ग्यान्तिङ हाइल्याण्ड चुम्दाको अद्वितीय अनुभूति

डा. डीबी सुनुवार

‘पासपोर्ट एकै ठाउँमा राख्नुहोला’– सिङ्गापुरको हवाइजहाज ग्राउण्डमा छिर्नुअघि एयरपोर्टमा एनाउन्स भइरहेको छ । एयरपोर्टमा चेकजाँच सकेपछि सुरु हुन्छ, हाम्रो हवाइयात्रा । करिव एक घन्टामा झरियो मलेसियाको क्वालालम्पुर एयरपोर्ट । मङ्सिरे घामको बैंशालू स्पर्शजस्तो अनुभूति भइरहेको छ यतिखेर ।

हुन त यसअघि पनि पुगिसकेको थिएँ मलेसिया । मेरा लागि यो पाँचाैं पटकको मलेसिया यात्रा हो । यस पटकको यात्रा क्वालालम्पुरबाट सुरु हुन्छ । ट्रेन यात्रामा छु यतिखेर । मलेसियाको विमानस्थल बाहिर विदेशी पाहुनालाई ‘सलामत दाताङ्’ भन्दै गरिएको न्यानो स्वागतमा रमाउँदै अगाडि बढ्छ हाम्रो यात्रा ।

मलेसियाका वन, पाखा र सडकलाई व्यवस्थित गरिएको देखेर मनमनै विकासका तान बुन्दैछु म पनि । दुई दशकअघिसम्म आर्थिक विकासका दृष्टिले नेपालजस्तै अवस्थाको मलेसियाले अहिले युरोप र अमेरिकालाई नै लखेट्न थालिसकेको लक्षण त्यहाँ देखिने विकासले दर्शाउँछ ।

पाल्म, च्याउ, झ्याउ, नोनी, यार्सागुम्बा र घ्युकुमारीजस्ता वनस्पतिजन्य धेरै जडीबुटीको उत्पादन गर्ने फार्महरूको भ्रमण कार्यक्रममा छौं हामी । गुणस्तरीय उत्पादनका लागि प्रयोग हुने यहाँका विभिन्न उत्पादन विधिले हाम्रो ध्यान तान्छ

घुमघामका लागि धेरै ठाउँहरू छन् मलेसियामा । लङ्कावी हाइल्याण्ड, क्यामरोन हाइल्याण्ड र ग्यान्तिङ हाइल्याण्डजस्ता सुन्दर ठाउँहरूले जो–कसैको मन तान्छन् । यी ठाउँहरू संसारकै प्रमुख पर्यटकीय केन्द्र हुन् ।

गर्मी छल्न डाँडामा बस्ने परियोजना

ग्यान्तिङ हाइल्याण्ड निर्मित हुनुको एउटा रमाइलो प्रसङ्ग रहेछ । जाडो ठाउँमा बसेका मान्छेलाई न्यानो ठाउँ प्यारो लाग्छ; गर्मी ठाउँमा बसेका मान्छेलाई चिसो ठाउँ रमणीय लाग्छ । जाडो र गर्मीको प्रसङ्गकै चर्चा गरौं– लामो समयदेखि समुद्र नजिक भोगिरहेको गर्मीबाट छलिन मलेसियन चाइनिज नागरिक जिङ सिया वाङले जुक्ति निकालेछन् । बाह्रै महिना हुस्सु लाग्ने डाँडामा कसरी बस्ने त भन्नेबारे उनले योजना बुनेछन् ।

वाङले बनाएको परियोजना त्यहाँको सरकारबाट धेरै पटक इन्कार गरिएछ । तर, अन्तिममा भने चिसो डाँडामा बस्ने उनको त्यो योजना अनुमोदित भएछ । त्यसपछि नै डाँडामा बस्ने योजना बनाएका ती व्यक्तिले प्राकृतिक सम्पदालाई कुनै असर नपर्ने गरी संरचनाहरू बनाउन थाले । अन्ततः आनन्दका साथ डाँडामा बस्ने वाङको सपना साकार भइछाडेछ ।

त्यो संरचना डाँडामा घुम्न जाने पर्यटकका निम्ति पनि आकर्षणको केन्द्र बन्दै गयो । डाँडामा बस्ने रहरले तिनै व्यक्तिले सिँगारपटार गरेको डाँडो नै ग्यान्तिङ हाइल्याण्डको नामले प्रसिद्ध छ । मोटरमा जाँदा क्वालालम्पुरबाट करिव तीन घन्टा लाग्ने ग्यान्तिङ हाइल्याण्ड एउटा अद्भूत मानव–परिकल्पना हो । सो हाइल्याण्डको तल (फेदीमा) पर्यटकहरूका मोटर पार्किङ गर्न २६ तले भवन बनाइएको दृश्य आफैंमा रोचक छ । लिफ्ट, केबलकार र साना कार गरी तीन किसिमका सवारी साधनबाट पुग्न सकिन्छ सो हाइल्याण्डमा ।

