अफवाह र यथार्थ: आत्महत्या कति बढ्यो कोरोना सङ्कटपछि ?
गोपाल ढकाल
कोरोना महामारी, त्यसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै जारी गरिएको लकडाउन तथा विभिन्न मिति र स्थानमा पटक–पटक लागू गरिएका निषेधाज्ञाका कारण शारीरिक र मानसिक स्वास्थ्यका साथसाथै सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिकलगायतका स्थितिहरूले मानिसलाई गम्भीर असर पुर्याएको छ । यो अवस्थाले सबै तह–तप्का, उमेर, वर्ग र समुदायका मानिसलाई प्रत्यक्षतः प्रभावित तुल्याएको छ । यसै परिवेशको उपजस्वरूप कोरोना सङ्कट सुरु भएयता आत्महत्या गर्नेको सङ्ख्या समेत ह्वात्तै बढेको छ । आम सञ्चारका माध्यमहरूमा आजभोलि ‘आत्महत्याको अवस्था भयावह’ भन्नेजस्ता समाचार शीर्षकहरू छाउन थालेका छन् ।
‘आत्महत्याको भयावह अवस्था’ कोरोना प्रकोपपछि मात्रै निम्तिएको समस्या होइन । विश्वका सबै मुलुकहरूमा जस्तै नेपालमा पनि आत्महत्याको समस्या धेरै पहिलेदेखि नै जनस्वास्थ्यका क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका रूपमा रहँदै आएको छ । विभिन्न तथ्याङ्कहरूले देखाएअनुसार नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष आठदेखि दस प्रतिशतले बढ्दै आइरहेको छ ।
आत्महत्या वृद्धिदर: तुलनात्मक प्रस्तुति
नेपाल प्रहरीको तथ्याङ्कअनुसार कोरोना महामारी सुरु हुनुभन्दा अगाडि नै अर्थात् आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिए । यो सङ्ख्यालाई हिसाब गर्दा दैनिक सरदर १६ जना पर्न आउँछ । कोरोनाको महामारी सुरु भएपछि अर्थात् आर्थिक वर्ष २०७६/७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरूको सङ्ख्या ६ हजार २ सय ७९ रहेको छ । यो सङ्ख्यालाई हिसाब गर्दा दैनिक सरदर १७ जनाले आत्महत्या गरेर आफ्नै ज्यान गुमाउने गरेको देखिन्छ ।
पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरी ज्यान गुमाएको तथ्याङ्क छ । यो सङ्ख्यालाई हिसाब गर्दा भने औसतमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । र, यो सङ्ख्या आर्थिक वर्ष २०७६/७७ को भन्दा १४ प्रतिशतले बढी हो ।
प्राकृतिक विपत्ति पर्दा, रोग–व्याधिको महामारी फैलँदा र अनेकौं किसिमले असहज एवम् जोखिमपूर्ण अवस्था सिर्जना हुँदा मानसिक स्वास्थ्य समस्या तथा आत्महत्यादर बढेर जाने जोखिम त हुन्छ नै । तर, आत्महत्याको कहालीलाग्दो तथ्याङ्क कोरोना महामारीपछि मात्र बढ्यो र कोरोनाकै कारण आत्महत्याको अवस्था भयावह भयो भन्ने बुझाइ तथा प्रचारबाजी सरासर गलत हो । कोरोनाको सङ्कट सुरु भएयता आत्महत्याको दर केही बढेर गएको भने यथार्थता हो; जुन कुरा यहाँ प्रस्तुत तथ्याङ्कबाटै स्पष्ट भैहाल्छ ।
भ्रामक प्रचारबाजी र दुष्प्रभाव
आत्महत्याको सवाल एकदमै समवेदनशील विषय हो । यसबारे निकै गहन अध्ययन गरेर, यथार्थता बुझेर र परिवेशको सही आँकलन गरेर मात्र समाचार÷सामग्री प्रस्तुत गर्नु जरुरी छ । अतिरञ्जनापूर्ण होहल्ला गर्ने, सनसनी फैलाउने तथा ‘भ्युज’ एवम् ‘टीआरपी’ बढाउने लालसा र होडबाजीमा मात्रै सतही प्रचारबाजी फैलाउने छुट कसैलाई पनि हुनुहुँदैन/छैन ।
