कसैले किन फैलाउँछ अफवाह ? यस्ता छन् मनोवैज्ञानिक कारण…

गोपाल ढकाल

इन्टरनेट माध्यमको सामाजिक सञ्जाल अत्यधिक प्रयोग हुने अहिलेको जमानामा स–साना घटना, कार्य वा केही हुनासाथ ‘एक कान, दुई कान हुँदै मैदान’ हुन बेर नै लाग्दैन । जनमानसमा एकाएक फैलने यस्ता कुराहरू सत्य नै हुन्छन् भन्ने हुँदैन । सञ्जालमार्फत फैलने यस्ता प्रचारबाजीहरू प्रायः झुट्टा, उडन्ते, तथ्यहीन र आधारहीन एवम् प्रमाणविहीन र मनगढन्ते नै हुने गरेको देखिन्छ ।

यस्ता अफवाह फैलँदा धनजनको ठूलै क्षति समेत हुन सक्छ । यस्तो प्रचारबाजीले समाजमा शान्ति र सद्भाव खल्बल्याउन पनि सक्दछ । अफवाहका कारण पुग्ने मानसिक क्षति र असर झनै भयावह तथा अनुमान गर्नै नसकिनेसम्मको पनि हुन सक्दछ । अफवाह फैलँदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सिर्जना हुन्छ ।

अफवाह र मानसिक तनाव

अफवाहको शिकार हुँदा जो–कसैमा डर–चिन्ता, डिप्रेसन, मानसिक आघात, अनिद्राजस्ता मानसिक रोग देखिन सक्छन् । कवि भूपि शेरचनले भनेका थिए– ‘नेपाल त हल्लै हल्लाको देश हो ।’ भूपिकै उक्त भनाइले पनि पुष्टि गर्छ कि हाम्रो समाजमा अफवाह एकदम छिट्टै नै फैलने गर्छ ।

नेपालमा कहिले ‘बीबीसीले यसो भन्यो रे’, कहिले ‘फलानाले यसो भन्यो रे’ भनेर कुनै सञ्चार माध्यम या व्यक्तिको हवाला दिँदै ‘भुइँचालो जाने’, ‘हवाईजहाज दुर्घटना हुने’, ‘औषधिमा घातक जीवाणु भेटियो’ आदि–इत्यादि हल्लाहरू बेला–बेला ‘भाइरल’ हुने गरेका छन् ।

गत वर्षदेखि विश्वभर कोरोना महामारी चलिरहेको छ । विपत्तिको यो समयमा पनि विश्वभरि नै विभिन्नखाले अफवाहहरू फैलिए र नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरू अहिले पनि फैलिइरहेकै छन् ।

कोरोना उपचारबारे अफवाह फैलाएको आरोपमा हालै मात्र पनि भारतीय ‘योगगुरु’ रामदेवविरुद्ध समेत मुद्दा परेको छ । कोरोनाको प्रकोपभन्दा पनि गलत सूचना र अफवाहले गर्दा मानिसहरूमा अत्यधिक डर–त्रास र भय बढ्न गएको देखिन्छ ।

अफवाह फैलाउन कतिपय सञ्चार माध्यमहरूको समेत भूमिका रहेको देखिन्छ । नबुझिकन समाचार लेख्ने, समाचार ‘ब्रेक’ गर्न हतार गर्नेजस्ता कार्यले अफवाह फैलाउने कार्यमा ‘आगोमा घ्यु थप्ने’ काम कतिपय आम सञ्चारका माध्यमबाट भइरहेको पाइन्छ । कसै–कसैले त मिडियालाई नै नजानिँदो तरिकाले दुरूपयोग गरेर समेत अफवाह फैलाइरहेका हुन्छन्/छन् ।

विपत्ति–अफवाह अन्तर्सम्बन्ध

विपत्तिका बेला विभिन्न किसिमका अफवाहहरू फैलने सम्भावना हुन्छ । विपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुँदैन । यस्तो अनिश्चितकालीन अवस्थामा धेरै किसिमका अडकलबाजी, ‘भविष्यवाणी’, ‘विश्लेषण’ गर्दै अफवाह फैलाउने जोखिम हुन्छ/भइरहेको छ ।

