अञ्जु पन्तको लकडाउन दैनिकी

होलिस्टिक संवाददाता

नेपाली सुगम गीत–सङ्गीतको क्षेत्रमा यतिबेला झन्डैझन्डै एकलजस्तै राज गरिरहेकी गायिका हुन् अञ्जु पन्त । अञ्जुको सुरिलो स्वरलहरीले अहिलेसम्म हजारौं गीत सजिइसकेका छन् । गायिका अञ्जु पछिल्लो समय नेपाल टेलिभिजनबाट शनिबार प्रशारण भैरहेको रियालिटी सो ‘नेपाल स्टार’ की ‘जज्’ समेत हुन् ।
स्वदेशभित्र हुने अनेकौं कन्सर्टका अलावा नियमितजसो विदेशमा भैरहने कन्सर्टहरूमा उनी निरन्तर सहभागी हुँदै आइरहेकी छन् । उनी नेपालमा सर्वाधिक रुचाइएका गायक–गायिकामध्येमै पर्छिन् । अञ्जुले गाएका सयाैं गीतहरू हिट छन् । उनी सबैखाले गीतमा आवाज दिन सक्ने गायिका हुन् । उनका ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…’ गीत सर्वाधिक चर्चित रह्यो । ‘प्रसाद’ फिल्मको ‘बनकी चरी के भन्छे के…’, ‘ए मेरो हजुर– ३’ फिल्मको ‘परान–परान…’ लगायत उनको स्वरलहरीले सजिएका सयौं गीत हिट भएका छन् ।
हालै मात्र पनि लोकगायक नवराज घोरासैनी र अञ्जु पन्तले गाएको गीत ‘मिर्मिर कपालैमा…’ सुपरहिट भएको छ । लोकगीतमा पनि उत्तिकै मात्रामा आवाज दिएकी अञ्जु यस पटक लोकगीतमा समेत सफल गायिकाका रूपमा दरिइन् ।

‘लकडाउनमा गितार सिक्दैछु’

विश्वव्यापी कोरोनाभाइरस महामारीका कारण लकडाउन स्वीकार्दै अरु नागरिकजस्तै घरैमा बसिरहेका कलाकारहरूमध्ये धेरैजसोले केही न केही काम गरेरै समयको सदुपयोग गरिरहेका छन् । कुनै गायक–गायिका खाने कुरा पकाउन सिकिरहेका छन् त कोही पुस्तक पढिरहेका छन् । अञ्जु पन्त भने पहिल्यैदेखि मिठो खाने कुरा पकाउने गायिका हुन् । अञ्जु चाहिँ लकडाउनभर छोरी र दिदीका साथ ललितपुरमा रमाइरहेकी छन् ।
‘अहिले घरको काममै व्यस्त रहेकी छु,’ होलिस्टिकसँग अञ्जुले भनिन्– ‘पहिल्यैदेखि गितार सिक्ने मन थियो, समय पाइरहेकी थिइनँ, अहिले घरैमा बसेर छोरीसँग सिक्दैछु ।’
चर्चित गायिका भैसकेर यतिबेला बल्ल पो गितार सिक्दै ? जिज्ञासामा उनले भनिन्– ‘मलाई गितार बजाउन असाध्यै मन पर्छ तर जानेकी छैन । गितारप्रति मेरो असाध्यै मोह भएकाले बल्ल समय मिलेकाले घरमै बसेर आफैं सिकिरहेकी छु । एकजना भाइसँग सिकिरहेकी थिएँ, लकडाउनका कारण ती भाइ आएका छैनन्, आफैं प्राक्टिस गरिरहेकी छु ।’

व्यस्त जीवनशैली

गायिका अञ्जुको दैनिकी अरुहरूको तुलनामा केही फरक देखिन्छ । सामान्यतः बिहान सात बजे निस्किसकेपछि उनी रातको एघार–बाह्र बजेतिर मात्रै घर पुग्ने गरेकी छन् । पाँच वर्षअघि श्रीमान् मनोजराजसँग सम्बन्ध–विच्छेद भएयता उनी एक्लै बस्दै आएकी छन् ।
‘रेकर्डिङ तथा स्वदेश–विदेशका कन्सर्टको धपेडी छँदै छ । थप अहिले त ‘नेपाल स्टार’ मा ‘जज्’ समेत भएकाले व्यस्तता थपिएको छ,’ आफ्नो दैनिकी सुनाउँदै अञ्जुले भनिन्– ‘बिहान ७ बजे हिँडेपछि राति एघार–बाह्र बजेतिर मात्रै घर आइपुग्छु । घरमा के–कसो छ, मलाई केही थाहा नै हुँदैन ।’

