यौनमा पेशाको प्रभाव

प्रा. डा. दिनेश बाँस्तोला

यौनेच्छा हुँदाहुँदै यौनिकतालाई तिरस्कार गरेर आफूलाई यौन क्रियाकलापबाट टाढा राखिएको खण्डमा स्वाभाविकरूपमा वैवाहिक तथा गृहस्थ जीवनबाट टाढिनुपर्ने स्थिति सिर्जना हुन सक्छ । पेशाअनुसार यौन क्रियाकलाप या यौन अभ्यास फरक हुन्छ । यौन जोडीसँगको आत्मीयता, सोच, अभ्यास, समय, स्वभावका साथै व्यक्तित्वले पनि यौन क्रियाकलाप र अभ्यासमा प्रभाव पारेको हुन्छ । आय–आर्जनले पनि यौनमा प्रभाव पार्ने गरेको पाइन्छ ।

यस आधारमा हेर्ने हो भने कृषि पेशा अँगाल्नेहरू अरु पेशाका व्यक्तिहरूको तुलनामा यौनको मजा वा आनन्द बढी नै लिनेमा पर्दछन् । उनीहरू यौनस्पर्श, यौनक्रीडा, यौन क्रियाकलाप र यौनानन्दबाट आफ्नो थकान भुल्छन् । यो पेशा अँगालेकाहरूले गृहस्थ जीवनको वास्तविकता र परिणामका सम्बन्धमा राम्रो ख्याल गर्नु नै यौनानन्द लिन सक्नुको मुख्य कारण हो ।

एउटा कृषकलाई अन्न बालीको बिऊ भण्डारण गर्ने, रोप्ने, उमार्ने, हुर्काउने, बढाउने तथा आर्जित अन्नको व्यवस्थापन गर्नेबारे समग्र ज्ञान हुन्छ । सोही कारण कृषकले प्रकृतिको जीवनचक्र बुझेको हुन्छ । त्यसैले कृषकमा यौन र यौनजीवन व्यवस्थापनसम्बन्धी कलाको पनि राम्रो ज्ञान हुन्छ । कृषि पेशा अँगालेकाहरूले विभिन्न जनावर तथा पशुपक्षीको यौनकलाका बारेमा समेत राम्रै ज्ञान लिएका हुन्छन् ।

कृषि पेशा र गृहस्थी जीवन तथा परिवार एकापसमा अन्तर्सम्बन्धित हुन्छन्; जसमा यौनको सवाल जोडिने नै भयो । सामान्यतः निर्वाहमुखी कृषि पेशा अँगालेकाहरूमा घाटा–नाफाको हिसाबकिताब हुँदैन । कृषि पेशा अँगाल्नेहरूमा जीवन–जगत् र यथार्थताको ज्ञान हुन्छ । यो पेशा अँगालेकाहरूमा प्रकृतिको बारेमा पनि राम्रो ज्ञान हुन्छ, जसका कारण योजना तर्जुमा सहज हुन्छ । अतः सहरमा बसेर ‘आधुनिक’ पेशा अँगालेकाहरूको तुलनामा प्रकृतिसँग एकाकार भएर कृषि पेशा गर्नेहरूको यौनजीवन सुखमय हुन्छ ।

कृषि पेशा अँगाल्नेहरूको सामूहिक खेती हुन्छ । गोठालो र मेलापातमा जमघट हुन्छ । मेलापात तथा गोठालो जाँदा यौनका बारेमा पनि एक–अर्काबीच कुरा चल्छ, जसले गर्दा यौनबारे ज्ञान बढाउन सहज हुन्छ । यसर्थ भन्न सकिन्छ कि कृषकहरू अनौपचारिक रूपमै भए पनि यौन शिक्षाबाट दीक्षित भएका हुन्छन् ।

यसो भन्नुको अर्थ अन्य पेशा अँगालेकाहरूमा यौनको ज्ञान वा यौनकला हुँदैन र उनीहरूले यौनानन्द लिन सक्दैनन् भन्ने होइन । तर, ग्रामीण भेगमा मात्र नभई सहरकै कृषकले पनि व्यापारी, उद्यमी र अरु क्षेत्रका पौरखीले भन्दा धेरै हदसम्म व्यवस्थित यौनज्ञान बटुलेका हुन्छन् । यसरी कृषकहरू व्यवस्थित यौनजीवनमा रमाउन पनि सक्छन् । कृषि पेशा अँगालेका व्यक्तिले सामान्यतः वैकल्पिक यौनका अवसर नपाउने भएकाले पनि विपरीतलिङ्गी (यौनजोडी) सँगकै प्राकृतिक यौनको अवसरलाई बढी सदुपयोग गर्दछन् ।