आत्महत्याबारे अतिरञ्जना गर्नु हुँदैन र यो मामलालाई सनसनीपूर्ण पनि बनाउनु हुँदैन । यसो गर्दा समाज र नागरिकमा झनै नकारात्मक असर पर्छ । आत्महत्याबारे फैलाइने अतिरञ्जनाका कारण डिप्रेसनमा गएका र आत्महत्याको सुषुप्त सोच बनाएकाहरूलाई ‘हौसला’ बढ्न जान्छ र छिट्टै नै आत्महत्या गरिहाल्ने स्थितितर्फ धकेल्छ । अर्कातिर अन्जान र अबोध बालबालिकाहरूले समेत त्यसैको ‘सिको’ गर्ने खतरा हुन्छ ।
आत्महत्या: विश्व–अवस्था
आत्महत्या विश्वमै जनस्वास्थ्यका क्षेत्रको एउटा निकै जटिल समस्या बनिरहेको छ । विश्वभर प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्माहत्या गर्छ र प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्दछ; १ जनाले आत्महत्या गरिसक्दा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् भने अरु धेरै व्यक्तिहरूले आत्महत्या गर्नेबारे गम्भीररूपमा सोचिसकेका हुन्छन् ।
विश्वभर प्रत्येक वर्ष सरदर ८–१० लाख व्यक्तिले आत्महत्या गरेर आफ्नो ज्यान गुमाउँदै आएका छन् । यो सङ्ख्या भनेको युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारीलगायतका कारणबाट हुने मृत्युभन्दा निकै बढी हो । विश्वभर महिलाको तुलनामा पुरुषहरूले नै बढी आत्महत्या गर्ने गरेका छन् । तर, आत्महत्याको प्रयास गर्नेमा भने पुरुषभन्दा महिला नै बढी छन् ।
किन गर्छ कसैले आत्महत्या ?
प्रायः सबै मानिस आफ्नो दीर्घजीवन नै चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘मर्ने कसैको रहर हुँदैन…’ भन्ने त गीत नै छ हामीकहाँ । तर, किन कोही व्यक्ति भने आत्महत्या नै गरेर अकालमा आफ्नो जीवन आफैं समाप्त पार्न खोज्छ ? प्रश्न गम्भीर छ ।
आत्महत्याको अवस्थामा पुगिसकेको व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भइसकेको देख्छ÷ठान्दछ । र, मर्नुबाहेक अरु कुनै पनि विकल्प भेट्दैन/बाँकी रहेको ठान्दैन । ऊ चरम निराशामा डुबेको हुन्छ ।
मान्छे आत्महत्या गर्नेसम्मको अवस्थामा पुग्नुका धेरै कारणहरू हुन्छन् । आत्महत्या गर्नेहरूध्येका ९० प्रतिशत व्यक्ति मानसिक रोगी भएको पाइएको छ । तीमध्ये पनि ‘डिप्रेसन’ नामक मनोरोग लागेका धेरै भेटिएका छन् । कसै–कसैले भने क्षणिक आवेगमा आएर पनि आत्महत्या गरेको पाइएको छ । अत्यधिक जाँड–रक्सी तथा लागू पदार्थ सेवन गरेका कारण र कडा खालको मानसिक रोग लागेका कारण आत्महत्या गर्नेहरूको सङ्ख्या पनि उल्लेख्य नै छ । आनुवाङ्शिक, मनोवैज्ञानिक, सामाजिक–सांस्कृतिक तथा जोखिमका अन्य तत्वहरूको संयुक्त प्रभावका कारण पनि आत्महत्या हुने गर्दछ । धेरैजसो अवस्थाका आत्महत्या वा आत्महत्या प्रयासलाई मानसिक रोगको लक्षणका रूपमा नै लिइनु पर्दछ ।
आत्महत्या: उच्च जोखिममा को–को ?
