नमस्कार, ‘गुड’, अङ्कमाल कि चुम्बन ?
गोपाल ढकाल
कसैसँग भेट हुँदा तपाईं के गर्नुहुन्छ ? नमस्कार, ‘गुड’, अङ्कमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा छ ।
‘नमस्कार ! आरामै हुनुहुन्छ ?’
‘अँ, आरामै ?’
यसरी नमस्कारबाटै सुरु हुन्छ बोलचालको क्रम ।
नमस्कारले एक–अर्कालाई नजिक ल्याउन पनि मद्धत गरिरहेको हुन्छ । तर, यसो विचार गर्नुहोस् त ! नमस्कार गर्दा नमस्कार गर्ने व्यक्तिहरूबीच कत्तिको आत्मीयता (माया–प्रेम) झल्किरहेको हुन्छ ?
नमस्कारमा प्रायः उमेर, पद, प्रतिष्ठा आदि कुराको ठूलो अहमता/महत्व हुन्छ । नमस्कार गर्दा प्रायः ‘साना’ ले नै पहिले हात उठाउनुपर्ने हुन्छ र सकेसम्म टाढैबाट गर्नुपर्ने हुन्छ । नमस्कार गर्न अलि ढिलो भयो कि कसैको मनमा शङ्का पलाउन थाल्छ– ‘ठूलो भयो, नमस्कार पनि गरेन ।’
नमस्कार गर्दा व्यक्तिहरूबीच सामान्यतया सामाजिक दूरी (३.६ मि–१.२२ मि.) कायम रहेको हुन्छ र यो दूरी जति बढी भयो, सम्बन्ध त्यति नै कम घनिष्ट भएको मान्न सकिन्छ । नमस्कार गर्दा प्रत्युत्तर आउनैपर्छ भन्ने हुँदैन । प्रत्युत्तरमा टाउको मात्र हल्लन सक्छ वा एक हात मात्र उठ्न सक्छ । अझ सुनेको नसुन्यै गर्ने प्रवृृत्ति झन् बढी देखिन्छ ।
नमस्कारका नाउँमा चाकरी–चाप्लुसी, ज्यु–ज्यु, हजुर–हजुर गर्नेहरू पनि त्यत्तिकै भेटिन्छन् । औपचारिकता पूरा गर्न गह्रौं हात पार्दै हात जोडीटोपल्ने कर्मचारी र प्रत्युत्तरमा टाउको हल्लाउँदै हिँड्ने हाकिमबीच नमस्कार चल्दा कत्तिको मान–सम्मान र माया–प्रेम झल्कन्छ ? सहजै अनुमान गर्न सकिन्छ ।
हामीकहाँ ‘साना’ ले ‘ठूलाबडा’ र मान्यजनप्रति मान–सम्मान दर्शाउन उनीहरूको खुट्टामा घोप्टो परेर ‘साष्टाङ्ग दण्डवत’ गर्ने परम्परा समेत कायम छ । खुट्टा ढोग्ने–ढोगाउने बीचको साइँनो घनिष्ट हुन्छ (बाबु–छोरा, काका–छोरा आदि) । तर, उनीहरूबीचको सम्बन्धमा भने प्रायः ठूलो फाटो (ग्याप) देखिइरहेको हुन्छ । यसमा ‘ठूला’ ले ‘साना’ लाई आफूसमान ठानेको हुँदैन ।
‘गुड’ गर्दा (हात मिलाउँदा) दुई व्यक्तिबीचको दूरी नमस्कार गर्दाजति पर हुँदैन । ‘गुड’ गर्ने व्यक्ति एक–अर्काको व्यक्तिगत क्षेत्र (४७ से.मि.– १.२२ मि.) मा प्रवेश गर्दछन् । मान्छेले व्यक्तिगत क्षेत्रभित्र कमैलाई मात्र छिराउने हुँदा गुड प्रायः चिनेजानेका, समान उमेर, पद, प्रतिष्ठा भएका व्यक्तिसँग मात्र गरिन्छ । अपरिचित व्यक्तिसँग गुडभन्दा नमस्कार गर्नु नै सजिलो मानिन्छ ।
