रजश्वला: धार्मिक–सामाजिक बन्देज र व्यवस्थापन

प्रा.डा. दिनेश बाँस्तोला

रजश्वलालाई नेपाली समाजमा ‘नछुने’, ‘पर सर्ने’ तथा ‘छाउ’ भन्ने गरिएको छ । सामान्यतः १० देखि १२ वर्षका नवयुवतीदेखि सुरु हुने र करिव ५० वर्षको उमेरसम्म मासिकरूपले निरन्तर चलिरहने शारीरिक प्रक्रिया अर्थात् चक्र हो, रजश्वला । यो प्रक्रिया स्वस्थ महिलाका निम्ति अनिवार्य सर्त नै हो । यसर्थ, नारीजीवन सामान्यतः करिव चार दशकसम्म रजश्वला चक्रकै वरिपरि घुमिरहन्छ भनेर पनि बुझ्न सकिन्छ ।

रजश्वला चक्र भनेको मूलतः रक्तश्राव नै हो । यो रक्तश्राव अन्त कतैबाट बहने होइन, पाठेघर हुँदै निस्केर पाठेघरको मुख अर्थात् गुप्ताङ्गबाट बाहिर निस्कने हो । यस्तो रगतमा श्लेष्मा, सेतो रक्तकोष र रातो रक्तकोषहरूको सम्मिश्रण हुन्छ । रजश्वलाका बेला दैनिकरूपले सामान्यतः ५० मिलिलिटर रगत बहन्छ र यो क्रम सरदर तीनदेखि पाँच दिनसम्म चल्दछ । यसरी एक पटक रजश्वला हुँदा महिलाको शरीरबाट १५० देखि २५० मिलिलिटरसम्म रगतको क्षय हुन्छ ।

पहिलो पटक रजश्वला भएपछि महिलालाई त्यसपछि आफूलाई रजश्वला हुने दिन करिव–करिव थाहा हुन्छ । सामान्यतया २८ देखि ३० दिनमा रजश्वला हुन्छ । तर, कुन समय (घन्टा–मिनेट र बिहान, दिउँसो, साँझ वा राति) मा हुन्छ भन्ने कुराचाहिँ थाहा हुँदैन; त्यो कुरा आफ्नो बसमा हुँदैन । त्यसैले रजश्वला हुनुअघि नै पूर्वतयारी गर्नु आवश्यक हुन्छ; मानसिकरूपमा तयार रहनुका साथै व्यवस्थापकीय तयारी समेत गर्नुपर्ने हुन्छ । अझ विभिन्न कार्यालयमा काम गर्ने, सामाजिक–सांस्कृतिक जिम्मेवारी बहन गर्ने र भ्रमण–यात्रामा निस्कनुपर्ने महिलाले त विशेष तयारी नै गर्नुपर्ने हुन्छ ।

धार्मिक–सामजिक दृष्टिकोण

रजश्वलाका सन्दर्भमा अधिकाङ्श धर्म, जातजाति तथा मुलुकमा फरक–फरक नै भए तापनि विशेष सामाजिक–सांस्कृतिक मान्यता एवम् प्रचलन कायम छन् । रजश्वलाको समयमा पूजापाठ गर्न, मन्दिर जान, दीप प्रज्वलन, आरती, प्रार्थना इत्यादि गर्न बन्देज छ । हिन्दू समाज र संस्कृतिमा मात्र नभई चर्चमा प्रार्थना गर्न र कुरान पढ्नमा समेत रजश्वलाका बेला महिलालाई बन्देज छ । यस्तो बेला ध्यान–योग गर्ने कुरा त झन् अझै परको विषय नै भइहाल्यो ।

पश्चिम नेपालमा चाहिँ छाउपडी प्रथा कायम छ । यो प्रचलन बिस्तारै घट्दै गएको भए तापनि निर्मूल भइसकेको भने छैन । ‘छाउ बार्ने’ भन्दै रजश्वलाका बेला महिलालाई छाउगोठ एक्लै राख्ने चलन छ । रजश्वलाका बेलाको सांस्कृतिक मान्यता अधिकाङ्श देश, सम्प्रदाय र धर्मावलम्बीहरूमा अझै पनि निकै जटिल छ ।