सामान्यतः अधिकाङ्श पुरुष कृषक जोडीले स्वीकार गरेसम्म कम्तिमा पनि दैनिक एक पटक यौन स्पर्श, यौन क्रिडा वा यौन सम्पर्क गरी सुखानुभूति गर्दछन् । आनन्दमयी यौन क्रियाकलापले कृषिजन्य कामको थकान, पीर, तनाव र दबावबाट मुक्त भई राति मस्तसँग निदाउन सहयोग पुग्छ; शारीरिक तथा मानसिकरूपमा लाभ मिल्छ । कृषिजन्य पेशा अँगालेकाहरू सामान्यतः आफ्नै विस्तरामा यौन सम्पर्क गर्न रुचाउँछन्; अरुको विस्तरामा रुचाउँदैनन् । कृषि क्षेत्रका व्यक्तिभन्दा पछाडि चाहिँ कपाल काट्ने (सैलुन) पेशा गर्नेहरू यौनकार्यमा बढी आकर्षित देखिन्छन् ।

पत्रकारको यौन

पेशागत आधारमा हेर्दा कम यौन क्षमता देखाउने पेशाकर्मीमध्येमा पत्रकारहरू पर्दछन् । पत्रकारिता पेशा अँगाल्नेहरू धेरै तनाव र दौडधुपमा हुने तथा पर्याप्त यौन शिक्षा पाउने भएका कारण उनीहरूमा यौन स्पर्श र यौन सम्पर्कको चाहना एवम् यौन तृप्ति कम भएको हुन सक्छ । यौनका बारेमा राम्रो ज्ञान पाउने र बुझ्ने भएकाले पनि पत्रकारहरू यौनप्रति कम आकर्षित भएका हुन सक्छन् ।

वकिलको यौन

वकालत पेशा अँगालेकाहरू पनि आफ्नै कोठास्थित विस्तरामा यौन मनोरञ्जन वा आनन्द लिनेमध्येमा पर्दछन् । वकालत पेशा अँगालेकाहरूमा पर्याप्त कानुनी ज्ञान हुन्छ । यौन जोडीसँग कस्तो यौन व्यवहार गर्नु हुन्छ र कस्तो गर्नु हुँदैन भन्ने राम्रो ज्ञान हुन्छ । कानुनी छिद्रमा अभ्यस्त भएका कारण यो पेशा अँगालेका व्यक्ति कामोत्तेजनामा पोख्त भएको आँकलन गरिन्छ ।

वकिलहरूले आफ्नो यौन जोडीसँग बहानाजाली तथा नक्कली कामोत्तेजनाको अभ्यास गर्न सक्छन् । कतिपय सरकारी र गैरसरकारी कर्मचारी भने यौनलाई समुचित महत्व नै नदिई व्यक्तित्व विकासमा प्राथमिकता दिन्छन् ।
समग्रतामा भन्न सकिन्छ कि यौनक्रीडामा ‘सात्विकी’ र ‘राजर्षी’ भन्दा ‘तामसी’ गुणले प्रभाव पारेको हुन्छ । ‘तामसी’ गुण भएकाहरूले यौनजन्य क्रियाकलाप बढी गर्न सक्दछन् । अधिकाङ्श पेशा अँगाल्नेहरूका यौनशैली र अभ्यास उस्तै–उस्तै देखिन्छन्; जसले यौन व्यवहार तथा यौन जीवनमा धेरै फरक पारेको देखिँदैन । यद्यपि कृषक, कर्मचारी, व्यापारी, श्रमिकलगायत विभिन्न पेशा अँगाल्नेहरूमा आ–आफ्नै पेशाअनुसारकै यौनशैली र अभ्यास हुनु स्वाभाविकै हो । पेशागत तन्दुरुस्तीका आधारमा पनि यौनशैली र व्यवहार निर्धारित हुन्छ ।

जीवनका सम्पूर्ण क्रियाकलापहरू– जीवन पद्धति, कामको उतारचढाव, कामको प्रकृति, कामको समय र वातावरणले पनि यौन जीवनमा ठूलै प्रभाव पार्दछ । त्यस्तै, भूगोल, हावापानी, संस्कृति आदिले पनि यसमा प्रभाव पार्छ । उच्च पहाडी र हिमाली भेगमा मातृसत्तात्मक समाज अस्तित्वमा रहेको पाइन्छ । यस्तो क्षेत्रमा बसोवास गर्नेहरूमा यौनको पहलकर्ता र निर्णयकर्ता पनि मूलतः महिला नै हुनु स्वाभाविकै मानिन्छ । पहाडी र तराई क्षेत्रमा सामान्यतः पितृसत्तात्मक समाज भएकाले यौनमा समेत मूलतः पुरुषकै भूमिका निर्णायक रहेको पाइन्छ ।