धामी–झाँक्री : कति सत्य, कति भ्रम ?

गोपाल ढकाल

बिरामी हुँदा वा कुनै मानसिक या शारीरिक समस्या आउँदा धामी–झाँक्रीकहाँ लगेर झारफुक गराउने प्रचलन हाम्रो समाजमा प्राचीनकालदेखि नै जारी छ । स–साना बच्चा हुँदा हामीमध्येका प्रायः सबैलाई ‘सातो गएका बेला’ वा ‘रुन्चे लाग्दा’ बुबा–आमाले ‘जान्ने’ वा धामी–झाँक्रीकहाँ धेरै पटक लगेको नै हुनुपर्छ । हामीमध्ये धेरै त विभिन्न समस्या लिएर अझै पनि धामी–झाँक्रीकहाँ पुग्ने गरेकै छौं ।

चिकित्सक र आधुनिक स्वास्थ्य संस्थाको पहुँच नहुँदा अझै पनि दूरदराजका धेरै नागरिक बिरामी पर्दा धामी–झाँक्रीकै भर पर्नुपर्ने अवस्था कायम छ । धामी–झाँक्री, ‘जान्ने’ र झारफुक गर्नेहरूप्रति समाजका धेरै नागरिकमा गहिरो विश्वास र आस्था अझैसम्म पनि कायम छ ।

जातजाति, धर्म–सम्प्रदाय र समुदायअनुसार धामी–झाँक्री, ‘जान्ने’ र झारफुक गर्नेहरू आ–आफ्नै खालका समेत हुन सक्छन् । तिनका नाम र स्वरूप ‘धामी’, ‘झाँक्री’, ‘जान्ने’, ‘लामा’, ‘झारफुक’, ‘गुरुबा’, ‘गुभाजु’, ‘माता’ आदि विभिन्न हुने गरेका छन् ।

यिनीहरू सबै नै आफूमा ‘अलौकिक शक्ति’ र ‘भगवान्’ को ‘प्रतिरूप’ कायम रहेको विश्वास गर्छन्÷प्रचार गर्छन् । बिरामीलाई ‘उपचार’ गर्ने क्रममा आफ्नो शरीरमा ‘कुलदेवता’, ‘इष्टदेवता’, ‘गुरुको शक्ति’, ‘देव–देवीको शक्ति’ आदि आउने र त्यसैबाट बिरामीलाई ‘निको हुने’ दाबी उनीहरूले गर्दै आएका छन् ।

आधुनिक मान्यता र विज्ञानले धामी–झाँक्री, भूतप्रेत, बोक्सा–बोक्सी, पिशाचजस्ता कुरालाई शतप्रतिशत भ्रम र बकवास मात्रै भएको मान्दछ । विज्ञानका दृष्टिमा यी कुरा र मान्यतालाई अन्धविश्वासका रूपमा हेरिए तापनि मनोवैज्ञानिक रूपमा भने ‘निरर्थक’ मान्न÷भन्न सकिँदैन ।

प्राचीनकालमा मेडिकल साइन्सको विकास नभएका बेला उपचारको यो विधि सुरु भई जनमनमा स्थापित भएको हो । यो विधिबाट रोग ‘निको’ हुनुको मुख्य कारण नै विश्वास हो । त्यसैले यो विधिलाई ‘विश्वासमा आधारित मनोवैज्ञानिक उपचार विधि’ भन्न सकिन्छ ।

मेडिकल साइन्समा जस्तै धामी–झाँक्रीले पनि पहिले बिरामीको रोग के हो, समस्या के हो, पत्ता लगाउने प्रयास गर्छन् । ‘डाइग्नोस्टिक’ का लागि धामी–झाँक्रीले ‘जोखना हेर्ने’, ‘देउता बोलाउने’, बिरामीलाई ‘बकाउने’ जस्ता कार्य गर्दछन् ।

‘लागो÷लागू’, ‘भागो’, ‘भूतप्रेत’, ‘डाइनी–बोक्सी लागेको’, ‘बिगार परेको’, ‘ग्रह–दशा बिग्रेको’, ‘कुलदेउता रिसाएको’, ‘मसान लागेको’, ‘आँखा लागेको’, ‘वनझाँक्री’, ‘नाग लागेको’ आदि धामी–झाँक्रीले पहिचान गर्ने प्रमुख समस्याहरू अर्थात् मुख्य ‘डाइग्नोस्टिक’ हुन् ।

