‘मनको आँखा’ ले देख्ने पवनको कथा

शङ्कर क्षेत्री

पवन घिमिरे । उनी ललितपुरको महालक्ष्मीस्थानमा बस्छन् । साँघुरो सडकको छेउमा उनको साढे तीनतले घर छ । पवनकी श्रीमती शीतल घिमिरे हुन् । उनीहरूका दुई छोरी र एक छोरा छन् । १४ वर्षकी प्रिसल, ११ वर्षकी ईशल र छोरा सुहान्स २ वर्षका भए । सुन्दर परिवार, चटक्कको घर ।

पवन नेपाली सेनाका मेजर (सेनानी) हुन् । उनले जीवनमा न शीतललाई देखेका छन् न त प्रिसल र ईशललाई नै । उनले उनीहरूलाई देखेका छन् त केवल ‘मनका आँखा’ ले अनि ‘कल्पना’ ले मात्र ।

ललितपुरकै लेलेमा २०३५ सालमा जन्म भएको हो पवनको । शिक्षा लिने अवसर भने उनले राम्रै पाए । उनलाई नेपाली सेनामा जागिर खाने औधि रुचि थियो । उनले २०५७ सालमा अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरे । कर्मनिष्ठ पवन सेकेन्ड लेफ्टिनेन्ट, लेफ्टिनेन्ट, क्याप्टेन हुँदै अहिले मेजर तहमा कार्यरत छन् ।

सेनामा प्रवेश गरेको ३ वर्षपछि पवनको जीवनमा अकल्पनीय बज्रपात भयो । बढुवा भएर उनी लेफ्टिनेन्ट भइसकेका थिए । २०६० साउनको कुरा हो । कालिकोटको जुविथा भन्ने ठाउँमा खटिएकाले त्यस दिन उनी त्यतै हिँडेका थिए । दैलेखको भवानीबक्स गणबाट खटिएको उनको टोली कालिकोट–सुर्खेत–जुम्ला सडक खण्डको ट्रयाक खोल्ने कामको सुरक्षाका लागि हिँडेको थियो । सो टोली ड्युटी सकेर कालिकोटको जुविथा फर्कंदै थियो । साँघुरो र घुमाउरो बाटामा हिँडिरहेको सेनाको टुकडीको बीचतिर थिए पवन ।

ड्याङ्ग पड्कियो । त्यो आवाजसँगै तत्कालीन माओवादीले थापेको एम्बुसमा परे पवन । सो घटनामा गम्भीर घाइते हुनेमा उनी एक्लै थिए । पवन सम्झन्छन्– ‘तर, त्यसबेला माओवादी–सरकारबीच युद्धविराम कायम थियो ।’

युद्धविरामको अवधि भएकाले एम्बुसमा परिएला भन्ने न सेनाले सोचेको थियो न त पवनले नै । जे नहुनु थियो, पवनको जीवनमा भयो त्यही । निमेषभरमै उनका लागि संसारै अन्धकार भयो ।

ज्योति गुमेको जीवन

पवनका साथीहरूले तुरुन्तै उद्धार गरिहाले । घटना घटेको ४५ मिनेटमै उनलाई उद्धार गर्न हेलिकप्टर पुग्यो । पवनलाई नेपालगञ्ज पुर्‍याइयो । लगत्तै काठमाडौंको छाउनीस्थित आर्मी हस्पिटल ल्याइयो । उनलाई भेट्न पवनका बुबा–आमा छाउनी पुगे । परिवार तथा आफन्तजन भावविह्वल भए ।

पवनका साथी र नेपाली सेनाले उच्च मनोबलका लागि उनलाई साथ–सहयोग गरिरहे । छाउनी अस्पतालले शिक्षण अस्पतालमा ‘रेफर’ गर्‍यो । शिक्षण अस्पतालमा उनका आँखाको शल्यक्रिया गरियो । उपचारका अनेकौं प्रयास गर्दा पनि उनी आँखा देख्न सक्ने भएनन् ।