कुनै शारीरिक रोगका कारण कुनै व्यक्ति उच्च जोखिमा रहेजस्तै मानसिक रोग र आत्महत्याका हिसाबले कुनै व्यक्ति उच्च जोखिममा रहेको हुन सक्छ । डिप्रेसन भएका, कुनै दुःखद् घटनाबाट अत्यधिक प्रभावित भएका, पटक–पटक आत्महत्याको असफल प्रयास गरिसकेका, तनावपूर्ण पेशा–व्यवसायमा रहेका, पारिवारिक झैझगडा वा उल्झनमा फसेका, आर्थिक सङ्कटमा परेका, बेरोजगार तथा लागू पदार्थको कुलतमा फसेकाहरू आत्महत्याका हिसाबले उच्च जोखिमयुक्त व्यक्ति मानिन्छन् ।
सामान्य वा कडा जेसुकै होस्, मानसिक रोग जोसुकैलाई पनि लाग्न सक्दछ । तर, मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले नकारात्मक नजरले हेर्दछ; फरक तरिकाले बुझ्दछ । हाम्रो परम्परागत मान्यता एवम् बुझाइले मानसिक रोगलाई ‘पूर्वजन्मको पाप’ र ‘अपराध’ ठान्दछ; ‘देवी–देवता’ वा ‘कुलदेवता’ बिग्रेको भन्दछ ।
आत्महत्या : दृष्टिदोष र दृष्टिकोण
आत्महत्या गर्नेहरूलाई हाम्रो समाजले ‘पानीमरुवा’ र ‘लाछी’ को उपमा दिन्छ । आत्महत्या गर्नेको ‘अनुहार हेरियो’ भने ‘अगति परिन्छ’ भनेर आफ्नो अनुहार लुकाउँदै र नाक खुम्च्याउँदै हिँड्नेहरू पनि समाजमा थुप्रै भेटिन्छन् । त्यसैले आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ नै कम हुने तथा ‘पानी बाराबार’ सम्म हुने गरेका दृष्टान्त समेत यदाकदा पाइन्छन् ।
‘हरपल मरी–मरी बाँच्नुभन्दा त एकै पलमा मर्ने मन लाग्न सक्छ; त्यही पललाई केहीबेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ…’ एउटा गीतले भने झैं दुःख र निराशाको क्षणमा धैर्य गरेर केहीबेर÷केही दिन पर्खने हो भने त्यो पल त बितेर गैहाल्छ; त्यसपछि आत्महत्याको सोच, निर्णय र विचारमा स्थायीरूपले नै परिवर्तन आउन सक्छ । त्यो ‘थोरै समय’ को धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईंले कसैलाई गर्नुभएको सानो सहयोग वा तपाईंले गर्नुभएको थेरै धैर्यता जीवन परिवर्तनका लागि ‘पर्याप्त’ समेत हुनसक्छ ।
संसार त हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ, जीवनका अनेकौं घटनाक्रमहरूका कारण तुवाँलो लाग्न गई यही सुन्दर संसार बेलाबखत विकृतरूपमा देखापर्न सक्ने मात्र हो । तुवाँलो लागेका बेला धैर्य गरियो भने फेरि अवश्य नै त्यो तुवाँलो फाट्दछ । जीवन बाँकी रहे मात्र गल्तीहरू सच्याउन सकिन्छ; आफ्ना गल्तीहरूको प्रायश्चित गर्न सकिन्छ । आफू नै नरहेपछि त भूलहरूलाई सुधार्ने, प्रायश्चित गर्ने र गुमेका अवसर एवम् लाभहरूलाई पुनप्र्राप्त गर्ने मौका नै पो पाइँदैन । त्यसैले आत्महत्या ‘समाधान’ हुँदै होइन, बरु आफूसहित बाँकी रहेका÷रहने परिवारजन र समाज एवम् राष्ट्र समेतका निम्ति ‘समस्या’ चाहिँ हो ।
‘आत्महत्या प्रसास’ चाहिँ के त ?
‘आत्महत्या प्रयास’ वास्तवमा सहयोग प्राप्तिका निम्ति कसैले गरेको एक प्रकारको चीत्कार हो । केही खास–खास अवस्थामा बाहेक कसैले एकै पटक आत्महत्याको अन्तिम निर्णय गरिहाल्दैन; आत्महत्या प्रयास पनि सहजै र सुरुमै गरिहाल्दैन ।
आत्महत्या गर्ने व्यक्तिले आत्महत्याअघि विभिन्न लक्षण या सङ्केतहरू देखाउँदछ वा अनेक किसिमले अभिव्यक्त गर्दछ । त्यस्तो अवस्थामा बेलैमा घरपरिवार, साथीसँगी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्या वा आत्महत्या प्रयासलाई टार्न/रोक्न सकिन्छ ।
यसर्थ, आत्महत्याको पनि धेरै हदसम्म रोकथाम हुन्छ÷गर्न सकिन्छ । आत्महत्याको खतराका सूचक र जोखिमबारे बेलैमा आँकलन गर्न सकिएमा र सुरक्षाका तत्व, स्वहेरचाह आदिबारे जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका निम्ति मनोचिकित्सक या मनोविद् वा मनोपरामर्शदाता र सम्बन्धित व्यक्ति तथा परिवारबीचको सहकार्य अत्यावश्यक हुन्छ ।
मनोविद् ढकाल ‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक हुन्