‘बिराम’ वा ‘रोग’ थाहा पाएपछि ‘उपचार’ गर्नपट्टि लाग्छन् धामी–झाँक्रीहरू । ‘मन्त्र’ नै उनीहरूको प्रमुख उपचार विधि हो । ‘उपचार’ को सिलसिलामा त्यही ‘मन्त्र’ फलाक्छन् उनीहरू । मन्त्रमा ठूलो ‘शक्ति’ हुन्छ भन्ने गरिन्छ । आधुनिक मनोवैज्ञानिक चिकित्सा विधिमा समेत ‘मन्त्रथेरापी’ प्रचलित छ ।

धामी–झाँक्रीहरू लयात्मक शैलीमा मन्त्र फलाक्दै ‘उपचार’ को प्रयास गर्छन् । यो प्रक्रियालाई ‘धामी बसेको’ भनिन्छ । ‘धामी बस्दा’ उनीहरू ढ्याँङ्ग्रो वा थाल बजाएर नाच्छन् पनि, जसले बिरामीलाई सङ्गीतको आनन्द दिलाउँछ । आधुनिक मनोवैज्ञानिक उपचार विधिमा समेत ‘सङ्गीतथेरापी’ निकै प्रख्यात छ ।

‘उपचार’ का क्रममा धामी–झाँक्रीले बाल्ने अगरबत्ती र धूपले बिरामीलाई आनन्दको अनुभूति दिलाउँछ । धामी–झाँक्री फुकेर ‘अक्षता’ सँगै खरानी पनि खान दिने गर्छन् । खरानीले केही मात्रामा मात्रै भए पनि एन्टिबायोटिकको काम गर्छ । उनीहरूले खान दिएको ‘अक्षता’ र खरानी तथा लगाइदिएको खरानीको टीकालाई बिरामीले विश्वासका साथ ग्रहण गर्छन् । र, यही विश्वासले निकै ठूलो ‘औषधि’ को काम गरिरहेको हुन्छ । यस्तो विश्वासलाई आधुनिक मेडिकल भाषामा ‘प्लासिबो इफेक्ट’ भनिन्छ ।

कतिपय धामी–झाँक्रीले भने झारफुकसहित घरेलु औषधि र जडीबुटी समेत खुवाउँछन् । घरेलु औषधि र जडीबुटीले त थोरबहुत काम गर्ने नै भयो ।

‘अलौकिक शक्ति’ माथि विश्वास गर्नेहरूले धामी–झाँक्रीहरूमाथि निकै नै विश्वास गर्दछन् । सामान्य खालको मानसिक रोगमा त बिरामीले गर्ने यस्तो विश्वासले निकै ठूलो काम गर्छ । विश्वासका साथ धामी–झाँक्री वा जान्नेकहाँ जाँदा उनीहरूलाई देख्नेबित्तिकै विश्वास र श्रद्धाले आधाजसो रोग त पहिल्यै निको भइसकेको हुन्छ ।

डर–चिन्ता र तनावजन्य मानसिक समस्या (जस्तो– कन्भर्जन डिसअर्डर्स, सातो जाने, तर्सने आदि) जस्ता सामान्यखाले मानसिक समस्या त धामी–झाँक्रीमाथिको यही विश्वासले निको हुने सम्भावना प्रबल हुन्छ । तर, चाहे शारीरिक हुन् वा मानसिक, कडाखाले स्वास्थ्य समस्याहरू भने विश्वास हुँदैमा र झारफुक गर्दैमा निको हुने त कुरै छाडौं, केही कमी समेत आउने कुरै छैन ।

आत्मबल, भरोसा र विश्वासले ठूलाठूला रोगहरू समेत निको भएका घटनाहरू प्रशस्तै पाइन्छन् । तिनै उदाहरणका कारण बिरामी पर्दा धामी–झाँक्रीलाई बोलाएर या ऊकहाँ गएर पूजापाठ, जपतप, भाकल गर्न लगाउने गरिएको पाइन्छ । व्यक्तिको धार्मिक तथा आध्यात्मिक विश्वासले पनि कतिपय मानसिक समस्या कम भएर जाने गर्दछन् ।

धामी–झाँक्री वा झारफुक गर्नेकहाँ पुग्ने प्रायः व्यक्तिहरू मानसिक समस्या लिएर नै जाने गरेका हुन्छन् । धेरैजसो मनोरोगमा शारीरिक लक्षणहरू समेत देखा पर्छन् । चिकित्सककहाँ गएर परीक्षण गराउँदा केही समस्या देखिँदैन । चिकित्सकले ‘तपाईंलाई त केही पनि रोग छैन’ भनिदिएपछि उनीहरू आफूलाई ‘लागो’, ‘भागो’ इत्यादि लागेको भन्ने विश्वास गरी तुरुन्तै झारफुक गर्नेकहाँ पुग्ने गर्दछन् । शारीरिक समस्या लिएर फिजिसियनकहाँ पुग्ने बिरामीमध्ये बीस–पच्चीस प्रतिशतमा मानसिक रोग हुने गरेको पाइन्छ ।