पवनलाई भने आफू सपनाको संसारमा डुबिरहेको महसुस हुन्थ्यो । आफू निद्रामा छु जस्तो उनलाई लाग्थ्यो । निद्रा खुलेपछि त हेर्छु भनी सोच्थे । आँखाको उपचारका लागि उनलाई भारत पनि लगियो । अहँ, कुनै पनि चिकित्सकले पवनलाई आँखा देख्ने बनाउन सकेनन् । डाक्टरहरू निष्कर्षमा पुगे– अब उनलाई आँखा देख्ने बनाउन सकिँदैन; उनले आँखा देख्न सक्दैनन् । सदाका लागि नै गुम्यो उनका आँखाको ज्योति । अब पवनले कहिल्यै बाहिरी संसार देख्न नसक्ने भए ।
उनी र परिवारजन निस्सार भएर नेपाल फर्किए । सदाका लागि नै गुम्यो पवनका आँखाको ज्योति । सैन्यजीवनको उत्साहमा पनि विश्राम लाग्ने भयो ।

तर, जीवन बाँच्यो । बुबा–आमाले छोरालाई देखिरहन पाए तर पवनले भने ‘मनका आँखा’ ले मात्रै अरुलाई देखे । त्यसपछि पवन स्वर सुनेरै मात्र बुबा–आमालाई चिन्ने भए । आफन्त र साथीभाइलगायतलाई पनि मनका आँखाले मात्रै देख्ने भए ।

सपनाको जीवन

संसारै अन्धकार भएको महसुस हुन थाल्यो पवनलाई । सेनामा प्रवेश गर्दा देखेका सपना चकनाचुर भएको महसुस गर्न थाले । ‘दृष्टि गुमेपछि मलाई त जीवन पनि अब यत्ति नै हो जस्तो लाग्थ्यो,’ पवनले सुनाए– ‘निद्रामा नै छु जस्तो लागिरहन्थ्यो ।’

निराश भएका उनी मन बुझाउन हर उपाय अपनाउँथे । आफूले आँखा नदेखेको होइन, लोडसेडिङ भएको कल्पना गर्दै मन बुझाउँथे उनी । तर, उनको आँखाको ज्योतिको ‘बिजुली बत्ती’ भने कहिल्यै आएन । ‘लोडसेडिङ हट्छ, त्यसपछि त देख्न सक्छु,’ सधैं सोचिरहन्थे– ‘अहिले रातको निद्रामा छु, उज्यालो भएपछि निद्रा खुल्छ अनि देख्छु ।’

कयौं पटक त ‘उज्यालो भयो’ भन्दै उठेर चिच्याउन समेत थाल्थे । ‘उज्यालो भयो’ भन्दै उनी कयौं पटक त अत्तालिँदै पनि उठ्थे । तर, झ्याल–ढोका, भित्ता जतासुकै ठोक्किन्थे । तर, उज्यालोले उनलाई साथ दिँदैनथ्यो, कहीं–केही देख्न सक्दैनथे ।

उनी उज्यालोको पर्खाइमा बसिरहे । तर, सधैं नै अन्धकार तथा निराशाको भुमरीमै डुबिरहे । आफ्नो जीवन नै सकिएजस्तो लाग्थ्यो उनलाई । फेरि पनि सेनामा प्रवेश गर्दाको उत्साहमै डुब्थे; बढुवा हुँदाको क्षण सम्झन्थे । सिनियरले दिएको प्रेरणा र जुनियरलाई आफूले गरेको कमान्ड सम्झन्थे । राष्ट्रको सेवा गर्ने सपनासहित अगाडि बढिरहेको सम्झनामै दिन–रात बितिरहे ।

सेनाले जगायो आशाको दियो

भनिन्छ, ‘निराशापछि आशाको सुरुआत हुन्छ, अन्धकारपछि उज्यालोको सुरुआत हुन्छ ।’ अन्धकारबीच धमिरो दियो बल्दा पनि आशाको पालुवा पलाउँछ ।

पवनको जीवनमा पनि त्यस्तै भयो । उनको जीवनमा पनि आशाको पालुवा पलाउन थाल्यो । उनको जीवन पनि अन्धकार र निराशामा मात्र बितेन । उत्साहका पालुवा पलाउन थाले ।

