बेथलेहम: जहाँ जिसस जन्मे
डा. डीबी सुनुवार
हामी दुई मुलुकको यात्रामा निस्केका छौं । एउटा मुलुकबाट प्रवेश गरेर अर्को मुलुकमा भएको ऐतिहासिक ठाउँको यात्रा गरिरहेका छौं ।
हाम्रो यात्रा निरन्तर छ । यसपालिको हाम्रो गन्तव्य छ– इजरायल । हामी जोर्डनबाट इजरायलको फ्लाइटमा उड्यौं । करिव आधा घन्टाको हवाइ यात्रापछि जोर्डनबाट इजरायलस्थित जेरुसेलम विमानस्थलमा अवतरण गरेका छौं ।
कडा सुरक्षा जाँचपछि विमानस्थलबाट बाहिर निस्केका छौं । यहाँको विमानस्थलमा सुरक्षा जाँच पनि निकै कडा छ । फेसियल फोटो, फिड्गर प्रिन्ट, मेटल डिटेक्टरजस्ता जाँच पार गर्नुपर्छ ।
एयरपोर्टबाट बाहिर निस्केपछि हाम्रो यात्रा तेलअबिभतर्फ अघि बढ्छ । होटलले नै पठाएको कार चढेर हामी होटलतर्फ लाग्छौं । मध्यरात भर्खरै ढल्केको छ, बिहानको १ बजेको छ ।
खानपान गरेपछि उत्सुकता र कौतुहलता सहितको दिभरिको यात्रापछि थकाइ मार्दै छौं । केही घन्टा सुतेपछि उठेर ब्रेकफास्ट खाइरहेका छौं । ब्रेकफास्टको प्रसङ्ग पनि रोचक छ । त्यहाँ रोटीका आइटम लगभग उस्तै देखिन्थे । परिकारहरू युरोपियन किसिमका छन् तर हामी एसियामा घुम्दैछौं । जिब्रोले एसियन स्वादको खानपान मागिरहेको छ । स्वाद छुट्याउन पनि बडो कठिन । जे होस् रोटी खाइयो, ब्ल्याक टी पिइयो । स्वाद त कस्तो भयो कस्तो, पत्तै पाइएन । सायद हामी उत्साहित भएर पनि होला !
ब्रेकफास्टपछि यात्रा अघि बढाउनु नै छ । इसाई धर्मावलम्बीको आस्थाको प्रतीक, जिसस क्राइस्टको जन्मभूमि टेक्न हतारिएका छौं हामी । त्यस ठाउँको नाम हो बेथलेहम । बेथलेहम वास्तवमा प्यालेस्टाइनी भूभागमा पर्ने रहेछ । इजरायलको बोर्डर क्रस गरेर प्यालेस्टाइन पुगिन्छ । इजरायलबाट प्यालेस्टाइनी भूमि बेथलेहम टेक्न त पासपोर्ट चाहिन्छ नै ।
हाम्रा गाइडले यात्राको जानकारी दिँदै व्यवस्थापन गरिरहेछन् । इजरायलकै स्थानीयवासी मिस्टर नील गाइड छन्, उनैले हाम्रो यात्रा जिसस जन्मेको ठाउँतर्फ अघि बढाइरहेका छन् ।
इजरायलको इतिहास, भूगोल, सामाजिक–साँस्कृतिक परिवेश लगायतबारे गाइडले हामीलाई जानकारी दिइरहेका छन् ।
०००
इजरायलबाट बेथलेहमतर्फ अघि बढिरहेका छौं । इजरायल र प्यालेस्टाइनबीचको बोर्डरमा पुगेका छौं । त्यहाँबाट करिव आधा घन्टाको कार–यात्रापछि बेथलेहमको ‘नाटिभिटी’ चर्चमा पुगिन्छ । तर, अहिलेसम्म हामी बोर्डरमै छौं ।
बोर्डर सुरक्षा निकै कडा छ । त्यहाँको सुरक्षा कडाइले त मुटु नै झसङ्ग पार्दै छ । बोर्डर क्रस गर्ने क्रममा ‘डिजिटल स्क्रिनिङ’ गर्दा सास पनि बिस्तारै चलेको छ । अब भने हामी बोर्डर क्रस गर्दै छौं ।
बोर्डर क्रस गरेपछि इजरायली कारलाई बिदा गर्दै हामीले प्यालेस्टाइनी कार चढ्यौं । गाइडले नै मिलाए यसको चाँजोपाँजो । हामी नाटिभिटी पुग्नै लागेका छौं । कारबाट बाहिर हेर्दा उराठलाग्दो देखिन्छ । अनकन्टारमा उराठिलो यात्रा भैरहेको महसुस हुन्छ । यहाँको उराठलाग्दो वातावरणले मेरो मनलाई घरतिरै पो फर्कायो । सम्झिएँ– पोखराको फेवा ताल, रारा ताल, मुस्ताङ, डोल्पा, पूर्वमा इलामको चिया बगान… । ओहो ! कति हराभरा, कस्तो मनमोहक !!
