वर्षातमा दूषित पानी: निम्तने रोगहरू र बच्ने उपाय

डा. शेरबहादुर पुन

वर्षायाममा पानीजन्य रोगको जोखिम हुन्छ । जन्डिस (हेपाटाइटिस), टाइफाइड, झाडापखाला, हावाबाट सर्ने फ्लुलगायतका रोगको जोखिम वर्षायाममा अलिक बढी नै हुन्छ । मूलतः दूषित पानीका कारण हेपाटाइटिस ‘ए’ र ‘ई’ फैलन हुन सक्दछ ।

वर्षायाममा बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण खानेपानीका स्रोत र मुहान दूषित हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसैले, यो मौसममा जस्तो पायो त्यस्तै पानी जथाभावी पिउनाले झाडापखाला हुने जोखिम हुन्छ । नेपालमा प्रयोग गरिने खानेपानीका अधिकाङ्श मुहान र स्रोतहरूमा वर्षायाममा दूषित पानी मिसिने सम्भावना धेरै हुन्छ । अझ सहरी क्षेत्रका खानेपानीका स्रोतहरूमा त ढल लिक भएर मिसिने जोखिम बढी नै छ । वर्षायाममा इनार, पम्प, बोरिङ, कलबाट निकालिने पानी समेत दूषित हुने सम्भावना हुन्छ । काठमाडौंलगायत नेपालका प्रायः सहरी क्षेत्रमा खानेपानीको पाइपसँगसँगै ढलको पाइप समेत राखिएकाले ढल चुहिएर खानेपानीमा मिसिने सम्भावना बढी नै हुन्छ ।

यसरी प्रदूषित पानी सेवन गर्दा झाडापखाला, अनेकौं भाइरस तथा रोगहरूको सङ्क्रमण हुने उच्च जोखिम हुन्छ । यसरी पिउने र भान्सामा प्रयोग गरिने पानीमा सोझै फोहर मिसिन पुग्दा झाडापखाला, बान्ता, आउँ, मासी, हैजा, हेपाटाइटिसलगायतका रोग निम्तन सक्दछन् । दूषित पानीको उपभोगका कारण बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा झाडापखालाको जोखिम बढी हुन्छ ।

काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा जताततै फोहारमैला जम्मा भइरहने र सडक एवम् सार्वजनिक स्थानमा थुप्रिइरहने भएकाले वर्षातकाे पानीसँगसँगै त्यो फोहर समेत खानेपानीमा मिसिने र सङ्क्रमित हुने सम्भावना रहन्छ । त्यसैकारण, काठमाडौं उपत्यकाजस्ता ठाउँमा जमिनबाट निकालिएको पानीमा दिसाजन्य सङक्रमण हुन सक्ने जोखिम धेरै हुन्छ । अतः यस्तो पानी उपभोग गर्नुपर्दा शुद्धीकरणको विधि अपनाउनु अनिवार्य हुन्छ ।

यी हुन् पानीजन्य रोगहरू

वर्षायामलाई सरुवारोग फैलने मौसमका रूपमा लिइन्छ । बाढी–पहिरोको समयमा दूषित भएको पानी सेवन गर्न पुग्दा हैजा लाग्न सक्ने जोखिम धेरै हुन्छ । जन्डिस, झाडापखाला, हैजालगायतका सरुवारोगहरू मूलतः पानीजन्य रोगअन्तर्गत नै पर्दछन् ।

काठमाडौं उपत्यकाको खानेपानीमा पटक–पटकको परीक्षणबाट ‘कोलिफर्म’ को मात्रा उच्च देखिएको छ । त्यसैले वर्षातकाे समयमा जथाभावीरूपले ट्याङ्करको पानी त पिउनै हुँदैन; जार एवम् बोत्तलका पानीको उपभोगमा समेत ध्यान पुर्‍याउनुपर्छ । पानीको शुद्धीकरणमा अति नै ध्यान दिनुपर्छ ।

इ. कोलाई सङ्क्रमणको जोखिम पनि दूषित पानीकै कारणले हुन्छ । ‘कोलिफर्म’ भनेको ब्याक्टेरियाहरूको समूह हो । त्यसैले, पानीमा कोलिफर्म भेटिनुको अर्थ त्यो पानी शुद्ध छैन भन्ने हो । कोलिफर्म ‘टोटल कोलिफर्म’ र ‘फेकल कोलिफर्म’ जस्ता नामले चिनिन्छ । वातावरणमा सामान्यतः टोटल कोलिफर्म हुन्छ, जसले पानीलाई अशुद्ध पारिदिन्छ । फेकल कोलिफर्म भने दिसाको माध्यमबाट पैदा हुन्छ । टोटल कोलिफर्मको तुलनामा फेकल कोलिफर्म बढी घातक हुन्छ ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हैजा हुने भएकाले वर्षात्को मौसममा शुद्धीकरण गरेर मात्रै पानीको उपभोग गर्नुपर्छ । यो ब्याक्टेरियाको सङ्क्रमणका कारण मानिसको मृत्यु समेत हुन सक्दछ ।

