विवाहअघि जोडी छान्ने तरिका
गोपाल ढकाल
पछिल्लो समय दम्पतिबीच पारिवारिक कलह, असमझदारी, अविश्वास, पारपाचुकेजस्ता घटना बढ्दै गएका देखिन्छन् । विवाह अगाडि आफू अनुकूलको उपयुक्त जोडी छनोट गर्न नसक्दा प्रायः यस्ता घटना हुने गरेका देखिन्छन् । दाम्पत्य जीवनको सफलताका निम्ति आफू अनुकूलको जोडी छान्नु अत्यावश्यक हुन्छ ।
कुन व्यक्ति आफूलाई उपयुक्त जोडी हुन सक्छ भनेर सही छनोट गर्न नसक्दा भविष्यमा तनावको स्थिति सिर्जना हुन सक्छ । त्यसैले हतारमा विवाह गरेर फुर्सदमा पछुताउनुभन्दा विवाह गर्नुअघि नै विशेष ख्याल गर्नुपर्छ । आफू अनुकूलको जोडी छनोट गर्ने काम त्यति सजिलो भने अवश्य छैन ।
विवाहअघि आफ्नो सम्भावित जोडीको मनोवैज्ञानिक पक्षलाई ध्यान दिनुपर्छ । विवाह जीवनको महŒवपूर्ण पाटो हो । विवाहपछि जीवनको आयाम नै परिवर्तन हुन्छ । वैवाहिक जीवनलाई सफल र सुखद् बनाउन विवाहभन्दा अगाडि जोडी छनोट गर्दा धेरै कुरामा ख्याल गर्नुपर्छ । विवाहअगाडि एकले अर्कालाई राम्रोसँग चिन्नु र बुझ्नुपर्छ । विवाहअघि दुवैले एक–आपसमा खुलस्तरूपमा कुराकानी गर्नुपर्छ । आफ्ना समस्या तथा कमी–कमजोरी खुलस्तरूपमा एक–अर्कालाई भन्नुपर्छ, जसले जोडीमा विश्वासको वातावरण बनाउन सहयोग मिल्छ ।
विवाहपछि आउन सक्ने जटिलताका विषयमा समेत दुवै पक्ष अवगत हुनुपर्छ । विवाहपछिको जीवनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुवैबीच विवाहअघि नै समझदारी गर्नु उचित हुन्छ । दुवै मिलेर विवाह अगाडि नै भावी जीवनको खाका कोर्नुपर्छ ।
विवाहअघि एक–अर्काको भावना, चाहना, रुचि, सोच, व्यक्तित्व आदिजस्ता कुरा बुझ्नु आवश्यक हुन्छ । रूप–रङ्ग र पैसा हेरेर मात्र विवाह गर्दा वैवाहिक जीवनमा सधैं खटपट हुने जोखिम हुन्छ । विवाह गर्नुअघि मनोविद् वा मनोपरामर्शदातासँग भेटेर परामर्श लिनु उचित हुन्छ । विवाहअघि गरिने यस्तो परामर्शलाई ‘प्री–म्यारिटल काउन्सिलिङ’ भनिन्छ ।
विवाह अगाडि आ–आफ्नो शारीरिक अवस्था थाहा पाउन शारीरिक परीक्षण समेत गर्नु जरुरी हुन्छ । जोडी छान्दा उमेरको पनि ख्याल गर्नुपर्छ । उमेर असमान हुँदा सोच, भावना, रुचि, चाहना जीवनशैलीजस्ता कुरा फरक पर्न सक्छन्, जसले वैवाहिक जीवनमा जटिलता निम्त्याउन सक्छ । वैवाहिक जोडीबीच यी कुरामा समानता नहुँदा जीवन सधैं नीरस हुन पुग्छ ।
वर्तमान समय पहिलेको भन्दा फरक छ । वैवाहिक जोडीबीचको उमेरमा पाँच वर्षभन्दा बढी फरक भएको राम्रो मानिँदैन । जोडीबीच शैक्षिक तह फरक पर्दा समेत त्यसले पनि वैवाहिक जीवनमा असर पुर्याउन सक्छ । यस विषयमा पनि सचेत हुनु आवश्यक छ । एकार्काको शिक्षाको स्तर फरक पर्दा जोडीको सोच, व्यवहार, व्यवसायमा समस्या निम्तन्छ । विवाहपछि जोडीमध्येका दुवैले आ–आफ्नो विजनेस–व्यवसाय वा करिअरमा बाधा पुर्याउनु हुँदैन; एकले अर्कालाई मद्दत गर्नुपर्छ ।
