सिङ्गापुरलाई सलाम !
डा. डीबी सुनुवार
काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सिल्क विमानमार्फत सिङ्गापुरको उडान तय भएको छ । सिङ्गापुर एयरलाइन्स र सिल्क एयरलाइन्स अन्य जहाजभन्दा व्यवस्थित र महँगामध्येमा पर्दछन् ।
विमानले भुइँ छाडिसकेको छ । यात्रारत हामी सबैको अनुहार खुसीले गद्गद् रहेको राम्रैसँग अनुमान गर्न सकिन्छ । सिल्क एयर रुई–रुईजस्तो बादलमाथि–माथि एक बेगले सननन उडिरहेको छ । त्यसैभित्र हामी छौं ।
सिल्क होस्टेजहरू असिनपसिन गर्दै खानाको ट्रली गुडाएर खाना बाँडिरहेका छन् । मचाहिँ अलिक भावनामा डुबेछु कि क्या हो, लाग्यो– सिल्क होस्टेसको गुलाबी प्रेम पनि मलाई दिइएको खानामा मिसिएको छ । हाम्रा लागि यो उडान विशेष छ । जहाजभित्र विशिष्ट प्रकारका सुविधा छन् । खाना स्वस्थकर छन्, गुणस्तरीय छन् । मलाई मन पर्ने परिकारहरूको सेवा जहाजभित्रै निरन्तर चलिरहेको छ ।
हामी आकासमा उडिरहेका छौं । सिङ्गापुरको चाँगी विमानस्थलमा अवतरित हुन केही घन्टा मात्र बाँकी छ । म पुगिसकेको छु सिङ्गापुर । म त यसअघि पनि तीन पटक सिङ्गापुर पुगिसकेको थिएँ तर हाम्रो समूहका धेरैजसो साथीहरूका लागि भने यो यात्रा नौलो छ । कौतुहलपूर्ण छ । म गाइडजस्तै भएको छु । सिङ्गापुरमा कार्यरत गोर्खा पल्टनका परिवार पनि यात्रामा सराबरीजस्तै छन् ।
सिङ्गापुरे लाहुरेका स–साना बालबच्चाहरू आमा–बाबुसँग प्रश्नमाथि–प्रश्न तेस्र्याइरहेका छन् । ती बालबच्चाहरूको बोल्ने र प्रश्न गर्ने तरिका मलाई भने खुब मन परेको छ । कति मिठो बोली; क्या स्मार्ट बालबालिका ! त्यो स्मार्टनेस सिक्न र सिकाउन योग्य लाग्छ ।
एक साथीले पछाडिबाट सोधिहाले– ‘सिङ्गापुरको हावा पनि यस्तै स्मार्ट छ कि क्या हो सर ?’ सायद बालबालिकाको बोलीले उनलाई पनि प्रभावित तुल्यायो ।
वातावरण खराब भएको सूचना चालकदलबाट जारी भएको छ । सायद जहाजको उचाइ कम भएका कारण खराब वातावणसँग सङ्घर्ष गर्नु परिरहेको छ । बच्चाहरू डराएर स्वरलाई नाइटोबाट तान्दै कनिरहेका छन् । ‘सेभ द लर्ड’ भनेर उनीहरू चर्को आवाजमा चिच्याउँदै छन् ।
सिङ्गापुरमा ल्याण्ड हुँदा
आइपुग्यो गन्तव्य । ल्याण्ड भयौं सिङ्गापुरमा । संसारकै व्यवस्थित र सुन्दर विमानस्थलमध्येको एक हो चाँगी विमानस्थल । घनघोर पानी परिरहेको छ, जहाजबाट उत्रियौं ।
इमिग्रेसनमा तैनाथ कर्मचारी कति सभ्य, भद्र र गम्भीर छन् ! हाम्रो समूहका हामी दुई लाइनमा उभिएका छौं । सबैको इमिग्रेसन क्लियरेन्स भएपछि आ–आफ्नो लगेज लिएर तयारी अवस्थामा त्यहीं रहेको मिनीबस चढेर लामो सास फेर्दै सेराङ्गुनतिर अघि बढ्छौं ।
पानी भर्खरै मात्र रोकिएको छ । समुद्रको किनारमा अवस्थित चाँगी विमानस्थलबाट समुद्रको किनारै किनार, शान्त मुद्रामा गाडी चढेर होटलतिर हुइँकिइरहँदा समय गोंधुलीमय हुँदैछ ।
