भ्रमणशैली: काका होचिमिन्ह
डा. डीबी सुनुवार
खुसीको कुनै बाटो हुँदैन । खुसी रहनु नै बाटो हो । यात्रा जारी नै छ । होचिमिन्ह लाग्दैछु । रमाइलो यात्राले कम्बोडिया यात्राको सकसपूर्ण याद हराउँदै गएको छ ।
नेपाली भूमिकै तराईको वस्तीजस्तै देखिँदै छ । बाटाको दायाँ–बायाँ खेतमा धान झुलेको देखिन्छ । बाटाको दायाँ–बायाँ नरिवल र सुपारीको बोटहरू छन् ।
स–साना चिटिक्कका घरहरू देखिन्छन् । सडक मर्मतकार्यमा सहयोगका लागि गाउँका मान्छेहरू ठाउँ–ठाउँमा टोकरी थापेर पैसा मागिरहेका छन् । गाडीबाट हात लम्काएर एक–ठाउँका टोकरीमा केही डलर खसालें मैले पनि ।
यात्रा टोलीमा भियतनामका टीसीएम (चाइनिज ट्र्याडिसनल मेडिसिन) विशेषज्ञ डाक्टर पनि छन् । उनी कम बोल्छन् किनकि अङ्ग्रेजी भाषा कम बुझ्छन् । चीनमा कार्यरत ती डाक्टर कामविशेषले कम्बोडिया आएका रहेछन् । उनी होचिमिन्हकै वासिन्दा रहेछन् ।
नदी तर्ने ठाउँमा आइपुगियो । तर, गाडीबाट ओर्लिएर तर्नु परेन । कार, बस, ट्रकलगायत यातायातका साना–ठूला सबै साधनहरू पानीजहाजले वारि–पारि गराउँदो रहेछ । म चढेको कार पनि जहाजले नै तार्यो; कारबाट ओर्लनु परेन ।
‘कोह कोङ्ग’ नदी निकै ठूलो रहेछ । यहाँ वारि–पारि गर्न पुलको काम त जहाजले नै पो गर्ने रहेछ ।
अझै एक घन्टा लाग्छ, कम्बोडिया छाडेर भियतनाम बोर्डर पुग्न । यहाँको बोर्डरमा चाहिँ ठ्याक्कै वीरगञ्ज–रक्सौल भएर नेपालबाट भारत गएजस्तो लाग्यो । कम्बोडियाबाट निस्केको र भियतनाममा पसेको छाप पासपोर्टमा लगाएपछि भियतनाम पुगिहालियो । कुनै झन्टिलो प्रक्रिया पार गर्नु परेन ।
कारलाई पारि नै छाडेर मोटरसाइकल चढी होचिमिन्ह सिटीस्थित ‘दा थेब होटल’ पुग्नै लागेको छु । थाइल्याण्ड र कम्बोडियाभन्दा अलग्गै छ भियतनाको वातावरण । यहाँ छोरी मान्छेले साइकल बढी नै चलाएको देखियो । मोटरसाइकलको लस्कर बाक्लो छ ।
ठूलठूला भवनहरूको दृश्य नजिकँदै छन्, आँखा अगाडि । दिनको उज्यालोले छाड्दैछ । भिलिमिलि बत्तीहरू बल्न थालेका छन् । रातको उज्यालो पर्न थालेको छ, शरीरमा ।
एकैनासे जिउज्यान भएका भियतनामी सुन्दरीहरू साइकल र मोटरसाइकलमा सेताम्मे देख्छु, बाटोभरि । त्यति अग्ला पनि देखिँदैनन्; पातला पनि होइनन् । फौजी ज्यानजस्तै, बान्की परेका महिला देखिन्छन्, हेचिमिन्हमा ।
यहाँका ऐतिहासिक व्यक्तिको नाम हो होचिमिन्ह । भियतनामा होचिमिन्हको निकै ठूलो आदर र प्रसङ्शा हुन्छ । ‘काका हाचिमिन्ह’ को खास नामचाहिँ ‘ङुयेन सिन्ह चुङ’ हो । उनकै नाममा/सम्मानमा राखिएको हो राजधानी सहरको नाम पनि होचिमिन्ह नै । ‘होचिमिन्ह सिटी’ पहिले ‘साइगोन’ नामबाट चिनिन्थ्यो । सन् १९७६ मा यसको नयाँ नामकरण गरिएको हो ।
फ्रेन्च कोलोनियल हुँदाताका लाओस, भियतनाम र कम्बोडियाको समग्र राजधानी थियो यो सहर । भियतनाम स्वतन्त्र भएपछि त्यसको राजधानी हनोइमा सर्यो ।
होचिमिन्ह सिटी विश्वका धेरै महँगा सहरमध्येमा पर्छ । यो सिटीले चीन, लाओस, थाइल्याण्ड हुँदै कम्बोडियाको पुच्छरसम्म छोएको छ । यो सिटीसँग एकातर्फ विभिन्न देश जोडिएका छन् भने अर्कोतर्फ चीनको समुद्र जोडिन्छ । भियतनामलाई पुच्छरको आकार सम्झने हो भने होचिमिन्ह सिटी त्यसको अन्तिम भागमा हो ।
अब फिलिपिन्स गएर फर्कने योजना छ । दा थेब होटलमा सामान्य अङ्ग्र्रेजी बुझ्ने रिसेप्सनिस्ट भाइ रहेछन् । उनैको सहयोगमा स्थानीय भियतनामी खाना खाएर पैसा झिक्न एटीएम जानु छ । नोमपेन्हस्थित एचएसबीसी बैङ्कको एटीएमले नदिएको पैसा यहाँको बैङ्कले ह्वारह्वार्ती निकालिदियो । एक डलर बराबर चौध हजार । पैसा त झोलाभरि बनाएर फर्किएँ, होटलमा ।
इण्डोनेसियामा एक छाक खानाको तीन–चार हजार इण्डोनेसियन रूपैयाँ लिएथ्यो पोहर साल मेदानमा जाँदा । झट्ट त्यसको झलक आयो । यहाँ पनि त्यस्तै–त्यस्तै रहेछ अवस्था । एक छाक खानाको दुई हजार डोङ्ग पर्छ । हजारभन्दा माथिकै नोटको काम हुन्छ यहाँ; अरू त भारी मात्र ।
सहरको वरिपरि रहेका सबै सङ्ग्रहालय, पार्क, बीचका, गार्डेन भ्याएजति घुमें । मजस्तो फिरन्ते पर्यटकलाई दिल खोलेर सहयोग गरिन् होटलकी मिस आमरोतले । सहरमा बस्ने पर्यटकलाई अति नै प्रेमपूर्वक सहायता गरिन् । ओहो ! कति निस्वार्थ सहयोग उनको !
