महामारीबीच विवाहको द्विविधा
गोपाल ढकाल
अङ्ग्रेजी नयाँ वर्ष– सन् २०२० थालनीको केही दिनअघि अर्थात् डिसेम्बरको अन्त्यदेखि चीनको वुहानबाट क्रमशः विश्वव्यापी बन्दै फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को महामारी अझै थामिएको छैन । झण्डै नौ महिना पार गरिसक्दा समेत यो महामारी उत्कर्षकालमै रहेको देखिँदैछ । कोभिड– १९ को महामारीले कयौं जोडीको वैवाहिक योजना बिथोलिएको छ । यस्तो अवस्थामा एकातर्फ जोडीबीच भौतिकरूपमा भेट असहज बनिरहेको छ भने अर्कातर्फ विवाह गर्ने कि नगर्ने भन्ने द्विविधा समेत उत्पन्न भैरहेको छ ।
विवाह भनेको युगल जोडीका लागि पारिवारिक जीवन सुरुआतको महत्वपूर्ण खुड्किलो हो । विवाहले नै ‘परिवार’ नामक संस्थाको सुरुआत हुन्छ । विवाहपछि जोडीका दुवै पक्षबीच सुख–दुःखको सहयात्रा सुरु हुन्छ । आफ्नो विवाहलाई सुखद् र अविस्मरणीय बनाउने चाहना प्रत्येकमा हुनु स्वाभाविकै हो । प्रायः सबैमा आफ्नो विवाहका अवसरमा आफन्त, नातागोता, साथीभाइलाई निम्ता गर्ने रहर हुन्छ । नेपाली समाजमा दुलाहा–दुलही दुवै पक्षका आफन्त तथा इष्टमित्रलाई साक्षी राखेर विवाह गर्ने परम्परा छ ।
तर, कोरोनाभाइरस महामारीका कारण यातायातको असुविधा, सामाजिक दूरीको अनिवार्यता, रोगको भयलगायतका कारण विवाहमा जमघटको वातावरण नै नबन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थाकै कारण कयौं जोडीको विवाह योजना नै पछि धकेलिएको छ ।
विवाह तय भइसकेका जोडीको विवाह योजना पछि धकेलिँदा जोडीलाई स्वयम्मा तनावको स्थिति सिर्जना हुनु स्वाभाविकै हो; साथसाथै दुवै पक्षको घरपरिवारमा समेत तनाव सिर्जना हुन पुग्छ । यस्तो महामारीका बेला विवाह गर्ने कि नगर्ने भन्ने अर्को तनाव ‘लगन’ जुराइसकेको जोडीका लागि थप पेचिलो प्रश्न हो ।
विवाहको मिति नै तय भइसकेका जोडीको विवाह स्थगित हुँदा कहिले विवाह गर्ने भन्ने द्विविधाले सताउनु स्वाभाविकै हो । निर्धारित मितिको विवाह स्थगित भएपछि आफूलाई मन परेको जोडीसँग विवाह नै नहुने पो हो कि भन्ने तनाव समेत थपिने नै भयो ।
कोरोना महामारी तत्काल नियन्त्रणमा आइहाल्ने कुनै सम्भावना देखिँदैन । र, यो कति समयपछि नियन्त्रण हुन्छ भन्ने कुरा समेत कसैले पनि यकिनसाथ भन्न सक्दैन । त्यसैले विवाहको मिति तय भइसकेर स्थगन गरी महामारीको अन्त्यपछि विवाह गर्ने योजना बनाएका जोडी र तिनका घरपरिवारमा समेत उत्तिकै तनावको स्थिति छ ।
सुहागरातको तनाव
नवविवाहित जोडीका लागि सुहागरात निकै महत्वपूर्ण पक्ष हो । अर्को शब्दमा भन्नुपर्दा वैवाहिक जीवनको सुनौलो पक्ष हो सुहागरात । यो नवविवाहित जोडीले एकआपसमा यौनभाव प्रकट गर्ने रात हो । नवविवाहित जोडीका लागि सुहागरात यौनको पहिलो खुड्किलो मानिन्छ । नवविवाहित जोडी यौनको पहिलो खुड्किलामा रोमाञ्चित भए भने त्यस्ता जोडीको बाँकी यौनजीवन सुखद् र आनन्दमय हुने विश्वास गरिन्छ । तर, सुहागरातमै यौनको मामलामा कुनै खटपट भयो वा तितो अनुभूति सँगालियोे भने त्यस्ता जोडीको बाँकी यौनजीवन सुखद् नहुने सम्भावना प्रबल हुन्छ ।
