कोलोसियमको कला: सातौं आश्चर्य

डा. डीबी सुनुवार

यसपालिको यात्रा तय भएको छ– इटालीको कोलोसियम । विश्वका विभिन्न प्राचीन आश्चर्यमध्येको एक कोलोसियम आधुनिक सातौं आश्चर्यका रूपमा रहेको छ । सन् ००७२ देखि ००८० मा ‘भेस्पासियन’ नामक व्यक्तिले यसको निर्माण गरेको मानिन्छ । सन् ००८१ पछि यसको रूप परिवर्तन (मोडिफाई) गरिएको बताइन्छ । विभिन्न समयका भूकम्पबाट यसको सङ्रचनामा क्षति पुगेको छ ।
प्राचीन रोमस्थित कोलोसियम खेल हेर्ने ‘एरेना’ (रङ्गशालाको प्याराफिट) का रूपमा निर्माण भएको हो । यसलाई रोमनहरूको राजकीय साम्राज्यिक प्रतिमा समेत मानिन्छ । मध्ययुगको सुरुआतमा यसलाई नाटक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्ने मञ्चका रूपमा प्रयोग गरिन्थ्यो । विभिन्न मनोरञ्जनात्मक खेल खेल्ने मैदानका रूपमा प्रसिद्ध कोलोसियम सामरिक हिसाबले पनि महत्वपूर्ण मानिन्थ्यो ।
प्राचीन समयमा कसैलाई सजाय दिनुपर्यो भने सो व्यक्तिलाई उक्त हलमा लगेर बाघ, भालु, हात्तीजस्ता जनावरसँग भिडाइन्थ्यो । त्यस्तो ‘खेल’ हेरेर ‘मनोरञ्जन’ लिनेको ठूलै भीड हुन्थ्यो ।
कोलोसियम रोमन पर्यटनको प्रमुख आकर्षण एवम् मुख्य गन्तव्यमा पर्छ । वर्षेनि लाखौं पर्यटकले यसको अवलोकन गर्छन्; तीमध्ये हामी पनि पर्यौं । यो ‘रोमन क्याथोलिक चर्च’ सँग पनि सम्बन्धित छ । कोलोसियम प्राङ्गणमा शुक्रबार पोपहरू जम्मा भएर ‘गुड फ्राइडे’ मनाउँथे ।

लाइन बस्दाको बेग्लै रमाइलो

नोभेम्बरको चिसो मौसम । त्यहाँ पुग्दा हामीलाई र कोलोसियमलाई बिहानको झुल्के घामले चुम्बन गर्न लागिसकेको थियो । कोलोसियम हललाई देब्रे पारेर आधा फन्को मार्दै गाडीले हामीलाई मुख्य प्रवेशद्वार पुर्यायो । हामी कोलोसियमको भित्री भाग अवलोकनका लागि लामबद्ध भयौं । उत्सुकतापूर्वक साथीभाइबीच खस्याकखुसुक चलिरहेको छ ।
बिस्तारै भित्र प्रवेश गरियो । विभिन्न मुलुकका श्वेत, अश्वेत, गहुँगोरा, नेप्टा, चेप्टा हजारौं चेहराहरू उत्सुकताका साथ कोलोसियम प्रवेश गरेको देख्दा मेरो मन तरङ्गित छ । झन्डै आधा किलोमिटर लामो लाइन बस्दा क्यामेरामा दुई सयभन्दा बढी ‘स्न्याप’ लिन भ्याइसकियो ।
बाटामा बिच्छ्याइएका ढुङ्गा मनलाई काउकुती लगाउने किसिमका देखिन्छन् । ती मनमोहक ढुङ्गामा टेक्दा निकै आनन्दित भइएको छ । ओहो ! कोलोसियम… ।
कुन–कुन ठाउँको अवलोकन गर्ने हो, ती ठाउँको फरक–फरक टिकट काट्नुपर्छ । भित्र प्रवेश गर्ने, बाहिरबाट हेर्ने र माथिल्लो तलाबाट अवलोकन गर्ने– तीनै किसिमका टिकट काटिएको छ । गाइडले कोलोसियमको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा हामीलाई रमाइलो किसिमले बताइरहेका छन् । अधबैंसे इटालियन गाइड ‘मारिया’ कस्ती रमाइली अनि कति राम्रो गाइड–कला भएकी ! हामीलाई एक पल पनि अल्छी लाग्न अर्थात् बोर हुन दिइनन् । कति स्मार्ट गाइड !