अमेरिकाको लसभेगास पछिको ठूलो मानिने क्यासिनो घरदेखि पाँचवटा पाँचतारे होटल समेत त्यहीं बनाइएको दृश्यले धेरैको मन नतान्ने कुरै भएन । मनोरञ्जनका निम्ति पनि यहाँ कुनै पनि सुविधाको कमी छैन । स्विमिङ पुल, रेस्टुरेन्ट, बार, डिस्को, क्यासिनो, फ्लायर्स, फनी गेम्स, हर्स राइड, मिनी ट्रेन, वाटर बोटजस्ता धेरै सुविधाले सम्पन्न छ यो हाइल्याण्ड । घुम्न पुग्ने पर्यटकलाई आनन्दित तुल्याउन आर्किटेक्ट तथा व्यवस्थापन पक्षमा निकै नै ध्यान पुर्‍याइएको छ ।

पर्यटकको भीड छ । दोहोरै आवतजावत तीव्र छ । दैनिक करिव पचास हजार मान्छे घुम्नका लागि यहाँ आउने गरेको एक मलेसियनले सुनाए । करिव पैंतीस हजार कर्मचारीहरूले चौबीसै घन्टा सिफ्टवाइज काम गर्ने गरेको सुन्दा मनमा प्रश्न उब्जियो– यस्तो हाइल्याण्ड नेपालमा पनि बनाउन सकिँदैन र ? नेपालका सुन्दर डाँडापाखा प्रयोगविहीन छन् ।

ननिदाउने हाइल्याण्ड

ग्यान्तिङ हाइल्याण्डले कहिल्यै ‘आराम’ लिँदैन अनि यो थकित पनि कहिल्यै हुँदैन । अझ भन्ने हो भने ग्यान्तिङ हाइल्याण्डकोे एउटा मुख्य विशेषता नै यही हो । मलेसियाको विकासलाई यसले कति योगदान गरेको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

संसारभरकै पर्यटकका निम्ति आकर्षणको केन्द्रविन्दु हो, ग्यान्तिङ हाइल्याण्ड । यहाँ केवल हिमाल छैन, समुद्रदेखि बाह्रै महिना हुस्सु लाग्ने विशाल पहाडहरूसम्म पनि छन् । त्यसैले मलेसियालाई ‘अ फ्लेभर अफ एसिया’ भनिएको हुनुपर्छ । करिव–करिव नेपालकै जस्तो भूभाग भएको मलेसिया अन्तर्गत नौ वटा राज्यहरू छन् ।

ग्यान्तिङ हाइल्याण्डको चारदिने मनोरञ्जक यात्रा पूरा भइसक्यो । तर, यहाँबाट निस्कनै मन छैन । यो रोमाञ्चक भ्रमणबाट मनले नमानी–नमानी निस्केपछि क्वालालम्पुर सिटी टुर गर्छाैं । ११ सेप्टेम्बरमा हवाइजहाज ठोक्काएर ध्वस्त बनाइएका अमेरिकाका ट्विन टावर जस्तै–जस्तै आकृतिको ‘पेट्रोनाक्स टावर’ अवस्थित छ मलेसियामा । ८८ तले छ पेट्रोनाक्स । संसारकै अग्ला टावरहरूमध्येको ‘केएल टावर’ पनि यहीं छ ।

विकासको रोल मोडल

‘अत्याधुनिक विकास’ को लामो इतिहास नभएको मलेसियामा देखिने विकासले नलोभ्याउने कुरै भएन । दातो डा. महाथिर मोहम्मद प्रधानमन्त्रीका रूपमा उदाएपछि नै मलेसियाको आर्थिक प्रगतिले तीव्रता हासिल गरेको मानिन्छ । महाथिर ९२ वर्षको उमेरमा प्रधानमन्त्री बनेका रहेछन् । पक्कै पनि विकासप्रतिको दूरदृष्टिकै कारण उनी प्रधानमन्त्री चुनिएको हुनुपर्छ ।

पन्ध्र–बीस वर्षकै अवधिमा मलेसियाले विकासमा फड्को मारेको हो । त्यसैले, मलेसियाली विकासको नमूना र अभ्यासलाई नेपालको विकासका निम्ति समेत महत्वपूर्ण सन्दर्भ (रेफरेन्स) का रूपमा लिन सकिन्छ । ‘विकासको मुल फुटाउन’ राजनीतिक नेतृत्व तथा प्रशासनिक व्यवस्थापन इत्यादिको निकै महत्वपूर्ण भूमिका हुँदोरहेछ भन्ने तथ्य मलेसियाले संसारसामु देखाइदिएको छ ।

मलेसियाको प्राकृतिक सुन्दरता तथा विकासले आँखा लोभ्याएको छ; यात्रा टुङ्ग्याउनै मन छैन । तर, बिदा त हुनैपर्‍यो ।

बाईबाई मेलेसिया ! बाईबाई क्वालालम्पुर !! बाईबाई मनमोहक ग्यान्तिङ हाइल्याण्ड !!!