पारिवारिक अवस्थाले पनि वैवाहिक जोडीको व्यावहारिक जीवनमा प्रभाव पार्छ । आफू जन्मे–हुर्केको पारिवारिक अवस्थामा कलह भएमा विवाहपछि जटिलता आउन सक्छ । अहिले सान्दर्भिक ठानिँदैन तापनि यस सम्बन्धमा नेपाली समाजमा एउटा पुरानो उखान प्रचलित छ– ‘पानी खानू मूलको, विवाह गर्नू कुलको !’ विखण्डित र राम्रो संस्कार नपाएको तथा कलहयुक्त परिवारमा हुर्के–बढेकाहरूमा पछिसम्म पनि अनेकौं समस्या हुन सक्छन् ।
विवाहपछिको पहिलो कुरा त पारिवारिक जीवन शान्त र मेलमिलापपूर्ण हुनु आवश्यक हुन्छ । पारिवारिक कलहमा हुर्किएको व्यक्तिलाई विवाहपछिको परिवारमा समायोजित हुन अनेकौं समस्या पर्न सक्छन् । त्यसैले विवाह गर्दा धर्म–संस्कृति, रीतिरिवाज, रहनसहन, भौगोलिक–सामाजिक मान्यताजस्ता कुरामा समानता भएमा वैवाहिक जीवनमा समायोजित हुन सजिलो हुन्छ ।
त्यसो त ‘अहिलेको जमानामा विवाह गर्दा पनि जात, भूगोल, आर्थिक अवस्थाजस्ता कुरा हेर्नुपर्छ र’ भनिन्छ । यस्ता कुरामा परिवर्तन ल्याउनुपर्ने वकालत धेरैतिरबाट गरिँदै आएको छ, जो अन्यथा पनि होइन । तर पनि ती पक्षहरूले व्यावहारिकरूपमा असर पुर्याउन सक्ने र विवाहित जोडीको सिङ्गै जीवन धरापमा पार्न सक्ने कुरातर्फ भने अवश्य नै सचेत रहनुपर्छ ।
विवाहपछिको परिवार र समाजमा समायोजित हुने क्रममा अनेकौं व्यावहारिक कठिनाइहरू आउन सक्छन् । तैपनि ‘विवाह बन्धन’ मा बाँधिन राजी भएका जोडीले तिनको सामना तथा समाधान गर्न तत्पर रहनुपर्छ । ती कुराको व्यवस्थापन गर्न विवाह अगाडि नै मानसिकरूपमा तयार हुनु जरुरी हुन्छ । यसो हुन नसक्दा वैवाहिक जीवन असफल भएका प्रशस्तै उदाहरण छन् ।
सामान्यतः व्यक्ति–व्यक्तिका बानी–व्यवहार फरक–फरक नै हुन्छन् । तैपनि जोडीमा सम्झौता नै गर्न नसकिने खालका बानी–व्यवहार छन् भने विवाहपछि सधैंजसो कलह नै निम्तने जोखिम हुन्छ । त्यसैले जोडी छनोट गर्दा नै एक–अर्काका बानी–व्यवहार बुझ्नु जरुरी हुन्छ । लिङ्ग फरक पर्नेबित्तिकै कतिपय बानी, व्यवहार, रुचि/चाहना फरक पर्छन् । यस्ता कुरामा पनि ख्याल गर्नुपर्छ । विवाह भैसकेपछि यदि खराब बानी–व्यवहार देखिए भने पनि तिनलाई सुधार गर्दै जानुपर्छ । विवाहित जोडीले एकापसमा मिलेर नै यस्ता समस्याको समाधानतर्फ लाग्नु बुद्धिमत्ता हुन्छ ।
माथि नै भनियो कि विवाहअघि जोडीका दुवैले आ–आफ्नो र एकार्काको स्वास्थ्यका बारेमा पूर्ण जानकारी लिनुपर्छ । शारीरिक तथा मानसिक वा मनोवैज्ञानिक परीक्षण गराउनु लाभदायक हुन्छ ।
स्वास्थ्य परीक्षणको नतिजापछि मात्र विवाह गर्ने–नगर्ने निर्णय लिनु उचित हुन्छ । कतिपय शारीरिक तथा मानसिक रोग बुबा–आमाबाट सन्तानमा सर्ने जोखिम भएकाले यसतर्फ पनि सचेत हुनुपर्छ । आफ्नो जोडीको मानसिक समस्या र व्यक्तित्वका बारेमा थाहा पाउनु जरुरी हुन्छ । यस्ता जानकारीहरू लिइसकेपछि यौनजन्य र अरु विभिन्न सङ्क्रमणबाट जोगिन समेत सहयोग मिल्छ । विवाहअघि पारिवारिकरूपमा र आफन्तजनहरूसँग पनि राम्ररी सरसल्लाह गर्न तथा परामर्श लिन चुक्नु हुँदैन ।