कठिन र अनिश्चितताको समयमा मान्छे अत्तालिएको हुन्छ । डर–त्रास र तनावका कारण मान्छेको सोच्ने, निर्णय लिने र सुझबुझपूर्ण व्यवहार गर्ने क्षमतामा समेत ह्रास आउँछ । यस्तो बेला कसैले ‘कागले कान लग्यो’ भनिदिँदा ‘आफ्नो कान नछामी कागका पछि दौडने’ व्यवहार बढी नै हुने गरेको छ ।

विपत्तिका बेला प्रायः सबैमा केही न केही डर–चिन्ता हुने गर्छ । आफ्नो डर–चिन्तालाई लुकाउने र ‘निडर छु’ भनी देखाउनका लागि पनि कसै–कसैले गलत र उडन्ते कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्ययनअनुसार जो बढ्ता चिन्तित र त्रसित हुन्छ, उसैले अफवाह फैलाउने सम्भावना बढी हुन्छ ।

कलाकार, राजनीतिकर्मी आदि सधैंजसो चर्चामा आइरहन चाहने व्यक्तिहरू विपत्तिका बेला ओझेलमा पर्न सक्छन् । यस्तो बेला चर्चाबाट ओझेल नपर्नका लागि त्यस्ता व्यक्तिहरूले समेत विभिन्न हथकण्डा प्रयोग गर्न सक्दछन् ।

सामान्य व्यक्तिहरूले भने अप्ठ्यारो परिस्थितिमा अरुबाट अलि बढी नै साथ–सहयोगको अपेक्षा गर्दछन् । त्यसैकारण कसै–कसैले चाहिँ अरुबाट साथ, सहयोग र सहानुभूति पाउनैका लागि अनेक प्रसङ्गलाई बढाइचढाइ गर्ने र अफवाह फैलाउने काम गर्न सक्दछन् ।

वास्तवमा किन फैलिन्छ त अफवाह ? अफवाह फैलाउन कसैले किन चाहन्छ त ? यसको पछाडिका मनोवैज्ञानिक कारणहरू के हुन सक्दछन् ? सङ्क्षिप्तमा चर्चा गरौं–

चर्चाको भोक

हिजोआज धेरैलाई चर्चा कमाउने र ‘भाइरल’ हुने भोक जागेको देखिन्छ । सामाजिक सञ्जालले मान्छेको त्यो भोकलाई थप जगाइदिने गरेको छ । मनोवैज्ञानिक दृष्टिले पनि समाजमा आफ्नो चर्चा होओस् र मान–सम्मान एवम् प्रतिष्ठा बढोस् भन्ने चाहना हुनु स्वाभाविक नै मानिन्छ । प्रायः कोही पनि गुमनाम रहन चाहँदैन ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा होस् वा कुनै स्ट्याटस लेख्दा नै किन नहोस्, धेरैभन्दा धेरै लाइक, सेयर र कमेन्टको अपेक्षा जो–कसैले गर्दछ । यही अपेक्षा पूरा गर्न र आफूलाई जान्ने–बुझ्ने देखाउन तथा आफू ‘महत्वपूर्ण व्यक्ति’ भएको देखाउन अनि अरुको ‘नोटिस’ मा पर्न प्रायः ले अफवाह फैलाउने गरेको देखिन्छ । त्यस्तै, आफ्नो ‘पहिचान’ स्थापित गर्न, समाजमा ‘प्रतिष्ठा बढाउन’ र आफूतिर अरुको ध्यान खिँच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा ‘फण्डा गर्ने’ गरेको देखिन्छ ।

अफवाह: व्यक्तिगत लाभको माध्यम

कसै–कसैले भने अफवाहलाई नै आफ्नो ‘विज्ञापन’ को माध्यम समेत बनाउने गरेको देखिन्छ । यीमध्येका प्रायः ठगी धन्दा चलाउनेहरू नै हुन्छन् । आफूलाई ‘माता’, ‘गुरु’, ‘ज्योतिषी’ भन्नेहरूले बेलाबखत ‘भूकम्प जाँदैछ’, ‘अनिष्ट हुँदैछ’ आदि–इत्यादि हल्ला चलाउने गरेका छन् । आफ्नो प्रचार गर्नु नै उनीहरूको उद्देश्य हुन्छ । उनीहरूले यस्तै–यस्तै डर–त्रास देखाएर मानिसहरूलाई आफूतिर आकर्षित गर्दै ‘ग्राहक’ बटुल्न र मान्छेहरूलाई आफ्नो पकडमा राख्न समेत प्रयास गर्दै आएका छन् ।