उनका साथमा धेरै थिए; परिवार, साथीभाइ, इष्टमित्र थिए । उनको साथमा सबैभन्दा बढी त नेपाली सेना थियो र छ । दृष्टि गुमेपछि त सेनाले उनलाई झन् बढी साथ दियो । आदेशभित्र सेना स्नेहमा पनि चल्दोरहेछ भन्ने महसुस उनले गरे ।

छ वर्षपछि उनी छाउनीस्थित ब्यारेक पुगे । एक सहयोगीले मोटरसाइकल चढाएर उनलाई ब्यारेक छिराए । ब्यारेक छिर्नासाथ उनको भव्य स्वागत भयो । धेरैले उत्सुकतासाथ उनीसँग घेटघाट गरे । साथमा सकल दर्जा भए पनि जिम्मेवारी त पाइँदैन होला भन्ने सोचेका थिए उनले । तर, त्यस्तो भएन । बरु ठीक उल्टो पो भयो । उनलाई झन् बढी जिम्मेवारी दिइयो । पदोन्नति भएर उनी सैनिक शिक्षण विभागको मेजर बने ।

२०६६ सालपछि उनी फेरि ब्यारेक जान थालेका छन् । त्यसपछि पवनको जीवन अझ ऊर्जाशील बन्यो । मनमा फेरि उत्साहका पालुवा पलाए । ‘आँखाको ज्योति गुम्दैमा के भयो र ! मेरो साथमा सिङ्गो नेपाली सेना छँदैछ’ भन्ने भाव जागृत भयो ।

क्रिकेटमा भव्य सफलता

‘आँखाको ज्योति गुमे पनि जीवनको ज्योति बलिरहे खासै फरक पर्दैन’ भन्ने महसुस गर्न थाले उनले । समाजशास्त्रमा एमए र सैन्य–विज्ञानमा स्नातक गरेका उनमा बौद्धिक क्षमताको कमी थिएन । आँखाको ज्योति गुम्दा ठक्कर खाए पनि जीवनको ज्योति उज्यालो बनाएर अघि बढ्ने अठोट लिए ।

दृष्टिविहीन भएपछि नै पवनले कम्प्युटर पनि चलाउन सिके । दृष्टिविहीनलाई सहयोग गर्ने विभिन्न सफ्टवेयर चलाउन जाने । दैनिक जीवनमा फर्कँदै गए । सेनामा समाहित त भए नै । अहिले पनि पवन शारीरिक तथा मानसिकरूपमा पहिलेको तुलनामा खासै कम छैनन् ।

अहिले उनी सेनाभित्रका अपाङ्गता भएकाहरूलाई खेल सिकाइरहेका छन् । दृष्टि नगुम्दा उनी क्रिकेटमा खासै चासो दिँदैनथे । दृष्टि गुमेपछि नै खेल्न सिके । रुचि बढ्दै गयो । पवनको रुचिलाई दृष्टिगत गर्दै सेनाले उनलाई खेलकुद तथा शारीरिक केन्द्रकै जिम्मेवारी दियो । क्रिकेटमा अगाडि बढ्न थाले ।

पाकिस्तान पुगेर समेत क्रिकेटको ट्रेनिङ लिने मौका मिल्यो उनलाई । २०६३ मा नेपालमा पहिलोपटक दृष्टिविहीन क्रिकेट टुर्नामेन्ट आयोजना भयो । पवनले नै त्यस टुर्नामेन्टको अगुवाइ गरे । उनले काठमाडौं, भक्तपुर र ललितपुरमा दृष्टिविहीन क्रिकेट क्लब स्थापनाको समेत अगुवाइ गरे । अहिले यो क्लब बीसभन्दा बढी जिल्लामा विस्तारित भैसकेको पवन सुनाउँछन् । उनका अनुसार ती क्लबमा पाँच सयभन्दा बढी दृष्टिविहीन खेलाडीले क्रिकेट खेलिरहेका छन् । एक सय पचासभन्दा बढि दृष्टिविहीन महिला खेलाडी उत्पादन भएको उनी सुनाउँछन् । उनकै अगुवाइमा दृष्टिविहीन क्रिकेट सङ्घको पनि स्थापना भयो । अहिले उनी नै सो सङ्घका अध्यक्ष छन् । उनी दृष्टिविहीन कल्याण संघका महासचिव पनि छन् ।

