गर्भधारणमा समस्या: जान्नैपर्ने केही कुरा

प्रा.डा. दिनेश बाँस्तोला

विपरीतलिङ्गी जोडीबची यौन सम्पर्क हुँदैमा गर्भ रहन्छ नै भन्ने निश्चित कहाँ हुन्छ र ! यौन सम्पर्क हुँदैमा बच्चा जन्मन्छ नै भन्ने निश्चित हुँदैन; त्यसका निम्ति धेरै कुराहरू मिल्नुपर्ने हुन्छ ।

गर्भधारणका लागि विपरीतलिङ्गी जोडीबीच यौन समागम हुनु पहिलो अनिवार्य सर्त हो । तर, ठीकसँग यौनक्रिया गर्दा समेत गर्भधारण नहुने पनि सम्भावना हुन्छ । गर्भधारण नभएमा तथा बाँझोपन भएमा महिला वा पुरुषमध्ये कसको कारणले त्यस्तो समस्या भएको हो भन्ने यकिन गर्नका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य परीक्षणश्चात कसको, के कारणले बच्चा नजन्मेको हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । विकसित मुलकहरूको तथ्याङ्कअनुसार ३५ प्रतिशत पुरुषका कारण र ६५ प्रतिशत महिलाका कारण बच्चा बच्चा नहुने गरेको पाइन्छ ।

यौन–अज्ञानता

यौन गर्न पनि जान्नुपर्छ । महिलाको योनीको झिल्ली तोडिएको छैन भने पुरुषको अनभिज्ञताका कारण यौन गरें भन्ने भ्रम मात्र पनि पर्न सक्छ । महिलामा यौनको अनुभव नभएको अवस्थामा यौनक्रिया सफल नभएको (योनीभित्र लिङ्ग नपसेको) कुरा नै थाहा नहुन सक्छ ।

यौनक्रिया गर्दा योनीभित्र लिङ्ग नपसी पुरुषको बीर्य–स्खलन बाहिरै भएमा गर्भधारण हुँदैन । महिलाको योनीभित्रै बीर्य–स्खलन हुनु गर्भधारणका लागि पहिलो र अनिवार्य सर्त हो ।

शुक्रकीटको भूमिका

पुरुषको ‘सेनिनेफेरस’ नलीबाट शुक्रकीट बाहिर ननिस्कँदा गर्भधारणमा बाधा पुग्छ । पुरुषको डिम्बकोषबाट शुक्रकीट उत्पादन नभएको अवस्थामा गर्भधारण सम्भव हुँदैन । बीर्य नै स्खनल भएको छ तर त्यो बीर्यमा शुक्रकीट छैन भने गर्भधारण हुँदैन । यौन सम्पर्क गर्दा पुरुषको शुक्रकीट स्खलित नभएमा महिलाको वयस्क डिम्ब निष्काशन भए पनि गर्भधारण हुँदैन ।

शुक्रकीट बग्ने ‘भास डिफरेन्स’ भित्रै जोडिएको तथा ‘भास डिफरेन्स’ लाई टुक्रा पारेर जोडिएको स्थिति छ भने शुक्रकीट उत्पादन भएर पनि भित्रै मर्ने अवस्था हुन्छ । दुवैतर्फ ‘भास डिफरेन्स’ काटिएका पुरुषबाट गर्भधारण हुँदैन ।

‘हाइपोथालामस’, अगाडिको पिट्युटरी तथा लक्षित अङ्गमा समस्या निम्तिएको अवस्थामा पनि गर्भधारण हुँदैन । मस्तिष्कमा ‘हाइपोथालामस’ हुन्छ, ‘हाइपोथालामस’ बाट ‘गोन्याडोट्रोफिन’ निष्काशित भई पिट्युटरी ग्रन्थीमा जम्मा भएर रहन्छ । पिट्युटरी ग्रन्थीबाट निष्काशित भएको हर्मन लिक्षित अङ्गमा पुगेपछि बल्ल त्यसले काम गर्छ ।

शुक्रकीटको अवस्था असामान्य रहेको खण्डमा गर्भधारण हुँदैन । शुक्रकीटको सङ्ख्या थोरै भएको खण्डमा पनि गर्भधारण हुँदैन । पुरुषको बीर्य सामान्यतया तीन मिलिलिटर हुन्छ र गर्भधारणका लागि यही मात्रा आवश्यक पर्छ ।

सामान्यतया प्रतिएमएल १० करोड शुक्रकीटको सङ्ख्या र तरल पदार्थको २० प्रतिशत शुक्रकीट हुनु सामान्य अवस्था हो । २० प्रतिशतभन्दा बढी शुक्रकीट भएमा पनि गर्भधारण नहुने सम्भावना बढी हुन्छ; त्यो पनि असामान्य अवस्था हो ।

निषेचनका समस्या र समाधान

महिलाको महत्वपूर्ण अङ्ग हो– सर्भिक्स । रजश्वला भएका बेला यसैमा हुने सानो प्वालबाट रगत निस्केर बाहिर बहन्छ । सर्भिक्सको प्वाल वरिपरिको छाला या मासु टाँसिएर शुक्रकीट त्यहाँबाट भित्र नछिरेमा गर्भधारण हुँदैन ।

पुरुषको बीर्य स्खलन भएपछि महिलाको पाठेघरमा शुक्रकीट पुग्दछन् । वातावरण अनुकूल नभएमा पुरुषको शुक्रकीट र महिलको डिम्ब निषेचित भएर पाठेघरमा बस्न सक्दैनन् र गर्भधारण प्रक्रिया विकसित हुन सक्दैन ।

पाठेघरको पूर्ण विकास नभएमा तथा सुकेमा पनि गर्भ नरहन सक्छ । यस्तो समस्या प्रायः आणुवाङ्शिक एवम् पारिवारिक हुन्छ । डिम्बनलीमा अवस्थित डिम्ब निष्काशित हुने बाटो बन्द भएमा तथा डिम्बनली बटारिएको खण्डमा डिम्ब निषेचित भएर बाटैमा रोकिन्छ र गर्भ रहन पाउँदैन । डिम्ब असामान्य भएको लगायतका अवस्थामा पनि गर्भधारण हुँदैन ।

यौन र गर्भधारणसँग प्रत्यक्ष सम्बन्धित नभएका अरु कुनै शारीरिक या मानसिक रोग लाग्दा पनि गर्भधारण प्रक्रियामा अवरोध हुन सक्छ । विभिन्न किसिमका यौनरोग लागेमा पनि यस्तो समस्या हुन सक्छ । गर्भधारण नभएमा अर्थात् बच्चा नजन्मिएमा स्वास्थ्य परीक्षण गराई आवश्यक उपचार गराएर समस्या समाधान गर्न सकिन्छ ।

शुक्रकीट र भ्रुण निषेचित भएरै पनि त्यो पाठेघरसम्म नपुगी खुम्चने समस्या भएमा भ्रुणको विकास भएर गर्भधारण हुन पाउँदैन । यस्तो अवस्थामा त्यो भ्रुण बाहिर निस्कन्छ र गर्भ खेर जान्छ । गर्भधारण प्रक्रियाअन्तर्गत यस्ता अनेकौं जटिल एवम् प्राविधिक समस्या हुन सक्ने भएकाले गर्भधारण नहुने या बच्चा नजन्मने समस्या भएमा दक्ष चिकित्सकसँग परामर्श लिई समस्याको समाधान गर्न पहल गर्नुपर्छ ।