सेराङ्गुनमा पुग्दा झमक्कै साँझ परिसकेको छ । होटलमा चेकइन भएर कोठामा पुग्दा हाम्रा लागि त्यहाँ सिङ्गापुरका विभिन्न ‘सरप्राइज उपहार’ राखिएका रहेछन् । खानापिनापछि सिङ्गापुरमा रहेका साथीभाइहरूसँग कुराकानी गरेर भोलिको कार्यक्रमका निम्ति शक्ति–सञ्चय गर्ने काम हुन्छ ।
दोस्रो दिनको सिटी टुरमा सिङ्गापुर फ्लायर र राफल हार्बाेर घुम्ने योजना छ । अति सुन्दर तथा व्यवस्थित यो सहरमा आई च्युङले गाइड गरेका छन् । सिङ्गापुरको ऐतिहासिक पृप्ठभूमिसहित यात्रा सुरु भएको छ ।
सिङ्गापुरको नामकरण
ब्रिटिस आर्मी सर राफलले सिङ्गापुर टापु पत्ता लगाउँदा यहाँ सिंहजस्तो टाउको र मिर्गजस्तो शरीर भएको जनावर फेला परेको हुनाले यस ठाउँलाई ‘सिंह बस्ने टापु’ नामकरण गरिएको बताइन्छ । मले भाषामा सिंह बस्ने स्थानलाई ‘सिङ्गापुरा’ भनिन्छ । त्यसैकारण यस सुन्दर नगरीको नाम सिङ्गापुर रहन गएको ऐतिहासिक तथ्य पाइन्छ ।
वस्ती बसेपछि चिनियाँ, मले र भारतीयहरूलाई मिलाएर यहाँको विकास गरिएको थियो । अहिले एशियामा विकासको नमूना देशको नाम लिनुपर्यो भने सिङ्गापुरकै नाम अग्रस्थानमा आउँछ ।
मनमोहक मार्लियोन स्ट्याचु
हामी बसेको रोयल पार्क होटलनजिकै लिटल इन्डिया र चाइना टाउनबाहेकका सबै व्यवस्थित सडक र घरहरूको सुन्दरता र सफाइको कुरा गरेर साध्य छैन । समुद्री किनारस्थित राफल प्यालेसको नजिकै अवस्थित मार्लियोन स्ट्याचुको मुखबाट पानीको फाउन्टेन ओकलिरहेको वारिपारिका मनमोहक दृश्यमा हामी नरमाउने कुरै भएन ।
सिंहको टाउको र माछाको पुच्छर गाँसिएको यहाँस्थित विशाल मूर्ति नै मार्लियोन स्ट्याचु हो । यो सिङ्गापुरको राष्ट्रिय पहिचान समेत हो । समुद्रको पारिपट्टि लसभेगासस्थित विशाल भवन तयारी हुँदै गरेको अवस्थामा देखिन्छ । त्यहाँ पनि पालैपालो र समूहगत तस्बिर नखिँच्ने कुरै भएन । राफलको भव्यतालाई त झन् खै कसरी पो वर्णन गर्नु र ! सिङ्गापुर फ्लायर्स पनि त्यत्तिकै आश्चर्यजनक रूपले निर्मित छ । फ्लायर्सको एक रुममा रहेको एकै पटकमा बीस जना उड्न मिल्ने क्याबिनमा कम्प्युटरमार्फत हरेक प्रकारको सूचना नियाल्न मिल्ने व्यवस्था छ ।
आहा ! कति राम्रो सिङ्गापुर । फ्लायर्समाथिबाट क्यामरामा सिङ्गापुर सहरको दृश्य पूर्णरूपले कैद गर्न सकिन्छ । त्यो विशाल समुद्रमा टलपल–टलपल गर्दै ठूलठूला क्यारियर (समुद्री जहाज) हरू टक्क अडेका जस्ता दृश्य क्यानभासका चित्रजस्तै देखिन्छन् ।
पारि इण्डोनेसियाका टापुहरू पनि यहींबाट देख्न सकिन्छ । सम्पूर्ण सिङ्गापुर सहरलाई आँखाभित्र अटाउँछु र मेरो देशसँग तुलना गर्छु । सिङ्गापुरको इतिहास त्यति लामो छैन । तर, यहाँको समृद्धि, विकास र भव्यता अतुलनीय छ ।
एकता, सहिष्णुता र समृद्धि