अध्ययनले देखाएअनुसार विपत्तिको समयमा मानिसहरू तथ्यमा भन्दा अन्धविश्वास र परम्परागत कुरामा बढी विश्वास गर्दछन् । यस्तो बेला मानिसहरूले ‘अलौकिक शक्ति’ माथि बढी भर पर्ने गरेको देखिन्छ । यसैकारण मानिसहरू ‘माता’, ‘बाबा’, ‘गुरु’, र ‘ज्योतिषी’ हरूले भनेका कुरामा सजैलै विश्वास गर्दछन् र उनैका ‘उपदेश’ अनुशरण गर्न थाल्दछन् ।

कालोबजारी गर्ने व्यापारीहरूले भने सामान लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, महँगो मूल्यमा सरसामान बेच्ने उद्देश्यले पनि अफवाह फैलाउने गरेको पाइन्छ । कतिपय मिडियाहरूले समेते ‘टीआरपी’, ‘रिडरसिप’ वा ‘भ्युज’ बढाउने उद्देश्यका साथ कतिपय गएगुज्रेका मिडियाहरूले गलत समाचार÷सामग्रीलाई स्थान दिने र अफवाह फैलाउने काम गरेको पनि देखिन्छ ।

व्यक्तित्व–विकारको दुष्परिणाम

समाजविरोधी चिन्तन एवम् व्यक्तित्व–विकारयुक्त व्यक्तिहरू सधैं नै अरुलाई दुःख दिने र अरुको दुःखमा रमाउने स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरू चाहिँदो–नचाहिँदो हल्ला चलाउने, समाजको शान्ति सुव्यवस्थामा खलल पु¥याउने र हत्या–हिंसा तथा बलात्कार गर्नसम्म पनि पछि नपर्ने खालका हुन्छन् । विपत्तिको समयमा यस्ता व्यक्तिहरूले अझ बढ्ता सक्रिय हुने मौका पाउँछन् ।

आफूलाई जान्ने–बुझ्ने देखाउन र मान्छेलाई प्रभावमा पार्न पनि यस्ता व्यक्तिहरूले विभिन्न किसिमका तर्कहरू गर्ने गर्दछन् । यस्ता व्यक्तिहरू एकदमै चतुर र चलाख समेत हुने गर्दछन् । जुनसुकै समाजमा पनि यसखाले मानिसहरू धेर–थोर भेटिने गरेका छन् ।

रोचक कुरा त के छ भने पढेलेखेका, ठूलठूला पद र ओहोदामा पुगेका अनि धेरैले मान्ने गरेका व्यक्तिहरू समेत यसखाले व्यक्तित्व–विकारयुक्त हुने गरेका पाइन्छन् । यसैकारण पनि उनीहरूका अफवाहमा अविश्वास गरिहाल्न धेरैलाई गाह्रो पर्न सक्छ । कतिपय धार्मिक ‘गुरु’, ‘समाजसेवी’, ‘राजनीतिकर्मी’, ‘पत्रकार’ आदिको भेषमा समेत व्यक्तित्व–विकारयुक्त यस्ता व्यक्तिहरू भेटिने गरेका छन् ।

अशिक्षा र अन्धविश्वास

कतिपयले भने अज्ञानताका कारणले पनि अफवाह फैलाउने गरेको पाइन्छ । कुनै समाज जति धेरै अशिक्षा र अन्धविश्वासमा जकडिएको छ, त्यो समाजमा त्यति नै चाँडो अफवाहहरू फैलन्छन् । अशिक्षाका कारण कुनै पनि विषयलाई तथ्यपरक तरिकाले बुझ्ने र निर्णय लिने क्षमतामा कमी हुन्छ । त्यसैले शिक्षाबाट वञ्चित एवम् रुढीवादबाट ग्रस्त व्यक्तिहरू एकदम चाँडै विभ्रमहरूमा विश्वास गरिहाल्ने र लहैलहैमा लागिहाल्ने हुन सक्दछन् ।