‘धामी बसेको’ वा ‘जोखना हेरिरहेको’ बेला धामी–झाँक्रीहरू ‘सबकन्सियस माइन्ड’ मा पुग्न पनि सक्छन् । यस्तो अवस्थामा धामी–झाँक्री वा बिरामी समेतले शरीर काँप्ने, शरीरमा अत्यधिक शक्ति आउने, स्मरणशक्ति बढ्ने, आगोमा हिँड्न सक्ने आदिजस्ता अनौठा व्यवहार देखाउन सक्छन् । यसैलाई हामी धामी–झाँक्रीको शरीरमा ‘दैवी शक्ति आएको’ या ‘देवता बोलेको’ ठान्ने गर्छौं ।

प्रसिद्ध मनोवैज्ञानिक सिगमण्ड फ्रायडका अनुसार मान्छेको मनका तीन तहहरू हुन्छन् कन्सियस, सबकन्सियस र अनकन्सियस । सबकन्सियस माइन्ड कन्सियस माइन्डभन्दा धेरै गुणा शक्तिशाली हुन्छ । ‘धामी बसेको’ बेला बिरामी पनि धामीसँगै सबकन्सियस माइन्डमा पुग्न सक्दछ । यस्तो अवस्थामा बिरामीले पनि धामी–झाँक्रीले गरेजस्तै व्यवहार देखाउन सक्छ । काँप्ने, बक्ने, लडिबुडी गर्ने, धामी वा अरुलाई आक्रमण गर्न खोज्ने, फरक भाषा र स्वरमा बोल्ने, मरेका व्यक्तिको जस्तो आवाज निकाल्ने, रुने, हाँस्ने, चिच्याउने, आफू ‘देवी’, ‘काली’ वा ‘नागिन’ भएको दाबी गर्ने इत्यादि गर्दछन् । बेहोस हुने, सबै कुरा बिर्सने, आँखा पल्टाउने, शरीर नै नचल्नेजस्ता लक्षण पनि देखाउन सक्छन् ।

सबकन्सियस माइन्डमा पुगेका बेला बिरामीमा पनि अत्यधिक शक्ति आएको हुन सक्छ । बिरामीको यस्तो व्यवहारलाई धामी–झाँक्रीले बिरामीलाई बकाएको, बिरामीको शरीरमा दुःख दिने ‘आत्मा’, ‘बोक्सा–बोक्सी’ वा ‘मसान’ बसेको आदि ठान्ने गरिन्छ । बिरामी सबकन्सियस माइन्डमा पुगेका बेला उसलाई सान्त्वना, उत्प्रेरणा, ढाडस, राम्रा सल्लाह–सुझाव अथवा सकारात्मक कुराको सन्देश दिइयो भने रोग निको हुन मद्धत मिल्छ । व्यक्ति सबकन्सियस माइन्डमा पु¥याउनुलाई सम्मोहन (हिप्नोटाइज) गर्नु पनि भनिन्छ । सम्मोहनका विभिन्न विधिहरूको माध्यमबाट व्यक्तिलाई सबकन्सियस अवस्थामा पु¥याउन सकिन्छ ।

सपना देखेको अवस्थामा पनि मन सबकन्सियस तहमा पुगेको हुन्छ । विभिन्न किसिमका मानसिक रोगहरू (जस्तो– जाँड–रक्सीको लत, फोबिया, डर–चिन्ता या एन्जाइटी, अनिद्रा, गलत बानी–व्यहोरा, तनावजन्य मानसिक रोग, हिस्टेरिया आदि) मा ‘हिप्नोथेरापी’ लाभदायक उपचार पद्धति भएको देखिँदै आएको छ । मनोवैज्ञानिक उपचार विधिअन्तर्गतका विभिन्न किसिमका साइकोथेरापीहरूमा अवचेतन चित्तमा दबिएका विचार र भावनाहरूलाई चेतन मन वा होसमा ल्याउने काम गरिन्छ ।

धामी–झाँक्री तथा झारफुकका नाममा समाजमा सहीभन्दा अन्धविश्वासपूर्ण व्यवहार बढी हुने गरेको देखिन्छ । ‘उपचार’ का नाममा धामी–झाँक्रीले बिरामीलाई कुटपिट गर्ने, खुर्सानी खुवाउने, खुर्सानीको राग सुँघाउने, तातो पन्यूले डाम्ने आदिजस्ता अमानवीय व्यवहार समेत गर्ने गरेको पाइन्छ । धामी–झाँक्रीबाट ‘उपचार’ का क्रममा बिरामीको मुत्यु भएका समचारहरू समेत बेला–बेला आइरहने गरेका छन् । ‘उपचार’ को बहानामा धामी–झाँक्रीले बिरामीमाथि यौन दुव्र्यवहार गर्ने गरेका घटना पनि बेला–बेला सुनिने गरेका छन् ।

