अङ्ग प्रदर्शनको के हो मनोविज्ञान ?

गोपाल ढकाल

आदिम युगमा मानिसहरू नाङ्गै हिँड्थे । अङ्ग देखाउनु उनीहरूको बाध्यता थियो । किनभने, त्यतिबेला मानिसले लुगा लगाउन जानेका थिएनन्; लुगाको आविष्कार समेत भएको थिएन । तर, आज समय फरक भएको छ । आज मानिसहरू थरी–थरीका तरिकाले अङ्ग प्रदर्शन गर्दै हिँड्छन् । यद्यपि आजका मानिसले लुगा लगाउन जानेका छन्; अनेकौंखाले लुगा–कपडा उपलब्ध छन् ।

नेपाली समाजमा कुनै बेला नारीले खुट्टाको कुर्कुचा समेत देखाउनु हुँदैन भन्ने गरिन्थ्यो । तर, अब त्यो समय रहेन । नाइटो देखाउनु त अब सामान्य कुरा भएको छ । सुन्दर शब्दमा भन्ने हो भने शरीरका समवेदनशील अङ्गहरू आकर्षक तरिकाले देखाएर अरुलाई मोहित पार्नु नै अङ्ग प्रदर्शन हो । आजको आधुनिक समयमा बालकदेखि लिएर, युवा–युवती र बूढा–बूढीसम्म पनि अङ्ग प्रदर्शन गर्न लालायित देखिन्छन् । आखिर किन गरिन्छ त अङ्ग प्रदर्शन ?

तपाईं अङ्ग प्रदर्शन किन गर्नुहुन्छ ? यदि यो प्रश्न कुनै नायिकलाई सोध्ने हो भने जवाफ आउँछ– ‘कथाले मागेर ।’ यदि यही प्रश्न तपाईंलाई गर्ने हो भने तपाईंचाहिँ के भन्नुहुन्छ ? के हो त अङ्ग प्रदर्शनको रहस्य ?

सुन्दर हुने चाहना सबैमा हुन्छ । शरीरका खास अङ्गलाई उपयुक्त तरिकाले प्रदर्शन गर्दा शरीरको सुन्दरता अझ बढ्छ । नारीका नाइटो, स्तन, हिप, तिघ्रा तथा पुरुषका छाती, पाखुरा आदि अङ्गको प्रदर्शनले व्यक्तिको सुन्दरता बढाइरहेको मानिन्छ । मानिसको पहिलो आकर्षण भनेकै सुन्दरता हो ।

नारीजातिका लागि त सुन्दरता उनीहरूको सम्पत्ति नै मानिन्छ । त्यसैले नारीहरू आफूलाई सुन्दर र आकर्षक राख्न सधैं नै प्रयत्नशील रहन्छन् । अझ यौवनावस्थामा पुगेका केटीहरूका त विशेष चासो नै केटाप्रति हुन्छ । उनीहरूले आफूलाई हेरे कि हेरेनन्; मन पराए कि पराएनन् भन्ने चिन्ताले उनीहरूलाई सताइरहन्छ । यसर्थ उनीहरू केटालाई आफूतिर आकर्षित गर्न आफ्नो पहिरनमा ध्यान दिने तथा अङ्ग प्रदर्शनमा रुचि राख्ने गर्दछन् ।

वास्तवमा भन्ने हो भने अङ्ग प्रदर्शनका पछाडि मुख्यतः यौन–सङ्केत प्रदर्शनकै नियत अन्तर्निहित हुन्छ । मुख्यतः आफ्नो यौनसाथीलाई आफूतिर आकर्षित गर्न नै अङ्ग प्रदर्शन गरिन्छ भन्नु अत्युक्ति हुँदैन । अङ्ग प्रदर्शनको माध्यमबाट केही मात्रामा भए पनि यौन सन्तुष्टि मिल्ने कुरालाई नकार्न सकिँदैन । नत्र फेसन च्यानलप्रति दर्शकको क्रेज यतिसाह्रो बढ्ने थिएन । मनोवैज्ञानिक फ्रायडले त मानिसका सम्पूर्ण क्रियाकलापलाई यौनसँग नै जोडेर हेर्नुपर्ने मान्यता अघि सारेका छन् ।

अङ्ग प्रदर्शन ‘आधुनिक’ समयको देन हो । ‘आधुनिकता’ सँगै अङ्ग प्रदर्शनमा पनि विविधता आइरहेको छ । सूचना तथा सञ्चारका माध्यमहरूको प्रभावले अङ्ग प्रदर्शन विश्वव्यापी भएको छ । ‘आधुनिक’ र ‘विकसित’ पाश्चात्य मुलुकहरूमा त अङ्ग प्रदर्शन झनै खुलेर गरिन्छ ।

अङ्ग प्रदर्शनमा ‘आधुनिक’ र ‘परिवर्तनशील’ बन्ने उन्माद पनि देखिन्छ । ‘परम्परागत’ बानी–व्यहोरा र रहनसहन त्यागेर ‘आधुनिक’ र ‘विकसित’ मानिसहरूको अनुशरण गर्दै आफू पनि उनीहरूजस्तै बन्न खोज्ने प्रयासमा पनि अङ्ग प्रदर्शन गरिन्छ । आफ्नो अक्षमता, कमजोरी आदिको पूर्ति गर्ने प्रयासमा पनि अङ्ग प्रदर्शन हुने गर्छ । यदि शारीरिकरूपमा ‘असुन्दर’ नारीले पनि अङ्ग प्रदर्शन गर्दै हिँड्छे भने यसको अर्थ हुन्छ कि ऊ आफ्नो शारीरिक असुन्दरतालाई अङ्ग प्रदर्शनको माध्यमद्वारा पूर्ति गर्न चाहन्छे । मानसिक योग्यताका कारण अरुलाई आफूतिर आकर्षित गर्न नसक्दा वा आफ्नो व्यक्तित्वको विकास गर्न नसक्दा पनि अङ्ग प्रदर्शनको सहारा लिने गरिएको पाइन्छ ।

यसरी अङ्ग प्रदर्शनका पछाडि जे–जस्ता मनोवैज्ञानिक कारण भए पनि अङ्ग प्रदर्शन गर्दा समाज, संस्कृति, परम्परा, रीतिरिवाजलाई पनि ख्याल राख्नुपर्छ । आफूलाई नसुहाउने, ज्यादै भड्किलो पहिरनले अरुलाई आकर्षित गर्न सक्दैन । मौसमअनुसार आफूलाई सुहाउने लुगा लगाएर आफूलाई सजाउनु पनि एउटा कला हो, सिर्जनशीलता हो र क्षमताको कुरा समेत हो ।

आकर्षक तरिकाले, सुहाउने र समाजले पचाउने गरी गरिएको अङ्ग प्रदर्शनलाई भने नराम्रो मानिँदैन/मान्नु हुँदैन र पर्दैन । कुनै नारी आफूलाई सजाएर सुगन्ध छर्दै हिँड्छे भने उसलाई हेरेर नटोलाउने को होला ! तर, ‘मेनुका’ को सुन्दरताले ‘विश्वामित्र’ को तपस्या त भङ्ग गर्‍यो भने… !

‘मार्क नेपाल मनोसेवा केन्द्र’ का संस्थापक/सञ्चालक लेखक मनोविद् हुन्