‘मुमताज महल’ अर्थात् ताजमहल

डा. डीबी सुनुवार

घामको जवानी बढ्दै जाने क्रममा छ । देखिरहेको छु,– अगाडिको बगैंचाको हरियोमा घामको सुनौलो रङ्ग लतपतिएको छ । शान्तिको नजिक पुग्ने उपक्रममा तल्लीन छु । बाहिरी वातावरण शान्त छ । जुरेलीको चिरबिरले बेला–बेला सङ्गीत सुनाइरहेका छन् । पक्षीको साङ्गीतिक धुनमा म आनन्दित छु ।

‘हामी भारतको राजधानी सहर नयाँदिल्ली, त्यसपछि राजस्थान, जयपुर हुँदै ताजमहल घुमेर फेरि नयाँदिल्लीसम्म पुगी भ्रमणको समापन गर्ने क्रममा छौं । म जति उत्सुक छु, त्यत्तिकै उमङ्गले भुँइमा छैनन् मेरा खुट्टा । विश्व–आश्चर्यमध्येको एक, भारतस्थित ताजमहलको यात्रामा छौं हामी ।

हिमाललाई बादलका थुम्काहरूले छोपेको छ, अनावरण गर्न बाँकी रहेको लाटो सालिकजस्तै । लाटा हिमालहरू, विचरा बोल्न सक्दैनन् ! त्यसैमाथि झन् छोपिए सेतो रेशमी पर्दाहरूले । जहाजले पूर्ण उचाइ लिइसकेको छ । टेलिभिजन स्क्रिनमा गन्तव्य, दिशा, दूरी र समयको जानकारी दिइएको छ । नास्ताभन्दा बढी मुस्कान छरिरहेका छन् एयरहोस्टेसहरू !

एकछिनसम्म त मुस्कानकै नास्ता–पानीमा डुबेछु भुसुक्कै । खराब वातावरणका कारण जहाज हल्लँदा पो चाल पाउँछु, श्रीमती अनिता पनि साथै छिन्; कालो अनुहार बनाएर डराएको मुद्रामा मलाई हेरिरहेकी । वातावरण र अनुहार सँगसँगै उज्याला भएर आए एकछिनपछि । यस्तै उज्यालो अनि उत्सवमय प्रेमिल यात्राको पूर्वानुमान गर्दैछु म । र, मनमनै ताजमहलमा पुगेर सबैका लागि प्रेम र दीर्घायुका कामना गरिरहेको छु ।

प्रेम र मायामा के फरक छ ? एउटा व्यावसायिक तालिमका क्रममा एकजना भावुक भुक्तभोगीले मलाई सोधेको प्रश्न हो यो । अंग्रेजीमा ‘लभ’ भनेपछि अर्थ खुल्छ तर नेपालीमा भाषिकरूपले कुनै दुई व्यक्तिबीचको ‘अनकन्डिसनल’ सम्बन्ध ‘प्रेम’ हो र ‘कन्डिसनल’ सम्बन्ध ‘माया’ हो भन्ने व्यक्तिगत मत मैले राख्दा सहजरूपमै तिनले स्वीकारेका थिए ।

विज्ञहरूको पुष्ट्याइँको सहयोगको अपेक्षा गर्दागर्दै पनि मायाभन्दा प्रेमको भाव विशाल भए झैं लाग्छ मलाई । शारजहाँले ताजमहल बनाएर गरिब प्रेमीहरूका प्रेमको धज्जी उडाए भनेका छन् एकजना कविले कुनै ठाउँमा । राजा–महाराजाले देखाएको यो उदाहरण सर्वसाधारणका लागि भड्काव मात्र हो । यसबारे विवादास्पद विविध कुराको चर्चा भए पनि ताजमहललाई आजसम्म प्रेमको प्रतीककै रूपमा स्वीकारिएको छ ।

अध्ययनको क्रममा म दक्षिण भारतस्थित त्रिभिन्दम हुँदै कोलम्बोसम्म पनि पुगेको छु । कोलम्बो–चेन्नई यात्राका क्रममा त्यहाँको गर्मीले शिरदेखि पाउसम्म पसिनाको भल बगेको स्मरण पनि मेरो मथिङ्गलमा अझैसम्म ताजै छ । गोवास्थित समुद्री किनारामा सनबाथसहित आयुर्वेदिक मालिस गर्ने शिला अनि बोट–प्याराग्लाइडबाट माथि पुगेर सुन्दर सहरलाई आँखामा थपक्क राखेको, ऐतिहासिक किल्ला, चर्च, पोर्चुगिज सङ्ग्राहलय अनि ड्युटी फ्री मदिराको स्मृति कम रोमाञ्चक छैन ।

मुम्बई, पुना, गुल्लेडगढ, बङ्गलुरू, त्रिभिन्दम, चेन्नई, उत्तराखण्डभन्दा धेरै भिन्न लाग्यो मलाई दक्षिणी भारत । उत्तरमा रामलाई पुज्छन् भने दक्षिणमा रावणलाई । उत्तरमा हिन्दीमोह व्यापक छ भने दक्षिणमा छैन; मातृभाषापछि अङ्ग्रेजी बोल्छन् । उत्तरमा अध्यात्मको चरम प्रवद्र्धन गरिएको छ भने दक्षिणमा भौतिक विकास देखिन्छ ।

यही भ्रमणका क्रममा भारतका विभिन्न सहरहरूका साथै प्रेमको प्रतीक ताजमहल पनि हेर्ने कार्यक्रम छ । हाम्रो भ्रमण–समूहमा विभिन्न देशका मानिस रहेकाले यात्राको मजा नै अलग छ । करिव पन्ध्र मिनेटको स्थानीय विशेष मोटरको यात्रापछि ढोकानजिक पुग्छौं । समूहका सबैको उपस्थितिपछि हामी लामो ताँतीमा जोडिँदै मूलढोकामै पुग्छौं ।

