आश्चर्यको यात्रा: समुद्रको बीचमा तैरँदाको आनन्द
डा. डीबी सुनुवार
संसारकै सबैभन्दा होचो भाग हो– ‘डेड सी’ अर्थात् ‘मृतसागर’ । यात्राका क्रममा यसपालि हामी यही डेड सीको भ्रमणमा छाैं ।
जोर्डनको अम्मानस्थित स्यान्डी प्यालेसको लबीमा बसेर रिसेप्सनकी म्यामलाई केही कुरा सोधिरहँदा मेरा आँखा भने पछाडि भित्तामा रहेको एउटा तस्बिरमा पुग्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत ‘बप्तिश्मल’ साइट जोर्डनको बेथानीमा पर्छ । जिसस क्राइस्टले पानीमा डुबेर ‘बप्तिश्मा’ लिएको ठाउँ हो ‘बप्तिश्मल साइट’ ।
जिसस क्राइस्ट जन्मनुभन्दा अघिका घटनाक्रम यसै ठाउँमा भएका हुन् भन्ने ऐतिहासिक तथ्यहरू समेत पाइन्छन् । यो थाहा पाउँदा मनमा कौतुहलता बढ्ने नै भयो । त्यो ठाउँमा कसरी पुग्ने ? कस्तो होला ? मनमा कौतुहलता छ ।
माउन्ट निबो हुँदैै ‘डेड सी’ सम्मको यात्रा तय भएको छ । जोर्डनको यो ठाउँमा मोशाको बूढेसकाल बितेको स्मृतिका रूपमा निबो पर्वतलाई लिइन्छ । संसारभरिका क्रिश्चियनहरूले यस ठाउँलाई ‘पवित्र भूमि’ का रूपमा लिन्छन् ।
निबो पर्वतमा यात्रा गर्दा वरिपरि सानातिना पहाडहरू देखिन्छन्/भेटिन्छन् । यिनै पाहाडमध्येको एउटा अग्लो पहाड हो निबो पर्वत । यसको दृश्य लोभलाग्दो छ । नागबेली परेको सानो बाटो छिचोल्दै माउन्ट निबोको उकालो उक्लँदा पर्यटकका गाडी लस्करै देखिन्छन् । जति–जति उकालो उक्लँदै गइन्छ, क्षितिज पारिका दृश्य त्यति धेरै फराकिलो रूपमा देखिन्छन् । यसैको दृश्यावलोकनमा छौं हामी ।
निबो पर्वतको शिखरमा पुगेर पार्किङ लाउन्जमा अन्य पर्यटकहरू झैं हामी पनि स्टप हुन्छौं । हाम्रा गाइड बडो फुर्तिला । खुरुरु दौडिएर बत्तिँदै उनले टिकट ल्याइहाले ।
अब हामी निबो पर्वतको द्वारमा छौं । प्रवेशद्वार बडो भव्य देखिन्छ । इन्ट्रान्स र एक्जिट अलग–अलग छन् । यो ठाउँबाट जोर्डन र इजरायलका प्रायः भूभाग देख्न सकिन्छ । मनोरम दृश्य हेर्न संसारका धेरै देशबाट लाखौं पर्यटकहरू हरेक वर्ष यहाँ आइपुग्छन् । समूह–समूहमा आ–आफ्नो भाषामा त्यहाँका ऐतिहासिकलगायतका पक्षहरूको विवरण बताइरहेका छन् गाइडले ।
मोज्याइक कलामा बनाइएका सबै वाल, सिलिङ र कलाकृतिहरू देख्दै भव्य र सुन्दर छन् । यहाँका ऐतिहासिक सङ्ग्रहालयमा रहेका विवरणहरू हेर्दा लाग्छ– महिनौं दिनमा पनि सकिँदैन यसको अध्ययन ।
यो सङ्ग्रहालयको नजिकै विशाल चेपल (चर्च) छ । यो चेपल मोशाको जीवनमा आधारित घटना विवरण समेटिएको स्मारक हो र यो जिसस जन्मनुभन्दा अगाडिको हो भनिन्छ । कति भव्य, कति शालिन, कति शान्त ! यसभित्र प्रवेश गर्ने जो–कोहीले पनि आनन्द तथा शान्तिको अनुभूति गर्छ । म पनि ध्यानमग्न छु । शान्त वातावरणमा पर्यटकको आवत–जावत भैरहेको देखिन्छ । कोही ध्यानमग्न भई प्रार्थना गरिरहका देखिन्छन् ।
पश्चिमी ढोकाबाट निस्कनेबित्तिकै काँस (एक प्रकारको धातु) बाट बनाइएको एउटा विशाल कलात्मक सर्पको स्तम्भ देखिन्छ । ‘क्रस’ आकृतिको धातुको कलात्मक स्तम्भ हो यो । यो आकृतिको लोगोमा आधारित भएर नै आधुनिक चिकित्सा विज्ञानको लोगो बनाइएको मानिन्छ ।
यसै स्तम्भको फेदमा उभिएर हात देखाउँदै सयौं पर्यटकहरूले तस्बिर खिँचिरहेका छन् । त्यसरी हात देखाउनुको अर्थ इजरायलतर्फ देखाएको सङ्केत गर्नु हो । यसको अर्थ हो कि इजरायल प्रतिज्ञा भूमि (प्रमिस ल्याण्ड) हो ।
