सातौं आश्चार्य: लाइट हाउस अफ एलेक्जेन्ड्रिया
डा. डीबी सुनुवार
संसारका विभिन्न सात आश्चर्यमध्येको एउटा प्राचीनतम् आश्चर्य हो– ‘एलेक्जेन्ड्रिया’ । यो इजिप्टस्थित कायरोमा छ । मानव–सभ्यताकै सुरुआत भएको प्राचीनतम् मुलुक मिश्र नै अहिलेको इजिप्ट हो ।
प्राचीन समयका ‘एलेक्जेन्डर द ग्रेट’ नामक व्यक्ति यहीं बस्ने भएकाले यस ठाउँको नाम ‘एलेक्जेन्ड्रिया’ रहन गएको हो । एलेक्जेन्ड्रिया स्तम्भमा प्राचीन ‘लाइट हाउस’ छ । यही लाइट हाउस प्राचीन आश्चर्यहरूमध्येको एक आश्चर्य हो । एलेक्जेन्ड्रिया लाइट हाउस ईशापूर्व २८० ताका बनाइएको ऐतिहासिक धरोहर हो । एलेक्जेन्ड्रिया स्तम्भ एक सय असी मिटर अग्लो छ ।
यो स्तम्भमा रहेको लाइट निर्माणका क्रममा आगो बाल्ने प्रणाली, ऐना तथा सिसाजस्ता प्राचीन प्रविधि अपनाइएकोे थियो । तर, अहिले भने सो स्तम्भमा आधुनिक लाइट प्रणालीको प्रयोग गरिएको छ । यो स्तम्भको लाइट (उज्यालो) हेरेर सय माइल टाढाका पानीजहाजले समेत आफ्नो गन्तव्य पहिल्याउँथे । र, त्यही लाइटका आधारमा निशाना पछ्याउँदै जहाजहरू आ–आफ्नो गन्तव्यमा पुग्दथे ।
एलेक्जेन्ड्रियाको अर्को पनि अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पक्ष छ, त्यो हो– त्यहाँस्थित प्राचीन लाइब्रेरी अर्थात् पुस्तकालय । सङ्ग्रहालयका रूपमा सङ्रचित सो स्तम्भमा भएका विभिन्न अध्ययन सामग्री तथा पुस्तकका आधारमा संसारकै मानव–सभ्यता, इतिहास एवम् विकासका गतिविधि थाहा पाउन सकिन्छ । एलेक्जेन्ड्रियास्थित लाइट हाउस स्तम्भमै रहेको उक्त लाइब्रेरीलाई संसारकै सबैभन्दा पुरानो लाइब्रेरी मानिन्छ ।
एलेक्जेन्डरको कथा
एलेक्जेन्डरका विषयमा बडो घतलाग्दो कथा छ– उनी त्यस समयमा संसारकै सर्वाधिक शक्तिशाली व्यक्ति थिए । उनी यति शक्तिशाली थिए, जसले युरोपीय महादेशका विभिन्न राज्यहरू जिते र ती सबैमा आफ्नै अधिकार जमाए । युरोपपछि अफ्रिका–एसिया क्षेत्रका विभिन्न मुलुकहरूमा समेत आधिपत्य जमाए । एसियामा उनले भारतसम्म आएर पनि आधिपत्य जमाएका थिए । उनमा यति विलक्षण क्षमता थियो कि आँटेका काममा सफलता प्राप्त गरेरै छाड्दथे ।
अल्पायुमै उनको मृत्यु भएकाले ‘संसार जित्ने’ सपना भने एलेक्जेन्डरले पूरा गर्न सकेनन्÷पाएनन् । आफ्नो मृत्युअघि उनले दिएको एउटा सन्देश निकै मार्मिक तथा अर्थपूर्ण छ । आफ्नो मृत्युअघिको अन्तिम घडीमा एलेक्जेन्डरले आफन्तहरूलाई भनेका थिए– ‘म मरेपछि मेरो मृत शरीरलाई अन्तिम संस्कारका निम्ति लाँदा मेरा दुईवटै हात कफिन (बाकस) बाट बाहिरै निकालेर लगिदिनू ।’ मृत शरीर बाकसभित्र रहे पनि हात भने बाहिरै निकालेर अन्तिम संस्कारका लागि लान आग्रह गर्नुको सन्देश थियो– ‘संसार नै जिते पनि मृत्युपछि भने मानिसले खालि हात नै जानुपर्छ ।’
भ्रमणका क्रममा त्यहाँ पुग्दा एलेक्जेन्डरको यो मार्मिक सन्देश सुनेर मन चसक्क भयो । मानिसले आफूलाई जति नै शक्तिशाली ठाने पनि आखिर मृत्युपछि लाने त केवल मृत शरीर मात्रै रहेछ । त्यही शरीर पनि आफैं जान सक्दैन, अरुले बोकेर लगी अन्तिम संस्कार गरिदिनुपर्छ ।
तीन महादेशको सङ्गमस्थल
मिश्र युरोप, एसिया र अफ्रिकी महादेशको सङ्गमस्थल हो । तीनवटै महादेशलाई इजिप्टले छुन्छ । समग्र पृथ्वीकै मध्यभाग अर्थात् बीचमा पर्ने इजिप्टलाई सामरिक दृष्टिले निकै नै महत्वको भूमि मानिन्छ ।