ताजमहलभित्र जान सजिलो छैन । पर्यटकले कडा सुरक्षा व्यवस्थापन पार गर्दै विभिन्न हकरहरूको ठगी समेत सामना गर्नुपर्छ । ताजमहलभित्र क्यामेरा प्रयोग गर्ने अनुमति छैन । क्यामेरा प्रयोग गरिएको पाइए विशेष जरिवाना तिर्नुपर्ने व्यवस्था छ । तोकिएको ठाउँमा, शुल्क तिरेर नै क्यामेरा राखिदिने व्यवस्था छ । हामी बगैंचाको पुच्छरको मुखबाट पस्ने गरी ढोकाबाट छिर्यौं ।

पर, क्षितिजमा चित्रमा देखिएजस्तो, ताजमहलको आकृतिलाई ध्यान नदिने हो भने प्रत्येक दिन हुने यहाँको भीड देख्दा वर्षमा एक पटक लाग्ने भव्य मेलाको दृश्य झैं लाग्छ । ताजमहलको कलाको प्रशङ्सा नगरी रहन सकिँदैन । त्यहीं बसेर नाङ्गो आँखाले छुँदा त्यसको भव्यताको पनि आदर गर्न मन लाग्छ । शारजहाँबाट प्रेमको अर्थ जान्ने कोशिस गरें; प्रेमको भाव बुझ्ने प्रयास गरें । मैले गरेको प्रेमसँग उनको प्रेमलाई दाँज्दै सिङ्गमरमरका सेता रङ्गका चौडा मार्बलमा, खोलाको किनारबाट हुइँकँदै आएको चिसो बतासलाई लामो श्वासले स्वीकारें । जिन्दगीभरि प्रेम गर्ने बाचा–कसम खानका लागि नयाँ प्रेमी–प्रेमिकाहरू पनि यहाँ आउँदा रहेछन् । वैवाहिक जीवनमा गाँसिएकाहरू प्रेम अझै गाढा हुन्छ भन्ने विश्वास राखेर पनि यहाँको भ्रमण र अवलोकनमा आउँदा रहेछन् ।

शारजहाँको आश्चर्यजनक यो कामलाई मैले पनि श्रद्धाका साथ सलाम गरें अनि प्रेममहल बनाएँ मनमनै । खुब हेरें आफूले बनाएको प्रेममहललाई । अठार हजार मानिसले, अठार वर्ष लगाएर बनाएको यस महलका एक–एक भागको निरीक्षण गरें । लामबद्ध भएर ताजमहललाई नजर गर्न तम्सेका जोडीहरूमाथि मेरो दृष्टि स्थिर भयो । व्यवस्थित गरी राखिएका बेन्चमा बसेर आ–आफ्नै प्रेमिल कुरामा मस्त भएकाहरूलाई हेरिरहें । हाम्रो समूहको झन्डा हरियो बगैंचामा हल्लिइरहेको रहेछ, अचानक देखें र झसङ्ग भएँ । प्रेम–सम्मोहनबाट बाहिर निस्कनु नै बेस भन्ने ठानी बगैंचातिर फालहानें ।

साथीहरूको समूहमा पुगेपछि त्यहाँबाट बाहिर निस्कने ढोकाको एउटा कुनाबाट एकहोरो हेरिरहें । पवित्र प्रेमको प्रतीकका रूपमा ताजमहल हजारौं वर्षदेखि उभिइरहेको छ । यसले मलाई भनिरहेछ– प्रेम गर, प्रेमको विकास गर, प्रेमको दियो जलाऊ, प्रेम सिकाऊ, प्रेम फिँजाऊ, प्रेम बाँड, प्रेम छर, प्रेमलाई मलजल गर, प्रेम फुलाऊ, प्रेम फलाऊ !

ताजमहलले अनवरत संसारभरका मानिसलाई आकर्षण गरी नै रहेको छ । लाग्छ, संसारमा प्रेम र बिछोडका नै धेरै घटना घटेका छन् । त्यसबेलाको दुःखदायी बिछोडका घटनाको सम्झनास्वरूप निर्माण गरिएको भावुक शारजाहाँको काम (ताजमहल) ले संसारका प्रेम–जोडीहरूलाई निरन्तर पवित्र प्रेम सिकाइरहेको छ ।

मनमोहक, चम्किलो र यामानको, कलात्मक र मस्जिद शैलीमा तयार पारिएको सिङ्गमरमरद्वारा ढाकिएको ताजमहलको भव्यतामा धेरै बेरसम्म नतमस्तक भई नै रहें । भित्र मुमताजको पवित्र चिहान छ, जहाँ पुग्नका लागि लामो लाइन बस्नुपर्छ ।

भावुक शारजाहाँले देखेको अभूतपूर्व सपनाकै प्रतिफलस्वरूप यसको निर्माण भएको भन्न मन पराउँछु म । मन त्यत्तिकै पुलकित भएर आउँछ । संसारमा सबैले पवित्र प्रेमको सुगन्ध फैलाउने हो भने जगत् नै ‘स्वर्ग’ हुने थियो । हरेक आगन्तुकलाई ताजमहलको सुन्दरताले आकर्षित मात्र गर्दैन, आश्चर्यमा समेत पार्छ । जेहोस्, यस्तो आश्चर्ययुक्त संरचना निर्माणको सपना देख्ने र निर्माण गर्ने योजनाकार र कलाकारलाई मनमनै श्रद्धा चढाउँछु ।