कतिपय हैजाका कुनै पनि लक्षण समेत देखिँदैनन् । यस्तो अवस्थामा सावधानी नअपनाइने भएकाले सङ्क्रमितको मृत्यु नै हुनेसम्मको जोखिम हुन्छ । करिव ८० प्रतिशतभन्दा बढी सङ्क्रमितहरूमा हैजाका कुनै पनि लक्षण नदेखिन सक्दछन् । सामान्यतः दसजना हैजा सङ्क्रमितमध्ये एक जनामा मात्र लक्षण देखिन्छन् । एकातिर सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएकाले सावधानी नअपनाइने र अर्कातिर सङ्क्रमितको दिसाबाट सङ्क्रमण विस्तारित भइरहने भएकाले व्यापक जनमानसमा हैजा फैलन सक्दछ ।

हैजाका लक्षणहरू

हैजाको सङ्क्रमण हुँदा दिसा चौलानीजस्तो पातलो हुने, दिसा गर्दा नदुख्ने, बान्ता हुने, हात–खुट्टा बाउँडिनेलगायतका लक्षण हुन्छन् । हैजाको सङ्क्रमण भएका बेला शरीरमा सोडियम, पोटासियम, मिनरललगायतका लवणको मात्रा कम हुँदै गएर अन्ततः मृत्युसम्म हुन पुग्ने जोखिम हुन्छ ।

हैजाको सङ्क्रमण हुँदा शरीरका विभिन्न अङ्गहरूले काम नगर्ने जोखिम हुन्छ । हैजा विरुद्धको खोप त बनेको छ तर नेपालमा आइसकेको छैन । यस्तो पानीजन्य रोगले दीर्घरोगी, बालबालिका तथा पाको उमेरका नागरिकलाई बढी सताउने गरेको पाइन्छ ।

पानीजन्य सङ्क्रमणबाट बच्ने उपाय

पर्याप्त सावधानी अपनाउँदा पानीजन्य रोगहरूको जोखिमबाट बच्न सकिन्छ । यसका लागि मूलतः खानेपानीको मुहान, स्रोत, बहाव र भण्डारणलाई सफा राख्न सक्नुपर्छ । पानीको मुहानमा जनावर जान दिनु हुँदैन अर्थात्, जनावर नपस्ने ठाउँको पानी सेवन गर्नुपर्छ । खोलानालामा फोहोर गर्नु हुँदैन । यी सावधानी विशेषतः पहाडी भूभागमा अपनाउन सकिन्छ ।

त्यसैगरी सहरी क्षेत्रमा पानीको स्रोत सफा राख्न खानेपानीको पाइप, ट्याङ्की र धारा ढलभन्दा फरक बाटो र स्थानमा पार्नुपर्छ । अर्थात्, खानेपानी र ढलबीच समुचित दूरी कायम गरिनुपर्छ । ढल तथा खानेपानीको पाइप फुट्दा एकापसमा नमिसिने अवस्था सुनिश्चित गरिनुपर्छ । धारा, इनार कुवा, बोरिङ, कललगायतको पानी परीक्षण गरेर प्रशोधनपश्चात मात्रै सेवन गर्नुपर्छ ।

पानीको शुद्धीकरण गर्ने सबैभन्दा राम्रो उपाय भनेको उमाल्नु हो । उमालेको पानीले शरीरलाई कुनै पनि घाटा पुर्‍याउँदैन, फाइदा नै गराउँछ । पानी उमाल्दा त्यसको गुणस्तरतामा कुनै पनि ह्रास आउँदैन ।

आवश्यक मात्रा मिलाई क्लोरिनको झोल (पियूस इत्यादि) हालेर पनि पानीको शुद्धीकरण गर्न सकिन्छ । क्लोरिनले पानीमा भएका ब्याक्टेरियालाई मार्दछ । पानी शुद्धीकरणका लागि क्लोरिन हाल्दा त्यसको मात्रा कम भएमा पानीमा भएका ब्याक्टेरिया नमर्ने र बढी भएमा जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले त्यसको मात्रा मिलाउने कुरामा सजग हुनुपर्छ । पानी शुद्धीकरण गर्ने अर्को उपाय भनेको फिल्टर गर्नु हो । उमालेर, क्लोरिन हालेर या फिल्टर गरेर अर्थात्, जे–जसरी भए पनि पानीलाई शुद्ध तुल्याएर मात्र उपभोग गर्नु नै पानीजन्य सङ्क्रमणबाट बच्ने अचुक उपाय हो ।

डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको
क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्