यस्ता उपलब्धिले पवनलाई निकै उत्साहित तुल्याएको छ । विश्व दृष्टिविहीन क्रिकेट काउन्सिलको म्याच रेफ्री हुनु उनको अर्को सफलता हो । सन् २०१८ मा आयोजित पाँचौं विश्व दृष्टिविहीन क्रिकेटमा उनले रेफ्रीको भूमिका निर्वाह गरे । भारत र पाकिस्तानबीचको खेलमा उनी रेफ्री थिए ।

पवनले विश्व दृष्टिविहीन क्रिकेट सङ्घको उपाध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन् । दृष्टिविहीनसँग सम्बन्धित दर्जनजति संस्था र कार्यक्रममा उनले नेतृत्वदायी जिम्मेवारी सम्हालिसके । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दुई दर्जनभन्दा बढी ट्रेनिङमा उनी सहभागी भैसके; र, कयौं पटक पुरष्कृत पनि भए ।

उनी कार्यक्रमकै सिलसिलामा सातभन्दा बढी मुलुकमा पुगिसके । केही मुलुकमा त शीतललाई पनि लिएर गए । दृष्टिविहीन भएपछि क्रिकेटकै सिलसिलामा उनी अमेरिका, बेलायत, पाकिस्तान, भारत, युएई, मलेसिया, कुबेतलगायतका मुलुक पुगिसकेका छन् ।

पवनको सहजताका लागि सहयोगीका रूपमा सेनाले एक सिपाही खटाइदिएको छ । उनी सैनिक अपाङ्गता खेलकुदको रिपोर्टिङ तथा व्यवस्थापनलगायतमा समेत कार्यरत छन् ।

संयोगको भेट: श्रीमती र क्रिकेट !

पवनको रोचक कथा छ । क्रिकेट खेल्न थालेकै वर्ष २०६३ मा उनको विवाह भयो । ‘श्रीमती र क्रिकेट सँगै भित्रिएका हुन्’– ठट्टा गर्दै उनी भन्छन् । पवनको सफलताका पछाडि श्रीमती शीतलको अहम् भूमिका नहुने त कुरै भएन ।

‘विवाह दुई व्यक्तिका बीच होइन, दुईवटा जीवनका बीचमा पो हुन्छ’– दार्शनिक शैलीको जवाफ दिँदै मुस्कुराएर शीतलले भनिन् । उनीहरूबीच विवाहको प्रसङ्ग पनि बडो रोचक छ । एक दिन अस्पतालमा पवनकी आमा र शीतलकी ठूलीआमाबीच भेट भएछ । अस्पतालको लाइनमा बसिरहँदा एकापसमा अपरिचित उनीहरूबीच विवाहको प्रसङ्ग चलेछ । घर पुगेर शीतलकी ठूलीआमाले पवनका बारेमा कुरा गरिछन् । ठट्यौलीमै शीतलले ‘ऊसँग म विवाह गर्छु’ भनिछन् ।
त्यतिखेर फोनको सुविधा उति सहज थिएन । पवनको घर खोज्न शीतलकी ठूलीआमाले एक जनालाई पठाइछन् । घर पत्ता लाग्यो, विवाहको कुरा अघि बढ्दै गयो । भृकुटीमण्डपमा पहिलो पटक पवन र शीतलको भेट भएछ । शीतल त्यसो त विवाहअघि पनि अनेकौं दृष्टिविहीनलाई सहयोग गर्थिन् । आफूले सुरुमा त चिनजानकै लागि मात्र पवनसँग भेट गरेको उनले सुनाइन् ।