आफूभन्दा ‘ठूलाबडा’ तथा विपरीतलिङ्गी व्यक्तिसँग ‘गुड’ गर्न त्यति सजिलै बढ्दैनन् हाम्रा हातहरू । केटा र केटी साथी एकै ठाउँमा हुँदा ‘गुड’ गर्ने सवालमा कहिलेकहीं साह्र्रै अप्ठ्यारो पर्छ हामीलाई । ‘गुड’ कसैसँग सम्बन्ध बढाउने नमस्कारभन्दा राम्रो माध्यम हो । गुड गर्दा हुने हातको स्पर्शले भावनात्मकरूपमा आत्मीयता बढाउन मद्धत गरिरहेको हुन्छ ।
अङ्कमाल गर्दा अङ्कमाल गर्ने व्यक्तिहरू एक–अर्काको अन्तरङ्ग क्षेत्र (१५ से.मि.–४५ से.मि.) भित्र प्रवेश गर्दछन् । अन्तरङ्ग क्षेत्रभित्र प्रवेश गर्ने अधिकार सामान्यतया आमा, बुबा, छोरा, छोरी, आफन्तका बच्चाहरू तथा एकदमै नजिकको मित्रलाई मात्र हुन्छ । व्यक्ति अन्तरङ्ग क्षेत्रमा प्रवेश गर्ने हुँदा अङ्कमाल गर्ने व्यक्तिहरूबीच ‘गुड’ गर्दाको भन्दा बढी माया ममता झल्कन्छ । अङ्कमाल गर्दा एक–अर्कालाई सहारा र सान्त्वना मिल्नुका साथै भावनात्मकरूपमा एक–अर्कामा जोस–जाँगर र ऊर्जाको समेत प्रवाह भइरहेको हुन्छ । कुनै कुराबाट डराएको बालक आमा–बुबाको अँगालोमा बाँधिन पुग्नु र दुःख–कष्ट पर्दा आत्मीय व्यक्तिको अँगालोमा परेर रुनु यसैका उदाहरण हुन् । अँगालोमा बाँधिने व्यक्तिहरूमा एक–अर्काप्रति बढी विश्वास र भरोसा हुन्छ ।
चुम्बन पनि अँगालो झैं एक–अर्काको अन्तरङ्ग क्षेत्रमै हुन्छन् । तर पनि हामी अङ्कमाल गर्ने सबैलाई चुम्बन गर्न सक्दैनौं । हामीकहाँ प्रेमी–प्रेमिका, श्रीमान्–श्रीमती, छोरा–छोरीबाहेक अरुलाई चुम्बन गर्ने प्रचलन छैन । हामीकहाँ पाश्चात्य मुलुकमा जस्तो स्वतन्त्रता छैन चुम्बन गर्ने कुरामा ।
चुम्बन गर्दा व्यक्तिहरू एक–अर्काको अन्तरङ्ग क्षेत्रमा पर्ने हुँदा एक–अर्काप्रति बढी विश्वस्त त हुन्छन् नै, साथसाथै चुम्बन गर्दा शरीरका कोमल अङ्गहरूसँग मुखको स्पर्श हुने हुँदा चुम्बन गर्ने व्यक्तिहरूलाई केही मात्रामा भए पनि आनन्दको अनुभूति हुन्छ र यसले एक–अर्काबीचको सम्बन्धमा प्रगाढता ल्याउन पनि मद्धत गर्दछ ।
हामी धेरैलाई नमस्कार गर्छौं, तीमध्ये कमैसँग मात्र हात मिलाउँछौं; अझ कमसँग मात्र अङ्कमाल गर्दछौं र चुम्बन त हामी नगण्य व्यक्तिसँग मात्र गर्न सक्छौं । हामीले यो स्वभावलाई उल्टाइदिने हो भने के होला ? ‘चुम्बन’ अनि माया–प्रेम, आत्मीयता र अझ सुमधुर सम्बन्धको सुरुआत ? त्यसो भए जेसुकै होस्, पाठकलाई मेरो तर्फबाट मिठो एक चुम्बन …. !
‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक लेखक मनोविद् हुन्