अस्पतालमा नर्सको खानपान
सागर दाहाल/ होलिस्टिक संवाददातानर्सिङ पेशा भनेको हरहमेसा बिरामीको सेवामै तल्लीन रहनुपर्ने पेशा हो । बिरामीको सेवामा अस्पतालमै व्यस्त रहने नर्सको खानपानशैलीबारे होलिस्टिककर्मी सागर दाहालले गरेको कुराकानी–
अनिशा निरौला
के खाने, कस्तो खाने भन्ने कुरा हामी बिरामीलाई सिकाइरहेका हुन्छौं । तर, विडम्बना नै भन्नुपर्छ– आफ्नै खानपानको भने थिति हुँदैन ।
सम्भव भएको दिन घरबाटै खाना बनाएर अस्पतालमा ल्याएर खान्छु । बिरामीको चाप बढेको समयमा र सेवामा नै व्यस्त रहँदा त घरबाट ल्याएको खाना पनि खान नपाई सेलाउँछ । चिसो खाना खाँदा ग्यास्ट्रिकले सताइहाल्छ । ग्यास्ट्रिक त मेरो साथी नै भैसक्यो ।
घरबाट खाना नल्याएको दिन क्यान्टिन तथा होटलमा चाउचाउ, चाउमिन, परौठा, स्याभाले, समोसाजस्ता सामग्री खान्छु । यसरी जथाभावी खानपान गर्दा कति पटक त फुड पोइजन र झाडापखाला भएर थला नै परेकी छु ।
एलिसा घिमिरे
नर्सिङ पेशा हरदम बिरामीको सेवामै तल्लीन हुुुनुपर्ने पेशा भएकाले रात–दिन अस्पतालमा बिरामीको सेवा गर्नु नै हाम्रो ‘धर्म’ वा कर्तव्य हो । तर, बिरामीको सेवा गर्ने सिलसिलामा हामी आफ्नै स्वास्थ्यको भने ख्याल गर्नै भ्याउँदैनौं ।
खाना–खाजा खाने समेत निश्चित समय हुँदैन । हतार नभएको दिन घरबाटै बनाएर ल्याएर अस्पतालमा खान्छु । धेरैजसो त अस्पतालको क्यान्टिन र वरिपरिका होटलमा मःमः, चाउमिन, खाजा सेट खान्छु । सन्तुलितरूपमा खानपान नहुँदा ग्यास्ट्रिकले सताइरहन्छ ।
प्रिया उप्रेती
अस्पतालमा हुँदा वार्डमा ड्युटी परेको अवस्थामा नियमित समयमा खानपान गर्नै भ्याइँदैन । सधैं घरबाट खाना लिएर वा खाएर आउन पनि सम्भव हुँदैन । सधैंजसो हतार नै हुन्छ । त्यसैले धेरैजसो अस्पतालकै क्यन्टिनमा खाना तथा खाजा खान्छु ।
मःमः, चाउमिन नै मेरो पहिलो प्राथमिकतामा पर्छन् । यसरी प्रायः घरबाहिर नै खानपान गर्नुपर्दा तथा सन्तुलित भोजन गर्न नपाउँदा पेट दुख्ने, टाउको दुख्ने, रिँगटा लाग्ने समस्या बेलाबखत भोगिरहेकै हुन्छु ।
सुमित्रा मानन्धर
धेरैजसो बिहानै उठेर, केही नखाई हतार–हतार अस्पताल पुग्छु । खानपानको समयम मिलाउनै कठिन हुन्छ । सधैं घरबाट खाना बनाएर बोक्न भ्याइँदैन । पहिलो कुरा त नियमित समयमा खानपान गर्नै भ्याइँदैन ।
भोकले पेट दुख्न थालेपछि अस्पतालको क्यान्टिन तथा बाहिरका होटलमा मःमः, चाउमिन, सुख्खा चाउचाउजस्ता सामग्री खान्छु । कहिलेकहीं बिस्कुटले नै खाजा टर्छ । यसरी जथाभावी खानपान गर्दा पेट दुख्ने त सामान्य नै भैहाल्यो; कति पटक त पेट दुखेर मुर्छा नै परेकी छु ।