दृष्टिविहीन आफूसँग विवाह गर्न शीतल सहमत भएको कुरा सुन्दा पवनलाई भने अनौठो लागेछ । त्यसपछि उनले पनि शीतलका बारेमा बुझ्न थालेछन् । एक वर्ष त उनीहरूले एक–अर्कालाई बुझ्नमै खर्चिए । फोनमा कुरा गर्दै गरे । पवन निकै हिम्मतिला र ट्यालेन्ट रहेछन् भन्ने शीतललाई लाग्यो । एकापसमा भावना मिल्यो; दुवैले एकार्कालाई मन पराए । उनीहरू विवाह गर्ने निर्णयमा पुगे । तर, दृष्टिविहीन पवनसँग छोरीले विवाह गर्न लागेकामा शीतलका बुबा–आमा भने चिन्तित भए । तैपनि आफूहरू छोरीको इच्छाविपरीत नजाने निर्णय उनीहरूले गरे ।

दुवै पक्ष विवाहको तयारीमा जुट्यो । माघको चिसोमा महालक्ष्मीस्थानस्थित घरबाट बेहुला बनेर दौरा–सुरुवाल, ढाका टोपी र कालो चस्मामा ठाँटिएर आर्मीको बग्गी चढी बेहुली लिन लैनचौरस्थित पार्टीप्यालेस पुगे पवन ।

बेहुली शीतल पनि सिँगारिएर त्यहीं पुगेकी थिइन् । त्यस दिन उनलाई भने अलिकति तनाव भएछ । ‘अन्धोसँग विवाह गरी’ भनेर धेरैले कुरा काटेछन् । विवाह सम्पन्न भयो; पवनले शीतललाई भित्र्याए । पवन दृष्टिविहीन छन् भन्ने आफूलाई महसुस नै नभएको शीतल बताउँछिन् । शीतल होची छन् भन्ने आवाजबाटै आफूले थाहा पाएको पवन बताउँछन् ।

पवनसँग विवाह गर्दा २४ वर्षकी थिइन् शीतल सिल्वाल । १२ कक्षा अध्ययन गरेकी शीतल पवन र दुई छोरीसँग दङ्ग छिन् । बुबाले आँखा देख्नुहुन्छ जस्तो लागेर छोरीहरूले कहिलेकहीं पवनसँग होमवर्कबारे सोध्दारहेछन् । त्यसबेला भने पवनलाई निकै पीडा हुँदोरहेछ । ‘कहिलेकहीं यो होमवर्क कसरी गर्ने भनेर छोरीहरूले सोध्छन्,’ पवनले भने– ‘यो पिक्चर कसरी बनाउने भनेर पनि सोध्छन् र टिभीमा आएका कुराबारे के हो भनेर सोध्छन्, त्यतिबेला मन कटक्क हुन्छ ।’
पवन घरधन्दा समेत आफैं गर्छन् । शीतल बिरामी हुँदा र उनले नभ्याउँदा खाना पनि पकाउँछन् । छोरीहरूलाई खानपान गराउँछन् । अफिसका डकुमेन्ट आफैं बनाउँछन् । कम्युटर तथा फेसबुक चलाउँछन्, प्रपोजल बनाउँछन् । उनलाई घरखर्चको पनि कुनै समस्या छैन ।

पवनका बुबा˗आमाको निधन भइसकेको छ तापनि पवनलाई आफू दृष्टिविहीन हुनुभन्दा अघिका बुबा–आमा अहिले पनि उस्तै छन् जस्तो लाग्छ ।

सफलतामा दङ्ग

सङ्घर्षशील जीवनमा केही पाउन केही गुमाउनुपर्ने रहेछ भन्ने अनुभूति हुन्छ उनलाई ।

दृष्टिविहीन भएपछि नै आफूलाई धेरैले चिनेको महसुस हुन्छ उनलाई । दृष्टिविहीनताले नै आफूलाई चिनाएकामा उनी गौरवान्वित छन् । आफूले पनि संसार देखेको महसुस गर्छन् उनी ।

जीवनमा सफलता पाएकामा पवन दङ्ग छन् । दृष्टिविहीनताका साथै क्रिकेटले आफूलाई परिचय दिएको उनको अनुभव छ । पवनको सफलतामा शीतल पनि दङ्ग छिन् ।

पवनले मनका आँखाले नै संसार देखेका छन्, मनका आँखाले नै जमेका छन् । उनले बारम्बार दोहोर्‍याउने वाक्य हो– ‘देख्ने पवनभन्दा नदेख्ने पवन नै ठीक छ ।’