धेरै समय लाग्दैन । यही महसुस गरें मैले स्विडेन घुम्दा ।

रेल र बसका यात्रुले आफ्नो मोबाइलमै ‘टिकट’ नम्बर देखाएर यात्रा गर्न पाइने– कस्तो सजिलो सुविधा स्विडेनमा ! अरु सबै आर्थिक कारोबार पनि कार्डबाट नै चलाउन मिल्ने ! आफ्नो कमाइको पैसा खातामा सीधै जम्मा हुने अनि कार्डमार्फत खर्च गर्न सकिने व्यवस्था छ । वास्तवमा नगद कारोबार गर्नुपर्ने त आवश्यकता नै रहेनछ स्विडेनमा !

परम्परागतरूपमा धेरै व्यक्तिले गर्नुपर्ने काम अब एकै जनाले गर्न सकिने प्रविधिको विकास खुबै लोभलाग्दो रहेछ । समय र शक्तिको यति धेरै बचत भएपछि त किन नहुनु र देश विकास ? प्रविधिको अत्यधिक विकास भएर सबै व्यवहार प्रविधिबाटै हुनै भएपछि एक–अर्काबीच आत्मीयता र निकटताको मौका नै पो मिल्दैन कि जस्तोचाहिँ अनुभूति भयो । यहाँ विकास छ, पैसा छ, सुविधा छ, सबै कुरा व्यवस्थित छ । तर, आत्मीयता छैन । मान्छे नितान्त एक्लो छ, मान्छे पनि मेसिनजस्तै पो भइसक्यो कि भन्ने अनुभूति हुन्छ । भौतिकवादी विकासमा एकोहोरो हिँडिरहेको स्विडेनमा अध्यात्म समेत जोड्न सकिए आत्मिक शान्तिको आनन्द पनि पो मिल्थ्यो कि !

भेट्दा र व्यवहार नै गर्दाचाहिँ स्विडिस नागरिकहरू निकै आत्मीय पनि लागे । विकासको प्रक्रियामा आत्मीयता तथा ममता मिसिँदा ‘सुनमा सुगन्ध’ भने झैं नै हुँदो रहेछ ।

हिउँका कारण वातावरण नै हिउँमय बनेको छ । मौसम खराब भएकाले उत्तरी युरोप खण्डका प्रायः विमानस्थलहरू बन्द भएका छन् । बढी हिउ परेकै कारण जर्मनीको फ्र्याङ्कफर्ट र बेलायतको हिथ्रो विमानस्थल बन्द भैसकेका छन् । जताततै कालो मुस्लो देखिन्थ्यो । असिना–पानी परेजस्तो लाग्यो । तर, होइन रेछ, त्यो त हिमपात पो रहेछ ! पूरै बाक्लो हुने गरी, धावनमार्ग नै बन्द हुने गरी हिमपात भइरहेछ । चुक घोप्टिएजस्तो अन्धकार छ आम्र्सटर्डम विमानस्थलमा ।

यात्रामा कतै अवरोध पो हुने हो कि भन्ने सङ्शयले पनि सताएको छ घरीघरी । तर, यसै समयको भने भरपूर आनन्द उठाइरहेको छु ।

हिउँले ढाकेको छ जहाजलाई । करिव आधा घन्टापछि जहाज सफा गर्ने फोहरादार क्रेन आयो । क्रेनले पानीको फोहरा फाल्दै जहाज सफा गर्‍यो । एकै पटक पाँच–छ वटा डोजरले धावनमार्गको हिउँ सफा गरे । त्यसपछि विमानले तुरुन्तै टेकअफ लियो र स्टकहोमतर्फको दुईघन्टे उडान फेरि सुरु भयो ।

एयरहोस्टेसले खाजा–नास्ता बाँड्न थालिन् । सबैले लिए, मैले पनि लिएँ । अब जहाजको यात्रामा सेतो बादलभन्दा माथि उड्दैछौं । तल, सेतै देखिन्छ भुइँ । पूर्वतिर घाम झुल्केर उज्यालो भएजस्तो लाग्यो । तर, एक छिनपछि फेरि अन्धकार नै भयो । एयरहोस्टेसलाई पाइलटले अवतरणको तयारीमा रहेको सूचना दिँदै पेटीको सङ्केत दिए ।

म सवार जहाज अब स्टकहोममा अवतरण हुन लागेको छ । परिचारिकाबाट सूचना पाएपछि झ्यालबाहिर हेरें । स–साना पहाडजस्तो । कतै खोलाजस्तो, कतै मसिनो सियोमा पिठो उनिएजस्तो देखियो त्यो ठाउँ । पछि थाहा भयो, जङ्गललाई हिउँले ढाकेको रहेछ त्यो दृश्य त । अब भने छर्लङ्ग देखिए सल्ला र धुपिका बोटहरू । कतै गहिरो त कतै उचाइ । हिउँले सपक्कै ढाकेको छ भुइँलाई ।

