नेपालमा कोरोनाको उपचार: अक्सिजन, औषधि र प्लाज्मा
होलिस्टिक संवाददाताकोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको नियन्त्रणका लागि भ्याक्सिन उपलब्ध भइनसकेको वर्तमान अवस्थामा यो महामारीबाट जोगिनु नै सर्वोत्तम उपाय हो । विभिन्न देशका भिन्न–भिन्न संस्थाले विकास गरिरहेका भ्याक्सिन परीक्षणकै चरणमा छन् । भाइरस सङ्क्रमणको उपचारका लागि विशेष औषधि नभए तापनि केही औषधिकै समेत प्रयोग गरी विभिन्न उपचार विधि भने अपनाउने गरिएको छ ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कोरोनाभाइरस सङ्क्रमितका लागि सामान्यतः तीन वटा विधि अपनाइएको चिकित्सकको भनाइ छ । ती हुन्– अक्सिजन, औषधि र प्लाज्मा ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार सङ्क्रमितमा अक्सिजनको कमी हुँदा अक्सिजन दिएर उपचार गरिन्छ र औषधिको प्रयोग पनि गरिन्छ । सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने प्रमुख औषधि हुन्– ‘रेमडेसिभिर’ र ‘डेक्सामेथाजोन’ । सङ्क्रमितको उपचारमा प्लाज्मा विधि अपनाइन्छ । यो विधिमा कोरोना लागेर सङ्क्रमणमुक्त भैसकेका व्यक्तिको प्लाज्मा निको नभएका सङ्क्रमितको उपचारमा प्रयोग गरिन्छ ।
सङ्क्रमितको अवस्थाअनुसार अक्सिजनथेरापी, औषधि तथा प्लाज्माथेरापी उपचार विधि अपनाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा भाइरोलोजिस्ट डा. बासुदेव पाण्डे बताउँछन् । सङ्क्रमितमा अक्सिजनको कमी हुने भएकाले सुरुमा अक्सिजन उपचार विधि नै बढी अपनाइन्थ्यो । पछिल्लो समय औषधि र प्लाज्मा विधि पनि अपनाउन थालिएको चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार सङ्क्रमितको उपचारमा अक्सिजन लाभदायक भए पनि यीमध्ये कुन विधि बढी प्रभावकारी हो भन्ने कुरा चाहिँ अनुसन्धानकै विषय हो ।
यी विधिका अलावा सङ्क्रमितको उपचारका लागि लक्षणअनुसारका अरु औषधिको प्रयोग पनि गरिने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार सङ्क्रमितमा झाडापखाला भए झाडापखालाको, खोकी लागे खोकीको र अरु रोगका लक्षण देखिए त्यही अनुसारका औषधि प्रयोग गरिन्छ ।
सङ्क्रमितमा यस्ता औषधिको प्रभावकारिता भने अझै पनि अनुसन्धानकै क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम बताउँछन् । गौतमका अनुसार सङ्क्रमित व्यक्ति तथा आफन्तको सहमतिमा यी औषधिको प्रयोग गरी उपचार गरिन्छ । नेपालमा रेमडेसिभिरको उत्पादन हुँदैन र यो आयातमै निर्भर छ तर डेक्सामेथाजोन भने यहीं उत्पादन हुने औषधि उत्पादकहरू बताउँछन् ।
कोरोना सङ्क्रमितको उपचारका लागि ‘हाइड्रोअक्सिक्लोरोक्विन’ नामक औषधिको पनि चर्चा चलेको थियो । तर, परिणाम राम्रो नदेखिएकाले यसको भने प्रयोग नगरिएको चिकित्सकको भनाइ छ ।
कोरोना सङ्क्रमित सबैको उपचारका लागि रेमडेसिभिर र डेक्सामेथाजोनजस्ता औषधि प्रभावकारी नै हुन्छन् भन्ने यकिन भने नभएको चिकित्सकहरू बताउँछन् । यी औषधिको पनि प्रभावकारिता अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरूको तर्क छ । चिकित्सकहरूका अनुसार कोरोना सङ्क्रमितको उपचारका लागि यी औषधिको नतिजा केही हदसम्म मात्र भए पनि प्रभावकारी नै देखिएकाले प्रयोग गर्न थालिएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि विशेष औषधि नबनेको अवस्थामा यी औषधिको केही सकारात्मक प्रभाव देखिएकाले नै प्रयोग गरिएको डा. बाँस्तोला बताउँछन् ।
कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका व्यक्तिको प्लाज्मा निकालेर सक्रिय सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने अभ्यास नेपालमा पनि भैरहेको छ । यस्तो प्लाज्माले सङ्क्रमितमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने भएकाले यो उपचार विधि अपनाइएको चिकित्सकको तर्क छ । यो विधिलाई प्लाज्माथेरापी भनिन्छ ।
यो विधिबाट कोरोना सङ्क्रमितको उपचारमा लाभ मिलेकाले नै अपनाउन थालिएको डा. बाँस्तोला बताउँछन् । सामान्यतः सङ्क्रमणमुक्त भएको २८ दिनपछि प्लाज्मा दिन मिल्ने डा. बाँस्तोलाको भनाइ छ । सामान्यतः सङ्क्रमणमुक्त भएको दुई महिनासम्म प्लाज्मा दिन मिल्ने चिकित्सकहरूको भनाइ छ ।