दोस्रो विश्वयुद्धमा यो क्षेत्र तहसनहस हुँदा करिव बीस लाख मानिसहरूले ज्यान गुमाएका थिए भियतनाममा । भियतनामलाई स्वतन्त्र देश बनाउनका लागि जिन्दगीभरि सबैका विरूद्ध उभिएका रहेछन् काका होचिमिन्ह । भियतनामिज वर्कर पार्टीका तर्फबाट कम्युनिस्ट (मार्किस्ट) रिभोल्युसन (अभियान) को नेतृत्व गरेका थिए होचिमिन्हले । त्यसबेला जापान र अमेरिकाविरूद्ध लडेका थिए उनी ।
नेपालको भन्दा ठूलो जनसङ्ख्या रहेको भियतनामको राजधानी पहिले त होचिमिन्ह सिटीमै थियो । पछि भने चीनको नजिक उत्तराखण्डस्थित सहर हनोइमा सर्यो । यो सहरलाई ‘पेरिस इन द ओरियन्ट’ र ‘पर्ल अफ द फारइस्ट’ पनि भनिन्छ । होचिमिन्ह सहर पहिले दक्षिणपूर्वी एसियाकै ठूलो बन्दरगाह पनि हो ।
घुम्न लायक ठाउँहरू धेरै छन् भितनाममा । यहाँका हा लाङ्गे बे ताल र सोन ढुङ्ग गुफा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । कान यो ब्रिज दक्षिणपूर्वी एसियाकै सबैभन्दा लामो पुल हो ।
नेपालमा पाइने दुर्लभ जन्तु– एकसिङे गैैंडाजस्तै विश्वकै दुर्लभ ‘फोबतङ्ग’ मिर्गजस्तै स्तनधारी जनावर पनि भियतनामको पहिचान रहेको बुझियो ।
माथि चिनियाँ कुर्ताजस्तो र तल पाइन्टजस्तो सेतो रङ्गको महिलाले लगाउने कपडालाई स्थानीय भाषामा ‘आओ दाइ’ भनिँदो रहेछ । पुरुषले पातलो कालो कोटजस्तो र महिलाले लगाएको आओ दाइ पोशाक चट्ट सुहाएको छ ।
सहर–बजार, अफिस, स्कुल प्रायः एकै किसिमको पहिरनमा, सलक्क–सलक्क परेका जिउडाल र एकछत्रका मान्छेहरू देखिए होचिमिन्हमा । सायद सी फुड बढी खाएर होला, देख्दै सुकिला । लुगा पनि त्यस्तै । खाना पनि त्यस्तै ।
करिव दस दिन होचिमिन्हमा रहँदा थरीथरीका भियतनामिज परिकारहरूको स्वाद लिइयो । फो नुडल सुप, बिफ ब्रिस्केट, राइस नुडल, किस सस, सोया सस, मिन्ट र बेसिल लिफ हरेक परिकारमा आउँछन् । भियतनामीज परिकार देख्दा चाइनिज खानाजस्तो तर बनाउने तरिका र स्वाद भने फरक । यहाँको मेन्युमा सी फुडका परिकार बढी आउँछन् । इन्डियन र चाइनिज खाना पनि प्रशस्तै पाइन्छन् होचिमिन्हमा । तर, मलाई भने यहाँको स्वाद नै मन पर्यो ।
वन–वे टिकटले नै मनिला इन्ट्री भइयो । नेपाल पासपोर्टका लागि भिसा लाग्दैन फिलिपिन्स छिर्न । तर, विनाभिसा इन्ट्रीका लागि आउँने–जाने दुबै तर्फको रिर्टन–वे टिकट कन्फर्म हुनुपर्छ ।
मनिलाको मायाले जित्यो क्यार, होचिमिन्ह समुद्र पार जाने तयारी भयो । तर, मिस आमरोतको निस्वार्थ सहयोगले मन भुतुक्क भएको छ । अब उनीबाट छुटेर हिँड्नु छ । ‘पर्यटक न परियो, फेरि त पक्कै आमरोतलाई भेट्न पाइँदैन होला’– सोचिरहेको छ मनले ।
अब उड्नै लागेको छु । ‘आओ दाइ’ पोशाकमा सजिएकी उज्याली आमरोतको अनुहार मनमा लिएर जहाजको भर्याङ चढी ढोकाभित्र छिर्नुअघि उभिएरै हेरें ।
उनलाई हैरी नै रहें । मन त भरिएन । तर, मेरा आँखा भरिएर आए । छुटेछ मुटुको एउटा टुक्रा, त्यही सहर होचिमिन्हमा ।