रजश्वलाको व्यवस्थापन

रजश्वला भएका बेला जथाभावी रगत चुहिन नदिनका लागि राम्रो, सफा, धोएको सुती (खद्दर) को कपडा प्रयोग गरी गुप्ताङ्गलाई सुरक्षित गर्न सकिन्छ । यस्ता कपडा आफैंले बनाएर नै प्रयोग गर्न सकिन्छ । यसो गर्दा सस्तो, सुलभ र सुरक्षित हुन्छ । आजभोलि तयारी प्याड पनि बजारमा सर्वसुलभ रूपमै उपलब्ध हुन थालेका छन् ।

त्यसो त रजश्वला भएका बेला ‘योनी कचौरा’ प्रयोग गर्ने पनि चलन छ । पाठेघरबाट बगेको रगत योनीभित्रै योनी कचौरामा जम्मा हुन्छ । २४ घन्टामा सामान्यतया ५० एमएल रगत बहन्छ भने यो कचौराको क्षमता सामान्यतः १५० एमएल हुन्छ । कचौरा भरिएपछि सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ र यसलाई केही वर्षसम्म निरन्तर पुनः प्रयोग गर्न मिल्छ ।

कपडा, सुग्घरी गद्धा वा योनी कचौराको व्यवस्थापन संसारभर नै ठूलै समस्याको विषय बनेको छ । किनभने, फालिसकेपछि यी सामग्री सडेर माटो हुन सय वर्षभन्दा बढी लाग्छ ।

अनिवार्य प्राकृतिक प्रक्रिया

रजश्वला, छाउपडी वा छाउप्रथा नेपालको मात्र नभई संसारभरकै समस्या हो । महिलामा हुने यो अनिवार्य प्राकृतिक प्रक्रिया महिलाको मात्र नभई पुरुषहरूको समेत साझा समस्या हो किनकि व्यवस्थापकीय, सामाजिक, सांस्कृतिक र आर्थिकरूपमा पुरुषले साझेदारी गरिदिँदा यो प्रक्रिया ‘समस्या’ बन्न पाउँदैन; ‘समाधान’ बनिदिन्छ ।

रजश्वला चक्र शरीर क्रिया विज्ञानको अनिवार्य सर्त हो । यो विषयमा धार्मिक अगुवा, पुजारी, नेता, शिक्षक, स्वास्थ्यकर्मी र स्वयम् महिलालगायतले वस्तुपरक ढङ्गबाट बुझ्नु अनिवार्य छ । नारीजातिमा हुने यस्तो प्राकृतिक प्रक्रियालाई अप्राकृतिक भनेर÷ठानेर महिलामाथि अनावश्यक दबाब तथा तनाव सिर्जना गरिदिनु अज्ञानता, असभ्यता र अन्याय हो ।

रजश्वलाका विषयमा संसारभर नै विभिन्न खालका विभ्रम, मान्यता, संस्कृति, दृष्टिकोण एवम् प्रचलन परापूर्वकालदेखि हालसम्म चलिरहेकै छन् । ठाउँविशेष र समयअनुकूल परिमार्जित र परिवर्तित हुँदै आए तापनि अहिलेसम्म प्रायः सबैतिर गलत मान्यता र दृष्टिकोण नै हावी छ । रजश्वलालाई ‘नकारात्मक’, ‘पाप’, ‘अशुद्धता’ इत्यादि ठान्ने र त्यसै अनुसार व्यवहार गर्ने मान्यता गलत हो । शासक–प्रशासक, सामाजिक–सांस्कृतिक अभियन्ता, स्वास्थ्यकर्मी, शिक्षक र सचेत नागरिकलगायतले रजश्वलासम्बन्धी यथार्थता स्थापित गर्नु जरुरी छ । रजश्वलासम्बन्धी रुढीवाद, भ्रम र विकृतिजन्य व्यवहारको यथाशिघ्र अन्त्य जरुरी छ ।