मन नेपालतिरै डुले पनि यात्रा त प्यालेस्टाइनमै छ । झस्किएँ, मन फेरि फर्कियो त्यहींको उराठिलो यात्रातर्फ । ठाउँ र वातावरण उराठलाग्दो भए पनि नयाँ ठाउँको यो भ्रमण पनि निकै रोचक त अवश्य नै छ । देखिन्छ– ‘वेलकम टु सिटी अफ डेभिड ।’
चक्काले बाटाको छेउ छुँदै स–साना घुम्ती तथा मोडहरू पार गर्दै कार अघि बढ्दैछ । हेर्यो, स–साना पहाड र थुम्का देखिन्छन् । थुम्काहरूको काखमा स–साना थुप्रा देखिन्छन् । सबैजसो घरका आकार–प्रकार उस्तै, रङ्ग उस्तै । रङ्गीविरङ्गी घर त देख्नै नपाइने । अनौठा दृश्य देखिँदै छन् आँखाअघि ।
०००
प्यालेस्टाइन र इजरायलबीचको लडाइँले दुई देशबीचको बोर्डर निकै त्रसित थियो । धनजनको क्षति पनि निकै नै भयो । अझै कम भएको छैन युद्धको घाउ ।
हामी अब बेथलेहम (नाटिभिटी) मा आइपुग्यौं । चर्चमा पुगियो । ओहो ! कत्रो बडेमानको चर्च भवन ।
नेपालका प्राचीन मन्दिर तथा भवनहरूको संरचनागत शैली ‘प्यागोडा’ लगायत भएजस्तै नाटिभिटी चर्च भने ‘मोसाइक’ डिजाइनमा निर्माण गरिएको रहेछ । त्यो भवन उक्त सहरकै सबैभन्दा ठूलो छ । उक्त भवनको दुई तला अण्डरग्राउण्ड छ । जमिनमुनिका दुई तला ठूलो गुफा या सुरुङ वा ओडारजस्ता लाग्छन् ।
बाइबल ग्रन्थअनुसार त्यही ‘ओडार’ मा मरियमले जिसस क्राइस्टलाई जन्म दिएकी हुन् । सो गुफाको ठूलो ठाउँमध्ये बीच भागमा तारा आकारको सुनको प्रतीक छ । जीवनमा एक पटक त्यस ठाउँमा पुगेर यो प्रतीकलाई छुँदा आफ्नो उद्धार हुन्छ भन्ने इसाई धर्मावलम्बीहरूको मान्यता छ । तारा आकारको सो प्रतीकलाई छुन भवनको दुईतला माथिदेखि नै लाम लाग्नुपर्छ । त्यहाँ पुग्नेहरूको भीड निकै ठूलो हुन्छ । यो प्रतीक विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
हाम्रा गाइडले यो गुफा र त्यस स्थानका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षबारे बताइरहेका छन् । रोचक पक्ष त के रहेछ भने पहिले यो गुफा गाईको गोठ रहेछ । जिसस जन्मिएको त्यस गोठलाई पछि विस्तार, विकास र पुनर्संरचना गरेर निकै विशाल एवम् भव्य बनाइएको रहेछ ।
ऐतिहासिक यस ठाउँमा आइपुग्दा मलाई निकै अनौठो र रमाइलो लागेको छ । लाइनमा बसेर क्रमशः अघि बढ्दा र अण्डरग्राउण्डतर्फ झर्दा शरीर नै हल्का भएको महसुस हुँदै छ । अरुका अनुहार नियालें, भित्र छिर्नेहरूका अनुहार पनि बडो भर्भराउँदा देखिन्छन् । आफ्नै अनुहारमा पनि महसुस गरें, निकै चमक आइसकेको छ !
लाइनमा बस्नेहरू सबै मौन छन्; ठूलो स्वरले कोही बोलेका छैनन् । फरक–फरक मुलुकका, फरक–फरक अनुहारका मान्छे देखिन्छन् लाइनमा ।
सुनको तारा छोइसकेपछि लाइनबद्ध भएरै बाहिर निस्कियौं । जिसस क्राइस्टको जन्म भएको यस ठाउँलाई ‘लाइट अफ वल्र्ड’ पनि भनिन्छ ।
०००
यस पटकको यात्राको सर्वाधिक कौतुहलतापूर्ण क्षण पार गरेर बाहिर निस्कँदै छौं । गाइडले हामीलाई बाहिरै पर्खिरहेका छन् । यो ऐतिहासिक तथा धार्मिक भ्रमण र दृश्यावलोकनपछि हामी फेरि इजरायल नै फर्कंदै छौं । अघि आएको कार नै पर्खिरहेको छ हामीलाई ।
प्यालेस्टाइनको स्थानीय परिकार ‘सावरमा रोल’ सँग कोल्ड ड्रिङ्क्स पिएर कार चढ्यौं । बोर्डरसम्म आएपछि त्यस कारलाई बाईबाई गरेर इजरायल प्रवेश गर्यौं । छिर्दाको कडा सुरक्षा जाँच फेरि पार गरेर प्यालेस्टाइन छाड्दै इजरायल प्रवेश गर्यौं । त्यहाँबाट इजरायली कार चढेर बिहान बसेकै होटलमा फर्कियौं । इजरायली होटलमा मिठो खानपान गर्दै रमाउन थाल्यौं ।