स्तम्भको अवलोकनपछि हामी बप्तिश्मल साइटको अवलोकनतर्फ लाग्छौं । निबो पर्वतको स्तम्भबाट गाडीमा करिव आधा घन्टाको यात्रापछि बप्तिश्मल साइट पुगिन्छ/बप्तिश्मलस्थित टुरिज्म बोर्डमा पुगिन्छ । त्यसपछि टिकट लिएर कौतुहलताका साथ बप्तिश्मल साइटको दृश्यावलोकनका लागि अघि बढ्छौं ।
गाडीमा बप्तिश्मल गेटभित्र गुडिरहँदा बडो सुन्दर दृश्यहरू देखिन्छन् । लुम्बिनीभित्र छिरिसकेपछि नेपालमा देखिने जस्तै त्यहाँका दृश्यहरूले मलाई बडो आनन्दित बनाइरहेको छ ।
अब हामी बसबाट झरिसक्यौं । त्यहाँका ऐतिहासिक तथ्यहरूबारे गाइडले हामीलाई बताइरहेका छन् । ‘वास्तवमा यो जिसस क्राइस्ट पानीमा डुबेर बप्तिश्मा लिएको ठाउँ हो,’ उनले सुनाए– ‘जिसस क्राइस्ट डुबेर बप्तिश्मा लिएको नदीको नाम ‘यर्दन नदी’ हो ।’ त्यसैले क्रिश्चियन धर्मावलम्बीहरू यो नदीमा डुब्न आइपुग्ने गर्छन्; जसरी हिन्दू धर्मावलम्बीहरू शालीनदी, गङ्गा आदिमा नुहाउन जाने प्रचलन छ ।
नर्वे, फिलिपिन्स, ताइवान, रसियाजस्ता मुलुकका सयौं व्यक्तिहरू डुब्दै निस्कँदै गरेको देखिन्छ । यो आनन्दमय अवसर हामीले पनि छुटाएनौं । नदी पारिपट्टि इजरायल देखिन्छ । पारि किनारामा पनि मानिसहरू डुब्दै निस्कँदै गरेको देखिँदैछ ।
यर्दन नदी बग्दै–बग्दै मृतसागर (डेड सी) सँग मिल्न पुगेको छ । पृथ्वीको सबैभन्दा अग्लो ठाउँ सगरमाथा हो भने सबैभन्दा होचो भाग डेड सी हो । डेड सी समुद्री सतहबाट करिव चार सय मिटर गहिराइमा छ । यस्तो नदीको अवलोकन गर्ने कौतुहलता हामीमा पनि हुने नै भयो ।
डेड सीतिरै हाम्रो यात्रा अगाडि बढ्छ । बप्तिश्मल साइटबाट करिव आधा घन्टाको बस यात्रामा डेड सी पुगिन्छ । डेड सीमा पुग्यौं । मानिसहरू नदीको बीच भागमा तैरँदै नुहाएको देख्दा अच्चम लाग्यो । हामी पनि समुद्रको बीचमा पुगेर नुहाउने तर्खरमा छौं । नुहाउन नदीको किनाराबाट सुरु गरियो । सुरुमा त अलि–अलि डर पनि लागेको छ । तर, न नदीमा डुब्ने सम्भावना छ, न त डुबिन्छ नै । नदीको बीचमा पुगेपछि लाग्यो– आहा ! न डुब्ने डर, न त चिन्ता नै । क्या आनन्द !
कोही–कोही भने नदीको बीचमा तैरँदै फोटो खिँचिरहेका देखिए त कोही पत्रिका पढिरहेका । फोटो त हामीले पनि खिँच्नैपर्यो । नदीको बीचमा पुगेर पनि फोटो खिँच्न किन छुटाउनु ! त्यस क्षणको सदुपयोग गर्दैछौं हामी ।
समुद्रको बीच भागसम्म पुगेर पानीमै तैरेर नुहाउँदाको आनन्द नै बेग्लै छ । यो सागरमा अन्य सागरमा भन्दा पाँच गुणा बढी मिनरल्स पाइन्छ र भुमध्यसागरमा भन्दा दस गुणा बढी नुनको मात्रा छ । यसैकारण नै समुद्रको बीचमा पुग्दा पनि मानिसहरू तैरन्छन् र डुब्दैनन् । यो नदीको अर्को विशेषता हो– यहाँ कुनै जीव पाइँदैनन् ।
मृत सागरको माटोको पनि त्यत्तिकै महत्व छ । प्राकृतिक चिकित्सकीय हिसाबले पनि यहाँको माटो बडो लाभदायक मानिन्छ । यहाँको माटोको लेप छालामा लगाउँदा छालामा भएका विकार तत्व बाहिर जान्छन् र छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले छालाको चमक बढाउन सहयोग पुर्याउँछ ।
डेड सीको माटो (मिनरल मड) लाभदायक भएकाले नै संसारका प्रसिद्ध कस्मेटिक्स ब्राण्डहरूले समेत त्यसलाई प्रयोग गर्ने गरेको पाइन्छ । क्या आनन्द ! डेड सीको मज्जा !!