कोरोनाभाइरसको महामारीका बीच कुनै किसिमले विवाह भैहाल्यो भने पनि भयाक्रान्त परिवेशका कारण सुहागरातमा व्यवधान उत्पन्न हुन सक्छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको मुख्य विधि मानिएको ‘सामाजिक दूरी’ कायम गर्ने सिलसिलामा चुम्बन गर्न समेत डराउनुपर्ने अवस्था छ । सङ्क्रमणको डरका कारण यौन क्रियाकलाप (फोरप्ले) मा व्यवधान उत्पन्न हुन सक्छ । सङ्क्रमणको तनावकै कारण यौन हर्मनको सक्रियतामा समेत कमी आउँछ, जसले गर्दा यौन उत्तेजना नै नहुन पनि सक्छ । यौन उत्तेजनामै समस्या उत्पन्न हुँदा पहिलो यौन निरस भई यौन जोडीमा हिनताबोध हुन सक्छ । यसो हुँदा यौन जोडीको बाँकी यौनजीवन नै आनन्दमयी नहुने जोखिम हुन सक्छ ।
हनिमुनमा बाधा
कतिपय जोडीले महामारीकै अवस्थामा पनि विवाह गरेको पाइन्छ । यस्तो अवस्थामा विवाह गर्ने जोडीका निम्ति हनिमुनका लागि बाधक बनेको छ कोरोनाको महामारी । यतिबेला आफूले चिताएको ठाउँमा सहजै पुग्न सक्ने अवस्था छैन ।
नवविवाहित जोडीबीच एक–अर्कालाई राम्रोसँग बुझ्ने अवसरका रूपमा हनिमुनलाई लिइन्छ । तर, महामारीका कारण हनिमुनमा व्यवधान खडा हुँदा नवविवाहित जोडीले हनिमुनको आनन्द लिनबाट वञ्चित हुनुपर्ने अवस्था छ । वैवाहिक जोडीमा सुखद् जीवनयात्राको आरम्भ गर्ने उपयुक्त अवसर पनि हो हनिमुन । हनिमुनस्पटको आनन्दमयी वातावरणमा नवविवाहित जोडीले आफ्नो दाम्पत्य जीवनको भावी योजना कोर्न सक्छन् । हुन त दाम्पत्य जीवनको भावी योजना कोर्नका लागि हनिमुन नै जानुपर्छ भन्ने छैन । यद्यपि प्रायः ‘आधुनिक’ सहरिया नवजोडीले हनिमुनलाई महत्वका साथ लिने गरेको पाइन्छ ।
यस्तो महामारीको स्थितिमा विवाहजस्तो उत्सवमय कार्य गर्नु उचित होइन । विवाहमा फोटो, भिडियो खिँच्नु तथा खिँच्न मन लाग्नु स्वाभाविकै हो । तर, यस्तो अवस्थामा भाइरसको सङ्क्रमणबाट बच्न अनिवार्यतः मास्क लगाउनुपर्छ; सामाजिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका अरु विभिन्न उपाय अपनाउनुपर्छ । यस्तो अवस्थामा मास्क लगाएको र दूरी कायम गरेर टाढा–टाढा बसेका फोटो तथा भिडियो खिचिन सक्छन् । यतिसम्म कि, दुलाहा–दुलहीले समेत मास्क लगाएर विवाह कर्म सम्पन्न गर्नुपर्ने स्थिति भएकाले यस्तो अवस्थामा विवाह उत्सव निरस बन्न सक्छ ।
सशङ्कित सम्बन्ध
महामारीको अवस्थामा विवाह गरेका जोडीबीच रोग सारिदिने पो हो कि भन्ने भयले एक–अर्कालाई सशङ्कित बनाउन सक्छ । नवविवाहित आफ्नो जोडीलाई रोग लाग्ने पो हो कि भन्ने चिन्ताले पनि मानसिकरूपमा सताउन सक्छ । भयको यस्तो अवस्थामा यौनका लागि सरिक हुँदा यौन सुख नमिल्न सक्छ । जोडी शारीरिकरूपमा नजिक हुने भए पनि घर, परिवार तथा आफन्तमा रोग सर्ने पो हो कि भन्ने चिन्ताले सताउँदा यौन निरस बन्ने जोखिम हुन्छ ।