लकडाउन दैनिकी

‘एकदमै बिजी रहेकाले घरमा समय दिनै पाएकी थिइनँ, अहिले भने पर्याप्त समय मिलेको छ,’ लकडाउन दैनिकी पस्कँदै उनले भनिन्– ‘अहिले घरैमा बसेर फेरि गीत–गजल लेखनलाई निरन्तरता दिन थालेकी छु । पहिले गीत–गजल लेख्थें, पछिल्लो समय गायनमा व्यस्तताका कारण लेख्न पाएकी थिइनँ ।’
‘अहिले गजलहरू कोरिरहेकी छु र आफैंले सङ्गीत पनि गरिरहेकी छु । लकडाउनले केही समय नयाँ सिर्जना गर्ने मौका दिएजस्तो लाग्छ,’ आगामी योजना सुनाउँदै उनले भनिन्– ‘शायद चाँडै नै तिनलाई रेकर्ड गराएर बजारमा पनि ल्याउँछु ।’
‘म मात्र होइन, अहिले मेरी छोरी पनि मसँगै गितार सिकिरहेकी छन् । उनलाई पनि गायन क्षेत्रमा लाग्ने ठूलो शोख छ,’ थप रहस्य खोल्दै अञ्जुले भनिन्– ‘पहिले मामुको मुख देख्नसम्म नपाउने छोरी अहिले भने २४सै घन्टा मसँगै छिन् । गायनमा तीव्र शोख भएकी छोरी गितार बजाउन पनि ज्यादै मन गर्छिन्, समय र अवसर मिलेपछि गायन क्षेत्रमै आउलिन् ।’

खानपान र स्वास्थ्य

‘घरमा बसेपछि त हरेक खाने कुरा खाइन्छ नै । सकेसम्म अग्र्यानिक नै खान रुचाउछौं । गाउँमा बसेका छौं त्यसैले यहीं रोपेका सागसब्जी खाने गरेका छौं,’ खानपानबारे बताउँदै अञ्जु भन्छिन्– ‘आफ्नै बारीमा पनि रोपेका छौं त्यसैले बाहिरबाट धेरै किन्नुपरेको छैन; यताउति गरेर आमाले नै काम चलाइरहनु भएको छ ।’
शारीरिक तन्दुरुस्ती र सुन्दरताका लागि उनी व्यायामका लागि जिमखाना जाँदिनन् । एक त जिमखाना जाने समय नै हुँदैन त्यसमाथि जिमखानाको अभ्यासले स्वास्थ्य र शरीर तन्दुरुस्त होला भन्ने नै उनलाई लाग्दैन । बिहानै उठेर तीन तला माथिदेखि बढार्दै–बढार्दै बाटोसम्म पुग्छिन् । ‘तपाईंजस्तो मान्छेले यसरी बढार्नुहुन्न नि’ भनेर छरछिकेमीहरू जिस्क्याउँछन् । ‘किन नहुनु ! आफ्नो घर र छरछिमेक सफा राखे पो सफा–स्वस्थ भइन्छ त’– अञ्जुको जवाफ सुनेपछि कतिपय छिमेकी उनलाई सघाउन आउँछन् ।
‘हामी कलाकारहरू अगाडि बढेर काम गर्यौं भने पो अरुले पनि ए यसरी गर्नुपर्ने रहेछ भनेर सिक्छन् त,’ उनी भन्छिन्– ‘कलाकार त एउटा अभियन्ता हुनुपर्‍याे नि होइन ? हामीले घर–आँगन सफा गर्यौं भने हामी नै त स्वस्थ हुन्छौं नि ।’

मकै गोड्दा नानाथरी कमेन्ट

‘लकडाउनको सुरुआतमा मेरा छिमेकी दाइ मकै गोड्दै हुनुहुँदो रहेछ । मलाई किसानी काम एकदमै मन पर्छ । मैले पनि उहाँसँगै गोड्न थालें,’ भर्खरैको अनुभव सुनाउँदै अञ्जुले भनिन्– ‘मलाई कुटो–कोदालो चलाउन त त्यति आउँदैन । त्यो भिडियो फेसबुकमा अपलोड गर्देको त ल मकै गोड्दा कसरी बिँड समाएको रे ! के नाटक गरेको रे ! मान्छेहरूले त के–के कमेन्ट गरे–गरे ।’
‘मैले कयौं घरायसी काम जानेकी छैन, आमासँग सोध्दै सिकिरहेकी छु । मान्छेले त मलाई उल्लु नै पो बनाए,’ अञ्जुको धाराप्रवाह रोकिएन– ‘एउटा प्रश्न सोध्न चाहन्छु, जमिन र खेती भएन भने के खान्छ मान्छेले ? मान्छे जतिसुकै धनी होओस्, आकाशमै उडोस्, आखिर खानका लागि त जमिनमै झर्नुपर्छ । किसानले कमाइदिएको अन्न नै खानुपर्छ । तर, मान्छेले किन त्यो बुझ्दैन ?’
‘एउटा गायक वा गायिका या कलाकार भएर काम गर्नै हुँदैन भन्ने होइन, भ्याए जति गर्ने हो,’ कुराको बिट मार्दै अञ्जुले भनिन्– ‘काम गर्दा शरीर स्वस्थ पनि हुन्छ र फुर्तिलो पनि बन्छ; कामबाट त हरेक कुरामा फाइदै छ नि !’