सिङ्गापुरका मान्छे कति मिलेर बसेका । भारतीय, चिनियाँ र मलेहरू पहिले यहाँ श्रम गर्नका निम्ति ल्याइएका हुन् । तर, पछि तिनै त्यहाँका रैथाने बने । यहाँ आज संसारका धेरै भाषा बोलिन्छन् । संसारभरिका अनेकौं जात–जातिहरू यहाँ अनुकरणीय हिसाबले मिलेर बसेका छन् । हरेकको ऐतिहासिक पहिचान र अधिकारलाई सरकारले नै सुनिश्चित गरिदिएको छ ।
विकासका काममा सबै मस्त र व्यस्त देखिन्छन् । आ–आफ्नो कामबाहेक आल्तुफाल्तु कुरा गर्ने फुर्सद कसैलाई छैन । त्यसैले त सिङ्गापुर एशियाकै अग्रस्थानमा रहन सफल छ । ‘मेरो देशको पालो कहिले आउला हगि ?’ मनमनै कल्पन्छु र झसङ्ग हुन्छु । जसरी उचालिँदै उक्लिएर अघि माथि पुगेका थियौं, फेरि त्यसरी नै यथाअवस्था (ग्राउण्ड लेभल) मा आइपुग्छाैं ।
कृत्रिम टापु सेन्तोसा
हाम्रो तेस्रो दिनको यात्रा अर्काे सुन्दर र कृत्रिम टापु सेन्तोसामा छ । पहिले पनि म यहाँ आइसकेकाले सेन्तोसाका कतिपय कुरा मेरा लागि नौला होइनन् । तैपनि, दिन दुईगुणा, रात चौगुणा विकास हुनु सिङ्गापुरको विशेषता भएको हुँदा धेरै कुरा बदलिइसकेका छन् । यस मानेमा यहाँ म पनि नौलो नै छु ।
बिहानै तयारी गर्नुपर्ने समयतालिका छ । सोहीअनुसार भारतीय समूहसँग मिलेर दुईवटा बसबाट सेन्तोसा पुग्यौं । संसारभरिकै ठूलो हार्बाेर बन्दरगाहमध्येको एक हो सिङ्गापुर । कन्टेनर नै कन्टेनरको लामो यार्डको बाटोलाई चिर्दै लामो पुल पार गरेर सुन्दर सेन्तोसा पुग्यौं ।
यस टापुमा संसारका सम्पूर्ण आश्चर्यजनक मनोरञ्जनका साधनहरू कृत्रिमरूपले तयार पारिएका छन् । अण्डरवाटर वल्र्ड, सिलिसो फोेर्ड, मार्लिओन स्ट्याचु, वाटर फाउन्टेन र सङ्ग अफ सीजस्ता अचम्मका र मनमोहक स्थल निर्माण गरिएका छन् । साङ्गीतिक ध्वनि, आतसबाजी, पानीका फोहरा, आगोका मुस्ला, चलचित्रका रियालिटी सोजस्तो दृश्यहरू देखिन्छन् यहाँ ।
स्ट्याचुमा ठडिएका रामबहादुर मामा
यस ऐतिहासिक टापुस्थित फोर्टमा गोर्खा भिक्टोरिया क्रस बिजेता नेपालका रामबहादुर लिम्बूको सालिक पनि राखिएको छ । यात्रारत हामीमध्ये कोही अनौठो चलचित्र हेर्न जाने क्रममा छौं त कोही सङ्ग्रहालय हेर्न जाँदै छौं; कोही आकाशबाट एकैचोटि पाताल पुग्ने पिङमा मच्चिएर रमाइरहेका छौं भने कोहीचाहिँ समुद्री किनारामा सनबाथ लिने क्रममा छौं । विशेष र महत्वपूर्ण भ्रमणमा चाहिँ हामी सबै एकै ठाउँ जम्मा हुन्छौं । र, यस ऐतिहासिक सालिक हेर्ने सौभाग्य हामीमध्येका केहीलाई मात्र मिलेको छ ।
मेरी आमाले सुनाउनुभएको थियो, हाम्रा मामाहरू मलायाको युद्धमा हराएका थिए, जो अहिलेसम्म फर्केनन् । यो सुन्दा र सम्झँदा मेरो मन ढुकढुक हुन्छ, छाती पोल्छ । सम्झेर म भावुक हुन्छु– वीर गोर्खाले थामेको सिङ्गापुर ।