यसबेला म स्टकहोमस्थित आर्लान्डा भन्ने स्थानमा आइपुगेको छु । मैले ट्रेनमै छँदा इमेलमा लिङ्स्योपिङ आँउदैछु भनेको थिएँ । त्यसले ठूलो काम गरेछ । फेरि एक पटक इमेल हेर्नुपर्‍यो भनेर उन्नाइस क्रोनर तिरेर तीस मिनेटका लागि इन्टरनेट किनेंं । ट्रेन पनि संयोगले ‘डब्बल डेकर’ नै परेछ । यातायातका सम्पूर्ण साधनहरू पूर्ण व्यवस्थित हुने रहेछन् । जाने र पुग्ने समय टिकटमै उल्लेख छ । हरेक स्थानमा बोर्ड हुने भएकाले आनन्दसाथ लङ्स्योपिङ सेन्ट्रल स्टेसनमा पुग्दा मलाई पर्खेर बसिराख्नु भएको रहेछ डा. सुनिल ।

क्नुड, ब्रुगनी, ब्रार्बाे, काट्रिना र आमान्डाको निमन्त्रणामा रात्रिभोजमा सामेल भयौं । हाम्रो तर्फबाट केही नेपाली चिनो दियौं र परिकारका स्वाद पनि चखायौं । मलाई स्वागत गर्न डा. योभोन कोलोन (जर्मनी) बाट स्टकहोम आइपुगिसकेकी रहिछन् । पूरै घुमघाम गर्‍यौं– यहाँका सङ्ग्रहालय, ऐतिहासिक भवन र पुराना विशाल इमारतहरू । सिटी टुर गर्‍यौं ।

बाहिरको वातावरण माइनस २० डिग्री सेल्सियस थियो । ठिहीले छियाछिया पार्ने स्थिति छ । स्टकहोम भन्नेवित्तिकै आदरणीय व्यक्तिको सहर भनेर चिनिन्छ; नोबेल शान्ति पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको सम्झना हुन्छ । स्विडेनको राजधानी स्टकहोम सहरमै जन्मेका रहेछन् अल्फ्रेड नोबेल । उनैका नाममा वर्षेनि डिसेम्बर दसका दिन भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान, साहित्य, शाान्ति र अर्थशास्त्रजस्ता विधामा संसारभरका विभिन्न प्रतिभालाई यही पुरस्कारद्वारा सम्मानित गरिन्छ ।

देख्दा र सुन्दा त कुरा अचम्मलाग्दो पनि छ; जसले गरेको डाइनामाइटको आविष्कारकै कारण संसारभर विध्वङ्श मच्चाउन सक्छ, ऊ नै शान्तिको प्रणेता ! उनैको मृत्युपश्चात् घोषणा गरिएको ‘नोबेल शान्ति पुरस्कार’ आफैंमा अनौठो छ । बल र बैंस छउञ्जेल मान्छेले जे पनि गर्ने अनि मृत्युको समय आइपुग्दा भने जीवनभरका कमजोरी महसुस गर्दै पश्चात्ताप गरेर शान्तिको अपरिहार्यता स्वीकार्ने भएकाले नै यसखाले काम (नोबेल पुरस्कारको स्थापना) गरिएको हुनुपर्छ भन्ने लाग्छ मलाई । अहिले बाँचेका हामीले कतिपय कुराबाट भयभीत हुनु परिरहेको छ । हिजोका वैज्ञानिकहरूले गरेका आविष्कारकै कारण यस्तो भय सिर्जना भएको छ ।

स्टकहोम छाडेर लिङस्योपिङ सहरतिर जानु छ । सूचना केन्द्रको निर्देशनअनुसार बसभन्दा रेलको यात्रा सहज हुन्छ भन्ने जानकारी पाएँ मैले । ट्रेनको भाडा नै तीनथरी मूल्यका हुने पनि बताइयो हामीलाई । काठबाट बनेको दुईतले घर परम्परागत स्विडिस शैलीअनुसार सजिएको छ । बाहिरबाट रङ्गाइएको गेरुवा रङ्ग प्रेमको प्रतीक नै होजस्तो लाग्छ । हरेक घरका छाना सेताम्मे देखिन्छन्, हिउँले छपक्कै ढाकिएका छन् ।

काममा आउने–जाने मानिसहरूको उपस्थिति पनि ज्यादै पातलो देखिन्छ । बाहिरको वातावरण त्यति सहज र अनुकूल पनि छैन । यहास्थित ‘इकेया मल’ संसारका धनी व्यक्तिहरूमध्येकै एक जनाले चलाएका रहेछन् । विश्वविख्यात धनाढ्यले चलाएको ‘इकेया’ मा पुग्नु पनि मेरा निम्ति गर्वकै विषय भयो । एउटा मामुली फर्निचर व्यवसायी कसरी एकाएक विश्वकै धनी बन्ने गरी आर्जन गर्न सफल भए ? मेरो मनको खुल्दुली आज पनि यथावत छ ।