विवाहअघि जोडीको परीक्षण
प्रा.डा. दिनेश बाँस्तोला
युगल जोडीहरूले विवाहअघि एक–अर्कालाई नबुझ्दा र एक–अर्काका विषयमा राम्ररी थाहा नपाउँदा विवाहपछि सम्बन्धमा कटुता निम्तने सम्भावना हुन्छ । विवाहपछि जोडीबीचको बेमेलका कारण सम्बन्ध–विच्छेद समेत हुन सक्छ । त्यसैले विवाहका निम्ति जोडी छनोट गर्दा निकै ध्यान पुर्याउनुपर्छ । विवाहअघि धैर्यताका साथ विचार गरेर मात्र निर्णयमा पुग्नु बुद्धिमत्ता हुन्छ ।
विवाहअघि जोडीका दुवैले स्वास्थ्य परीक्षण गरेर मात्र निर्णय लिनु एउटा राम्रो उपाय हो । कतिपय व्यक्तिमा विभिन्न किसिमका रोग हुन सक्छन्, एकार्काका रोगबारे विवाहअघि नै थाहा नहुने तर विवाहपछि त्यस्ता रोग देखापर्ने स्थितिमा ढाँटेर विवाह गरेको शङ्का हुन सक्छ । र, त्यसले सिर्जना गर्ने विवादले नराम्रो परिणाम निम्त्याउन सक्छ । विवाहअघि स्वास्थ्य परीक्षण गरी विवाहको योजना बनाएको जोडीमा विवाहपछि रोगका कारण सम्बन्धमा खटपट निम्तने जोखिम कम हुन्छ । यसर्थ, शारीरिक तथा मानसिक दुवै परीक्षण गर्नु उत्तम उपाय हो ।
हुर्काइ, वातावरणलगायतका कारण हरेकमा भावना तथा सोचको विकास आफ्नै किसिमको हुनु स्वाभाविकै हो । त्यसैले शारीरिक मात्र होइन, विवाहपछि निम्तने मानसिक समस्याको जोखिमलाई समेत मध्यनजर गरेर विवाहअघि स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ ।
विवाहको योजना बनाएका जोडीका दुवै पक्षमध्ये कसैमा कुनै जन्मजात चिह्न तथा लक्षण छन् भने तीबारे पनि एकार्कालाई बताउनु जरुरी हुन्छ । त्यस्ता कुरा विवाहपछि मात्र थाहा पाउँदा तिनै कुराले समेत विवाहित जोडीबीच कटुता निम्त्याउन सक्ने भएकाले यसबारे समेत सचेत रहनुपर्छ ।
महिलाका के–केमा पुरुषले ध्यान दिने ?
आफूले विवाहका लागि हेरेकी युवती कसरी हिँड्छिन्, ख्याल गर्नु आवश्यक हुन्छ । महिलाको निधारमाथिको कपालको रेखा सीधा छ कि छैन, ख्याल गर्नु आवश्यक हुन्छ । महिलाको निधारमाथिको कपालको रेखा सामान्यतः सीधा हुन्छ र हुनुपर्छ ।
त्यसैगरी आफूले विवाहका निम्ति छनोट गरेकी युवतीको छातीका दायाँ–बायाँ स्तनका आकार देखिएका छन् कि छैनन् विचार गर्नुपर्छ । स्वाभाविक र स्वस्थ युवतीमा स्तनका आकार बाहिरैबाट स्पष्ट देखिन्छन्/देखिनुपर्छ । महिलाका दाह्री–जुँगा हुँदैनन्; यो कुरामा समेत ध्यान दिनु जरुरी हुन्छ । स्वाभाविक र स्वस्थ महिलाको स्वर तीखो हुन्छ/हुनुपर्छ; स्वर कस्तो छ भन्ने कुरामा पनि ख्याल पुर्याउनुपर्छ । महिलाको जाङका रौं चतुर्भुज आकारका हुन्छन् ।
त्यसैगरी, आफूले विवाह गर्न चाहेकी महिलालाई नियमित रजश्वला भएको छ कि छैन भन्ने कुरा बुझ्नुपर्छ । यो विषय निकै सोचनीय हुन्छ, यसबारे पनि ख्याल गर्नुपर्छ । महिलामा पनि स्वप्न–स्खलन हुन्छ; यसबारे समेत विचार पुर्याउनु आवश्यक हुन्छ ।
पुरुषका के–केमा महिलाले ध्यान दिने ?
आफूसँग विवाह गर्ने पुरुषबारे महिलाले निर्णय लिनुअघि महिलाले पनि पुरुषको हिँडाइबारे ख्याल गर्नुपर्छ । पुरुषको बानी–व्यवहार के–कस्तो छ भन्ने कुरा उसको हाउभाउ, कुराकानी र अरु विभिन्न व्यवहारबाट थाहा पाउन सकिन्छ । यी कुरा राम्ररी बुझ्नुपर्छ ।
पुरुषको निधारमाथिको कपालको रेखा भने बाङ्गोटिङ्गो हुन्छ/हुनपर्छ । पुरुषको स्वर महिलाको तुलनामा धोद्रो हुन्छ÷हुनुपर्छ; त्यस्तो छ कि छैन भन्ने कुरामा विचार पुर्याउनुपर्छ । दाह्री–जुँगा पलाएको हुनुपर्छ । छाती चौडा हुन्छ ।
पुरुषको जाङका रौं त्रिकोणात्मक हुन्छन्/हुनुपर्छ । पुरुषको छातीको अनुपातमा पुठ सानो हुन्छ/हुनुपर्छ । पुरुषमा स्तनका आकार बढेको हुनुहुँदैन ।
पुरुषमा आक्रमकता तथा महिलाप्रतिको आकर्षण छन् कि छैन भन्ने कुरा पनि विचारणीय हुन्छ । पुरुषमा सामान्यतः जोखिम मोल्ने क्षमता तथा बानी–व्यवहार हुन्छ/ हुनुपर्छ । पुरुषमा स्वप्न–स्खलन हुने गरेको छैन भने त्यो कुरा विवाहका लागि सोचनीय हुन्छ । स्वप्न–स्खलन हुने गरेको छ–छैन भन्ने कुरा सोध्न पनि सकिन्छ । विवाहको निर्णय लिनुअघि जोडीको छनोट गर्दा आवश्यक विषयहरूबारे सुरुदेखि अन्त्यसम्म अवलोकन तथा जाँच गर्नु आवश्यक हुन्छ ।
निष्कर्ष
विवाहअघि महिलामा महिलाका गुण तथा व्यवहार र पुरुषमा पुरुषका गुण तथा व्यवहार अवलोकन गर्नु र यी कुरा जान्नु आवश्यक हुन्छ । विवाहअघि जोडीको छनोट गर्ने क्रममा यस्ता विषयमा ध्यान नदिँदा विवाहपछि बेमेल भएका तथा कटुता उत्पन्न भई परिवार नै तहस–नहस भएका प्रशस्त उदाहरण समाजमा देखिन्छन् । विवाहअघि जोडी रोज्दा हतपत/ हडबड गर्नु र धैर्यता गुमाउनु हुँदैन ।