यसपालिको हैजा– कुसंस्कारलाई लैजा !

केदारनाथ गौतम

कोरोनाभाइरस (कोभिड– १९) को महामारीले झन्डै दुई वर्षसम्म थिलथिलो भएको नेपाली समाज फेरि हैजा महामारीको अर्को सन्त्रासले क्रमशः आक्रान्त हुँदै गएको छ । हैजा सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढिरहँदा समेत कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि निरन्तर उकालो लाग्ने क्रम यथावत नै छ । विगतको तुलनामा निकै कम भए तापनि कोरोना र हैजा दुवैखाले घातक सङ्क्रमणको चेपुवामा छौं हामी ।

हैजाका सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहँदा यसका प्रभाव, कारण, रोकथाम र निवारणका विविध पक्षबारे चर्चा–परिचर्चा चल्ने क्रम बढ्नु स्वाभाविकै हो । हैजा लाग्नुका कारण, यसका लक्षणहरू, यसको घातकता, बच्ने उपायहरू र उपचार विधिबारे गम्भीर छलफल चल्न थाल्नु सकारात्मक कुरा हो । विज्ञ, विशेषज्ञ, अध्येता, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चार माध्यम, सचेत नागरिक इत्यादिले यी र यस्ता कारण र उपायहरूबारे चर्चा–परिचर्चा बढाउँदै लगेको देखिनु सन्तोषको कुरा हो ।

विज्ञ–विशेषज्ञका धारणा, चर्चा, विश्लेषण र टिप्पणीहरूबाट स्पष्ट हुन्छ– हैजाको मुख्य स्रोत भनेकै दूषित पानी हो । पानी र त्यसका स्रोत दूषित हुनु नै हैजा र अरु अनेकौं महामारीको मुख्य कारण हो । सबैभन्दा गम्भीर एवम् विष्यमयकारी कुरा त के छ भने राजधानी उपत्यकामा पिइने पानीका अनेकौं स्रोतहरूमा ‘इकोलाई’ नामक जीवाणु फेला परिरहेको तथ्य विज्ञ र विशेषज्ञहरूले बारम्बार पुष्टि गरिरहेका छन् । र, पिउने पानीमा दिसा मिसिएको अवस्थामा मात्र त्यसमा ‘इकोलाई’ जीवाणु पुष्टि हुने विज्ञहरूको भनाइ छ । यसको सोझो अर्थ हो– सिधै दिसा मिसिएको पानी हामीले पिइरहेका छौं !

आखिर पिउने पानीमा कसरी मिसिन पुग्छ त दिसा ? यथार्थतः पिउने पानीमा दिसा मिसिनु नै हैजाको मुख्य कारण भएकामा चिकित्सक र विज्ञहरूको मतैक्यता छ; निर्धक्क दावी छ । जबकि फोहोरमैला, ढल निकास र पिउने पानीका त बेग्लाबेग्लै अड्डा छन्; फरक–फरक सरकारी संस्थान र संयन्त्र छन्; भिन्दाभिन्दै कर्मचारी, प्राविधिक संरचना, रुट र माध्यम छन् अनि अलग–अलग स्रोत, मुहान, भण्डार र वितरण–सङ्कलन या निष्काशन–समापन प्रणाली छन् । यति हुँदाहुँदै पनि पिउने पानीका स्रोतहरूमा बारम्बार ‘इकोलाई’ भेटिइरहन्छ अर्थात् खानेपानीमा दिसा मिसिएको पुष्टि भइरहन्छ भने त्यसको एउटै मात्र कारण हुन सक्छ– चरम मानवीय लापरबाही । त्यो भनेको आधारभूत मानवीय सभ्यता, संस्कार, आचरण, व्यवहार र आनीबानीमा रहेको खोट मात्र नै हो ।

पानीको मुहानभन्दा अग्ला र माथिल्ला स्थानमा मानिसले प्रयोग गर्ने शौचालय या खुला ठाउँमा गरिएका शौच तथा कुकुर, सुँगुरलगायतका जनावरले जथाभावी गरेको दिसा वर्षात्को पानीले बगाउँदै खानेपानीको स्रोत या मुहानमा ल्याएर मिसाइदिने प्रक्रिया नै पिउने पानीमा दिसा मिसिनुको मुख्य कारण हुन सक्दछ । जागिरदार सरकारी कर्मचारी एवम् संयन्त्रले राम्ररी कर्तव्य निर्वाह नगर्ने; निर्माण व्यवसायी, प्राविधिक र कामदारले हेलचेक्र्याइँ गर्ने; पानीका मुहान या स्रोत वरिपरिका वासिन्दाले सामाजिक सभ्यता, शिष्टाचार र मर्यादा, कर्तव्य र मानवीय मूल्य विपरीतका काम गर्ने; उपभोक्ताले शौचालय र पिउने पानीका धारालाई बेग्लाबेग्लै र सुरक्षित तरिकाले जडान नगराउने अनि ट्याङ्की, धारा, पाइप, भाँडाकुँडा र व्यक्तिगत सरसफाइमा लापरबाही गर्ने आदिजस्ता कारणले मात्रै पिउने पानीमा दिसा मिसिन सम्भव छ । प्रतिकूल भौगोलिक अवस्थिति, आर्थिक दूरावस्था, सचेतनाको कमी, अस्तव्यस्त र साँघुरो सहरी जीवनशैली आदि थप कारण हुन सक्दछन् ।

पिउने पानीलाई स्वच्छ, स्वस्थ र सफा राख्न सक्नु नै हैजाको महामारीबाट बच्ने मुख्य उपाय हो । यसो गर्न सक्दा हैजा मात्र नभई प्रायः सबैजसो सरुवा, सिजनल र महामारीजन्य रोगहरूबाट बच्न सकिन्छ । सारतः प्रकृतिलाई माया गर्नु, सदाचारमा रहनु र सचेतना अपनाउनु नै पानीलाई स्वस्थ राख्ने उपाय हो । र, यी व्यवहार अन्ततः संस्कारजन्य कर्महरू नै हुन् । त्यसैले सम्पूर्ण नेपाली एकजुट होऔं र एकै स्वरमा नारा लगाऔं– ‘यसपालिको हैजा– कुसंस्कारलाई लैजा !’