सकेसम्म आधुनिक चिकित्सा प्रणाली वा परम्परागत उपचार पद्धति (आयुर्वेदिक, नेचुरोपेथी, होमियोपेथी आदि) बाट नै उपचार गराउन जोडबल गर्नु र धामी–झाँक्रीकहाँ नजानु नै उत्तम हुनेछ । यदि धामी–झाँक्रीकहाँ जानैपर्ने स्थिति आएमा भने जानुअघि त्यो व्यक्ति कस्तो खालको धामी–झाँक्री, जान्ने, गुरु वा माता हो– थाहा पाउनु जरुरी हुन्छ । सामान्यतः दुई किसिमका धामी–झाँक्री, झारफुक गर्ने, गुरु वा माता हुने गर्दछन्– क) परम्परागतरूपमा आफ्ना अग्रज वा पूर्खाका पालादेखि नै गर्दै आएको कार्यलाई निरन्तरता दिएका र गुरु थापेर धामी–झाँक्री ‘विद्या’ सिकेका; ख) एकाएक ‘धामी–झाँक्री’ वा ‘माता’ या ‘गुरु’ भएको स्वघोषणा गरेका व्यक्तिहरू । दोस्रो किसिमका धामी–झाँक्री, गुरु वा माताहरू भने वास्तवमा आफैं नै मानसिक रोग (कन्भर्जन डिसअर्डर्स, मेनिया वा अन्य) को सिकार भएका व्यक्तिहरू हुन्, ती आफूलाई ‘जान्ने’, ‘शक्तिशाली’, ‘जस्तासुकै रोग र समस्या पनि हल गर्न सक्ने’ भनेर घमण्ड एवम् दुष्प्रचार गर्दछन् । यस्ता व्यक्तिहरूबाट ‘उपचार’ त हुँदैन नै, उल्टै दुव्र्यवहार र ठगीमा पर्ने सम्भावनाचाहिँ प्रबल हुन्छ ।

मन परेका केटा वा केटीलाई ‘मोहनी’ लगाई आफ्नो बनाइदिने, श्रीमान् वा श्रीमतीलाई आफ्नो वशमा राख्न सक्ने बनाइदिने, छोरा–छोरी नहुने दम्पतीलाई छोराछोरी पाउने बनाइदिने, जूवा–तासमा सधैं जित्ने बनाइदिने, धनी बनाइदिने आदिजस्ता बकवास गरेर समेत कथित धामी–झाँक्री, गुरु वा माताहरूले ठग्ने गरेको पनि पाइन्छ ।

धामी–झाँक्री र झारफुक मूलतः विश्वासमा आधारित मनोवैज्ञानिक उपचार विधि भए तापनि सबै धामी–झाँक्री विवेकशील, पढालेखा र समस्या बुझ्न सक्षम हुँदैनन् । त्यसैले उनीहरूले बिरामीसँग सही व्यवहार नगर्न सक्छन् । कतिपयको नियत राम्रो हुँदाहुँदै पनि काममा अक्षम हुन्छन् भने कतिपयको त नियत नै राम्रो र सहयोगी भावनाको हुँदैन । कतिपय धामी–झाँक्री, गुरु वा माताले ज्ञानको अभावमा गलत सरसल्लाह दिँदा र भाषाशैलीको कमजोरीका कारण बिरामीमा उल्टै समस्या थपिदिन सक्छन् । जस्तो– डर–चिन्ता (एन्जाइटी) भएको व्यक्तिलाई ‘भूत–प्रेत’, ‘लागो’, ‘देवताले दुःख दिएको’, ‘ग्रह–दशा बिग्रेको’ इत्यादि भनिदिँदा तनाब, डर–चिन्ता र रोग झन् बढ्छ । डिप्रेसनमा परेको व्यक्तिलाई ‘केही पनि भएको छैन, चिन्ता नगर– सब ठीक हुन्छ’ भनेर सल्लाह दिँदा समस्या झन्–झन् बढ्न सक्छ ।

सारतः धामी–झाँक्रीले ‘निको पारेका’ भनिएका सबै समस्या मनसँग सम्बन्धित समस्या नै हुन् । मनोचिकित्सक, मनोविद् वा मनोपरामर्शदाताको सेवा लिइएमा यी समस्या अझ सहज तरिकाले समाधान गर्न सकिन्छ ।

‘मार्क नेपाल मनोसेवा केन्द्र’ का संस्थापक लेखक मनोविद् हुन्