रामबहादुर मामा ! तपाईंका नाउँमा यी दुई थोपा आँसुको सलाम ! तपाईंले रचेको वीरगाथाको चिनो लगभग नामेट भैसक्यो भन्दा पनि हुन्छ । तर, तपाईं यहाँ बहादुर भएर उभिइरहनु भएको रहेछ । मैले त मेरो देशको समाचार सुनाएँ । तपाईंको चित्त पनि दुख्दो हो । मलाई आशिष दिनोस् मामा– अब अर्को यस्तै साहस र बहादुरीको इतिहास रच्नका लागि । संसारभरिका विकसित देशहरूमा तपाईंको त्यही कामको प्रशङ्सा भइरहेको छ । संसारका प्रायः सबै ठूलठूला युद्धहरूमा तपाईंले सिर्जनुभएको नियमकै प्रयोग भएको छ । अब त्यसलाई हामी पनि आफ्नो देश विकासका निम्ति प्रयोग गर्न सकूँ । अरुको देशमा देखाइएको बहादुरी अब आफ्नै देशमा किन नदेखाउने ? धन्यवाद मामा, तपाईंको आशिषका लागि । तपाईंले दिनुभएको सन्देशलाई म नेपालमा पुर्याउँछु ।
माछाको संसार र जङ्गल सफारी
हामी सिङ्गापुरका धेरै महत्वपूर्ण ठाउँहरूको अवलोकनमा छौं । रमाइलोमा छौं । माछाको संसार हो त्यो अण्डरवल्र्ड वाटर । समुद्रभित्रै कसरी निर्माण गरेका हुन् त्यो संसार ! पैताला राख्नेबाहेक सबैतिर अक्वारियम । तह–तहका, वर्ग–वर्गका भूरादेखि मान्छेजत्रा माछाको संसार !
आहा ! वाटर फाउण्टेन, सङ अफ द सी, पानीको फोहरा, बिजुलीको प्रकाश र विभिन्न प्रकारका गर्जन–ध्वनिले अचम्मको, ‘स्वर्ग’ को संसार सिर्जना गरेको छ । विजयोत्सवको पटाका पड्किएका, रङ्गी–विरङ्गी रङ्गका फोहरासहित सिङ्गापुरको स्थानीय संस्कृति झल्कने, विकासका कथाका विभिन्न रूपमा कलाकारहरूको अभिनय । कसले रच्दो हो यस प्रकारका कलाकृति ? ‘डल्फिन डान्स सो’ त्यत्तिकै रोचक अनि घोचक ! घोचक यस अर्थमा कि मानिसजातिले प्रकृतिलाई कसरी प्रेम गर्नुपर्छ भन्ने कुरा अभिनय गरेर देखाइदिन्छन् डल्फिनले ।
रातमा मात्र गरिने करिव एक घन्टाको जङ्गल सफारी कति व्यवस्थित ! इलेक्ट्रिक रेलजस्तो बायोग्याँसले चल्ने कारबाट प्रकृतिमा भएका सबैजसो पशुपक्षीहरूको दृश्यावलोकन गर्न पाइन्छ । बाटोको किनार नजिकैबाट सिंह, बाघ, भालु, गैंडा, हात्ती, हरिण, मिर्ग, घोरल, बँदेल, गाई, भैंसी, अर्ना, उँट, जिराफ, पानीहाँस, टर्की, चीललगायत संसारमा पाइने हरेक प्रकारको पशुपक्षीसँग साक्षात्कार हुन पाइन्छ ।
अँध्यारो रात र शान्त वातावरण । सायद त्यहींका कर्मचारीहरू हुनुपर्छ, चोक चोकमा भेटिन्छन्, हात हल्लाइरहेका । कागजका, टिनका र सिसाका भाँडालाई छुट्टाछुट्टै व्यवस्थापन कसरी गर्ने भनेर न्याउरी मुसा, स्याल अनि भालुले वातावरणमैत्री शिक्षा दिन्छन् ।
सिङ्गापुरका यी र यस्ता तमाम दृश्यलाई शब्दका माध्यमले जस्ताको तस्तै कागजमा उतार्नु ज्यादै नै कठिन कुरा हो । तर यतिचाहिँ सजिलै भन्न सकिन्छ– सिङ्गापुरेले प्रकृति र पशुपक्षीहरूलाई जे–जस्तो तरिकाले व्यवस्थापन गरेका छन्, साह्रै नै सराहनीय काम हो । सलाम सिङ्गापुरलाई !