कोलोसियमको सङ्रचनाले आश्चर्यचकित नबनाउने कुरै भएन । देख्दै अच्चम लाग्छ– त्यो बेला त्यति भव्य सङ्रचना बनाउने व्यक्तिको दक्षता कहाँबाट आयो होला ! सङ्रचनामा चिल्ला ढुङ्गा र सिमेन्टजस्तै बलियो माटोको प्रयोग गरिएको छ । ठाउँ–ठाउँमा ठूलठूला ढुङ्गा प्रयोग भएका देखिन्छन् ।
हलको बाहिर, बगैंचामा प्राचीन रोम साम्राज्यमा लडाइँका क्रममा प्रयोग भएका युद्धका सामग्रीहरूको दृश्यावलोकन गर्न पाइन्छ । पर्यटकहरूको हुल ती सामग्रीहरूको छेउमा चुसुक्क अनुहार देखाउँदै फोटो खिच्न व्यस्त छ । ती सामग्रीलाई पृष्ठभूमि बनाएर फोटो खिँच्न हामीले पनि किन छाड्नु र ! खिँचिहाल्यौं ।

बाघसँग युद्धनायकको भीडन्त

प्राचीन समयमा खेल मैदानका रूपमा रहेको कोलोसियम हलभित्र पसेर हामीले पनि राम्रैसँग दृश्यावलोकन गर्यौं । हलभित्र छिर्दा लाग्यो– जनावर र युद्धनायकबीच लडाइँ सुरु हुनै लागेको छ । कसले जित्ने हो, त्यो हेर्ने उत्सुकता छ । जहाँ बाघ र मानिसलाई भिडाइन्थ्यो, त्यस ठाउँमा हेर्दा लाग्यो– त्यो बाघसँग लड्ने शक्तिशाली व्यक्ति म नै हुँ !
हलभित्र जनावर र मानिस भिड्दा कि मानिसको मृत्यु हुन्थ्यो कि त जनावरको । तर, प्राचीन रोमस्थित त्यो हलभित्र युद्धकौशल झल्कने प्रतिमा मात्रै राखिएका छन्; अहिले भने ती युद्धनायक र जनावर युद्ध लड्दैनन्, युद्ध लडेको झल्को मात्र दिन्छन् ।
प्राचीन समयमा हुने युद्धकौशल, ऐतिहासिक तथा सांस्कृतिक सिर्जनशीलताको रोमान्सले करिव डेढ घन्टा हलभित्र हराएको पत्तै भएन हामीलाई ।

रोमको घुमाघाम र भ्यालेन्टाइन कल्चर

कोलोसियमको भ्रमणपछि अब प्राचीन ऐतिहासिक रोम सहर घुम्ने योजना छ । ‘इफ यु आर इन रोम बी रोमिन (यदि तपाईं रोममा हुनुहुन्छ भने रोमनजस्तै बन्नुहोस्)’– रोम साम्राज्य संसारभर विस्तार हुने क्रमको चर्चित भनाइ हो यो । आध्यात्मिक हिसाबले रोम आज पनि शक्तिशाली छ । भौगोलिक हिसाबले विश्वकै सानो मुलुक ‘भ्याटिकन सिटी’ ले बोल्दा आज पनि विश्वको ध्यान त्यतै केन्द्रित हुन्छ । सानो मुलुक भए पनि भ्याटिकन सिटी विश्वलाई नै प्रभाव पार्न सामथ्र्यवान् मुलुक हो । यो सिटी युरोपियन मुलुक इटालीको रोमभित्रै पर्छ तर यो स्वतन्त्र मुलुक हो ।
कोलोसियमबाट करिव बीस मिनेटको गाडी यात्रामा भ्याटिकन सिटी हुँदै प्राचीन तथा ऐतिहासिक रोम पुगिन्छ । रोमका विभिन्न ठाउँको भ्रमणका लागि टिकट लिइसकेका छौं । रोम सहरभरि नै बाटामा स–साना ढुङ्गा बिच्छ्याइएको छ । बाटाहरू सफा, सुग्घर र चिटिक्क छन् । बाटैमा बसेर आराम गर्न मन लाग्छ । सफा र सुग्घर तथा स्वनियमनमा बसेका मानिसहरू देख्दा नेपालको सम्झना आयो– कहिल्यै हाम्रो देश पनि यस्तो होला त ?
भ्याटिकन सिटीभित्र विशाल बगैंचा, सेन्टपिटर चर्च, सेन्टपिटर स्क्वायर, सेन्टपिटर म्युजियम र अपार्टमेन्ट छन् । यस ठाउँमा आज पनि रोमन क्याथोलिक चर्चका सुप्रिम ‘पोप’ ले नै शासन गर्छन् । जिससका चेला पिटर यही स्थानमा ‘सहिद’ भएकाले त्यस बेलादेखि त्यहाँ पोपले शासन गर्न थालेको भनाइ छ । संसारभरका क्रिश्चियन धर्मावलम्बीहरूले यस ठाउँलाई महत्वपूर्ण रूपमा लिन्छन् ।