इटालीका एक ‘प्रेमी’ ले आफूलाई कोरोनाभाइरस सारिदिएको भन्दै आफ्नी डाक्टर ‘प्रेमीका’ को हत्या गरेको समाचार प्रकाशमा आएको छ । यो उदाहरणलाई हेर्दा समेत सङ्क्रमणको आशङ्काले जहाँसुकैका नवविवाहित जोडीमा तनावको स्थिति सिर्जना नहोला भन्न सकिँदैन । नवविवाहित जोडीका कुनै एकलाई कोरोनाभाइरस रहेछ भने त्यसले उसको जोडी, परिवारलगायतका सम्पर्कमा आएका प्रायः सबैमा सङ्क्रमण हुने जोखिम त हुन्छ नै । यदि यसो भएमा स्वयम् जोडी तथा परिवारबीचको सम्बन्धमा दरार उत्पन्न हुन सक्छ ।
महामारीको असरका कारण तनाव पैदा हुन सक्छ, जसले नवविवाहित जोडीमा यौन तथा घरेलु हिंसाको जोखिम बढ्छ । तनावजन्य अवस्थामा विवाह गर्दा नवदुलहीलाई दुलाहा पक्षको पारिवारिक समायोजनमा अझ बढी समस्या उत्पन्न हुन्छ । त्यसैले विवाहको योजना नै तय भैसकेको र विवाह गर्ने निष्कर्षमै पुगिसकेका जोडीले पनि महामारीको असरबारे राम्रो सोचविचार गर्नु आवश्यक छ । महामारीको अवस्थामा हुने विवाहपछि निम्तन सक्ने समस्याको व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । विवाह गर्ने निष्कर्षमा पुगेका जोडीले महामारीका कारण पैदा हुने समस्याबारे आपसी छलफल गरी समुचित समझदारी कायम गर्नु आवश्यक हुन्छ ।
अनिच्छित गर्भको जोखिम
महामारीको अवस्थामा गर्भनिरोधक साधनको सहज उपलब्धता नहुँदा अनिच्छित गर्भ रहने जोखिम बढ्छ । अनिच्छित गर्भ रहँदा जोडीमा तनाव बढ्ने नै भयो । राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले जनाएअनुसार कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा विश्वका करिव ७० लाख महिलामा अनिच्छित गर्भ रहने अनुमान छ ।
आर्थिक तनाव
सङ्क्रमणको भय र लकडाउनका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । यस्तो अवस्थामा परिवार र व्यक्तिलाई प्रत्यक्ष–अप्रत्यक्षरूपमा आर्थिक सङ्कट बढ्दै गएको छ । मुलुककै आर्थिक अवस्था कमजोर बनेको समयमा व्यक्तिको आय–आर्जनमा असर त पर्ने नै भयो । आर्थिक सङ्कटको अवस्थामा विवाह गर्दा थप सङ्कट निम्तन्छ । विवाह गर्दा अवश्य पनि जिम्मेवारी बढ्छ । आर्थिक व्यवस्थापन गर्न कठिन भएको खण्डमा त्यसले नवविवाहित जोडीमा थप तनाव निम्तन सक्छ, जसको परिणामस्वरूप जोडीबीचको सम्बन्धमा खटपट बढ्ने जोखिम हुन्छ ।
दूरी टाढा, माया गाढा
विवाहको योजना तय भैसकेर पनि महामारीका कारण तत्काल विवाह नगर्ने सोच बनाएका जोडीबीच भौतिकरूपमा भेट हुन नसके तापनि भावनात्मकरूपमा नजिक हुन भने अवश्य नै सक्दछन् । जोडीलाई एकापसमा नजिकिन सञ्चारका विभिन्न माध्यमले सहज बनाएको छ । सञ्चारका विभिन्न माध्यम प्रयोग गरी जोडीबीच निरन्तररूपमा भावना साटासाट गरिरहन सम्भव छ, जसले गर्दा भावनात्मक सामिप्यता कामय राखिराख्न सहयोग पुग्छ ।
महामारीको अवस्थामा तनाव पैदा हुन सक्ने भएकाले जोडीले सकारात्मक सोच राख्नु आवश्यक हुन्छ । जोडीबीचको सुमधुर संवादले भावनात्मकरूपमा एक हुन थप बल पुग्छ । भौतिक दूरी टाढा भए पनि माया–प्रेम गाढा राखिराख्न सकेमा अनुकूल समय आउनासाथ चाहेकै जोडीसँग विवाह गर्न सक्दछन् ।
‘मार्क नेपाल मनोसेवा केन्द्र’ मा कार्यरत ढकाल मनोविद् हुन्