रुढीवादीहरू तथ्य, तर्क र वैज्ञानिक आधारयुक्त कुराहरूलाई पत्याउँदैनन् तर रुढीवाद, अन्धविश्वास र ढोंगयुक्त असत्य कुराहरूलाई भने सत्य नै ठान्दछन् र तथ्यकै रूपमा प्रचार गर्न मरिहत्ते गर्दछन् ।

मानसिक रोगको विभ्रम

मानसिक रोगीहरूका कारण पनि समाजमा अफवाह फैलने गरेको छ । मेनिया (उन्माद ) नामक मानसिक रोग भएका बिरामीले आफू एकदमै शक्तिशाली भएको र जस्तासुकै समस्या पनि समाधान गरिदिन सक्ने हल्ला फिँजाउँछन् । केही अघिसम्म ठीकठाकै भएका केही व्यक्ति एकाएक ‘गुरु हुँ’, ‘माता हुँ’, ‘अलौकिक शक्ति प्राप्त गरें’ आदि–इत्यादि भन्दै हास्यास्पद, अव्यावहारिक र घमण्डपूर्ण कुरा गर्ने गर्दछन् । वास्तवमा ती व्यक्तिहरू मानसिक रोगी अर्थात् मेनियाका बिरामी हुन् ।

कसै–कसैले भने सामाजिक सञ्जालमार्फत आफूसँग ‘कोरोनाको औषधि’ भएको, यो महामारीको समाधान आफूले गरिदिन सक्ने जस्ता अफवाह फैलाउने गरेको पनि देखिन्छ । मानसिक स्वास्थ्यबारेको अज्ञानता र अन्धविश्वासका कारण यसखाले अफवाह फैलाउनेहरूलाई कतिपयले हरतरहबाट सहयोग गरिरहेको पनि देखिन्छ ।

सिजोफ्रेनियाअन्तर्गत पर्ने ‘ग्र्याण्डियस डिल्युजन डिसअर्डर’ नामक कडाखाले मानसिक रोगबाट ग्रस्त बिरामीहरूले आफुमा ‘ठूलो शक्ति’ भएको ठान्दछन्/प्रचार गर्दछन्; आफुलाई विश्व/ब्रह्माण्डकै पूरै ज्ञान प्राप्त ‘विद्वान्’ र ‘ट्यालेन्ट’ सम्झन्छन् । यस्ता बिरामीमा भूत र भविष्यका सबै कुरा बताउन सक्ने र ‘चमत्कार’ गरेर संसारलाई देखाउन सक्ने ‘क्षमता’ आफूसँग छ भन्ने मतिभ्रम हुन्छ । जनसाधारणले अज्ञानतावश यस्ता बिरामीहरूका भ्रमपूर्ण प्रचारबाजीमा विश्वास गर्नाले पनि समाजमा अफवाह फैलिइरहेको छ ।

कुनै विषय, घटना र सन्दर्भबारे धारणा बनाउनुअघि राम्रोसँग सोचविचार गर्नु जरुरी हुन्छ । आवश्यकता र उपलब्धताअनुसार विषयविज्ञहरूको कुरा सुन्नुपर्छ । अफवाहको पछि लाग्दा ठूलो दुःख पाइन सक्छ/धोका खाइन सक्छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । तर, यसो भन्दैमा समाजलाई हानि–नोक्सानी पु¥याउने र शान्ति सुव्यवस्थामै खलल पुर्‍याउने कार्य गर्न भने कसैलाई छुट दिएको छैन; यस्तो कार्य भने अपराध नै हो । अफवाह फैलाउने र दूषित प्रचारप्रसार गर्नेलाई दण्ड सजाय दिने कानुनी व्यवस्था छ ।

मार्क नेपाल मनोसेवा केन्द्रका संस्थापक ढकाल मनोविद् हुन्