‘प्रेम उत्सव’ का रूपमा फेब्रुअरी १४ मा प्रेम जोडीले ‘भ्यालेनटाइन डे’ मनाउने परम्परा पनि रोमबाटै सुरु भएको मानिन्छ । प्राचीन समयमा अधिकाङ्श युवाहरू युद्धमा जाने र मर्ने भएकाले महिलाहरू जोडीविहीन हुन थाले । त्यही सन्दर्भमा महिलाहरूले जोडीविहीन हुनु नपरोस् भन्ने उद्देश्यका साथ सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिले आवाज उठाउन थाले । तर, राज्यले उनलाई मृत्युदण्ड दियो । तिनै भ्यालेन्टाइनको स्मरण र सम्मानस्वरूप उनलाई मृत्युदण्ड दिइएको मितिमा हरेक वर्ष ‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा सुरु भएको मानिन्छ ।
यस्तो ऐतिहासिक तथा सांस्कृतिकरूपले महत्वपूर्ण मुलुकको अवलोकन गर्ने सौभाग्य मलाई पनि मिल्यो ।

इटाली अर्थात् सभ्यताको मुहान

अब चर्चा गरौं इटालीको विकास, सभ्यता, शिक्षा, विज्ञान प्रविधि, कला–संस्कृतिलगायतका बारेमा । इटाली सभ्य मुलुकमध्येमा पर्छ । आजभन्दा करिव नौ सय वर्ष अगाडि नै इटालीमा व्यवस्थित शिक्षा प्रणालीको विकास भएको पाइन्छ । आज पनि इटालीमा संसारका ऐतिहासिक र चर्चित विश्वविद्यालय रहेका छन् । त्यहाँका मानिस अत्यन्तै लगनशील, शिष्ट र व्यवस्थित छन्; राज्य प्रणाली पनि व्यवस्थित छ । कानुनको शासन पालना गर्ने मामलामा पनि त्यहाँका जनता इमानदार देखिन्छन् । जनता जिम्मेवारीबोध गर्दछन् । उनीहरूमा आफ्नो पेशा र कामप्रति असाध्यै राम्रो प्रेम देखिन्छ । शिक्षामा विशेष प्राथमिकता दिने इटालियनहरू जनताको अधिकारप्रति आदरभाव राख्दछन् ।
मर्चेन्ट अफ भेनिस नट्रेडमजस्ता सहर, संसारकै सबभन्दा ठूलो चर्च, लर्डस् सपर्स नामक विश्वकै चर्चित सङ्ग्रहालय, लिनन टावर अफ पिसाजस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरू इटाली पुगेपछि अवलोकन गर्न छुटाउनै नहुने स्थल हुन् । यी क्षेत्रको अवलोकन गर्ने अवसर हामीले पनि गुमाएनौं ।

ज्ञान–विज्ञानको उद्गमस्थल इटाली

इटालीमा औपचारिक शिक्षा सुरुआतको लामो इतिहास छ । त्यहाँ करिव नौ सय वर्षअघि नै औपचारिक शिक्षा प्रदान गर्ने विद्यालय–विश्वविद्यालय स्थापना भैसकेका थिए । यसबाट पनि पुष्टि हुन्छ कि इटालियनहरूले औपचारिक शिक्षाको ज्योति पाउन थालेको लामै समय भैसक्यो ।
इटालियन नागरिक अमेरिगो भाष्पुचीले पहिलो पटक अमेरिका पत्ता लगाएका रहेछन् । अमेरिगोकै नामबाट कोलम्बसले ‘अमेरिका’ नाम राखेका रहेछन् । पहिलो पटक एसिया पत्ता लगाउने मार्कोपोलो पनि इटालियन नागरिक नै हुन् । संसारकै सबभन्दा महँगो गाडी ‘फेरारी’ का संस्थापक इन्जो फेरारी पनि इटालीकै नागरिक हुन् । मोनालिसाको विश्वप्रसिद्ध चित्र (पेन्टिङ) बनाउने लियोनार्दो दा भिन्ची पनि इटालीमै जन्मिएका हुन् । ‘पृथ्वी गोलो छ’ भनी पत्ता लगाउने विश्वप्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलिको जन्म पनि इटालीमै भएको हो । ‘पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ’ भन्ने तर्क गरेपछि उनलाई जेल सजाय दिइएको बताइन्छ । जुलियर्स सिजर, अगस्तस, दाँते, पाइथागोरसजस्ता सिद्धहस्त गणितज्ञ एवम् विद्वान्हरू पनि इटालीमै जन्मेका हुन् । विभिन्न महान् वैज्ञानिक, दार्शनिक एवम् विद्वान्लाई जन्म दिने इटाली आज पनि विश्वकै समृद्ध र सभ्य मुलुकको सूचीमा अग्रस्थानमै पर्दछ ।
इटालियन फुड कल्चर पनि कम लोभलाग्दो छैन । इटालीबाट सुरु भएका पिज्जा, पास्ता, बर्गर, स्याण्डविचजस्ता परिकारहरू आज त्यहाँ मात्र होइन, विश्वमै लोकप्रिय छन् ।