हामी इजिप्टस्थित त्यही आश्चर्यजनक एलेक्जेन्ड्रियाको दृश्यावलोकनका निम्ति यात्रामा छौं । संसारभरका पर्यटक त्यहाँ पुग्दछन् र तीमध्येमा हामी पनि पर्यौं। एलेक्जेन्ड्रियाको अवलोकन गर्न पुग्नेमध्येमा युरोपियनहरूकै बाहुल्यता देखिन्छ ।
पुरुषको रगतले नुहाउने कामुक क्लियोपात्र
इजिप्ट नै पुगिसकेपछि क्लियोपात्र (अर्थात् क्लियोपेट्रा) का बारे चर्चा गर्न किन छुटाउनु र ! क्लियोपात्रजस्ती विश्वचर्चित पौराणिक सुन्दरी मिश्रकै थिइन् । उनी त्यस्ती नारी हुन्, जसले रोम र मिश्र दुवै देशकी रानी बन्न भ्याइन् । क्लियोपात्र संसारकै त्यस्ती नारी रहिछन्, जसको सुन्दरतामा संसारभरका धेरै पुरुषहरू लट्ठिए । क्लियोपात्रको यौवन–सुन्दरतामा लट्ठिएर संसारका कयौं शक्तिशाली बादशाहहरू समेत उनको पञ्जामा परे ।
यतिसम्म कि विभिन्न मुलुकहरूबीच चलेका लडाइँको कमान्ड समालिरहेका शासकहरू समेत क्लियोपात्रको यौवनमा लट्ठिएर युद्ध नै स्थगित गर्ने स्थितिसम्ममा पुगे । उनी सुन्दरी त थिइन् नै, साथसाथै शक्तिशाली र साहसी समेत थिइन् । अझ चाखलाग्दो विषय त यो छ कि क्लियोपात्र पुरुषको आलो रगतले नुहाएर ‘आनन्द’ लिन्थिन् ।
क्लियोपात्रका यस्ता आश्चर्यजनक जानकारी लिएपछि विशेष प्रकारले बनाइएको उनको पेन्टिङ किनियो । प्राचीन वनस्पति ‘पाइपारुस’ मा बनाइएको क्लियोपात्रको आकृति (पेन्टिङ) किनेर सुरक्षितरूपले झुन्ड्याइयो अनि त्यहाँबाट हिँडियो ।
रोमाञ्चक संस्कृति
एलेक्जेन्ड्रियाको भ्रमण ख्याल रमाइलो भएन । बास बसिएका ठाउँ तथा सांस्कृतिक क्लबहरूमा हेरिएका नाचगान र त्यहाँको रमाइलोले बाह्य वातावरण र संसार नै भुलियो । नृत्यकर्मीहरूका अर्धनग्न नृत्य कम रोमाञ्चक थिएनन् । त्यहाँ हेरिएका ‘हिप डान्स’ तथा ‘बेली डान्स’ कम्ता रोमाञ्चक थिए र !
जस्ताका तस्तै ममिज
इजिप्ट पुगेपछि हेर्न पाइने पिरामिडको दृश्य त्यत्तिकै आश्चर्यजनक छ । प्राचीन शक्तिशाली फारो साम्राज्यका शासकहरूले आफ्ना मृत शरीर राख्नका लागि पिरामिड निर्माण गर्न लगाउँथे । राजा र राजपरिवारका सदस्यलाई मृत्युपछि पिरामिडमा राखिन्थ्यो ।
मानिसलाई आश्चर्यचकित तुल्याउने यहाँका पिरामिड सातौं आश्चर्यमा पर्छन् । निकै अग्ला, त्रिकोणात्मक पिरामिडको टुप्पामा राजाहरूका मृत शरीर राखिन्थ्यो । यसरी सयौं/हजारौं वर्ष सुरक्षित राखिएका मृत शरीर ममिज नामले चिनिन्छन् ।
राना ममिजलाई अहिले भने पिरामिडबाट निकालेर सङ्ग्रहालय बनाई सिसाको बाकसभित्र राखिएको छ । प्राकृतिक विधि अपनाएर पाँच हजार वर्ष पुराना मृत शरीर (ममिज) हरूलाई अहिलेसम्म पनि सुरक्षित नै राख्न सक्नु आश्चर्यकै विषय हो ।
संसारकै लामो नाइल नदी
अनेकौं कारणले इजिप्ट ऐतिहासिक ठाउँ हो । संसारकै सबैभन्दा लामो नाइल नदी पनि इजिप्टमै पर्छ । यसै नदीको किनारबाट मानव–सभ्यता विकसित हुँदै आएको मानिन्छ ।
नाइल नदी अफ्रिकादेखि एलेक्जेन्ड्रियास्थित मेडिटेरियन समुद्रसम्म बहन्छ । यसको लम्बाई ६ हजार ६ सय ९५ किलोमिटर छ । प्राचीन समयमा यस नदीको किनारमा मानिसको बसोवास थियो; सो क्षेत्र ‘नाइल भ्याली’ का नामले प्रसिद्ध थियो ।