पाको उमेरमा स्वस्थ जीवनको सूत्र

डा. दिनेश बाँस्तोला

शरीर विज्ञानअनुसार कम शारीरिक क्षमताले धेरै दैनिक क्रियाकलाप गर्न सक्षम हुनु नै पाको उमेरको सफलता हो । पाको उमेरमा शारीरिक तथा मानसिकरूपमा सक्रियताका लागि दैनिक जीवनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ । खानपान तथा शारीरिक व्यायामको व्यवस्थापन गर्नाले पाको उमेरमा सक्रियरूपमा काम गर्न सकिन्छ ।

पाको उमेरमा सक्रिय तथा स्वस्थ रहनका लागि केही जीवन–सूत्र अपनाउनु आवश्यक हुन्छ । पाको उमेरका व्यक्तिले व्यवस्थित जीवनशैली अपनाएको अवस्थामा स्वस्थ र मजबुत बन्न सकिन्छ भन्ने कुरामा भने सचेत हुनु आवश्यक छ ।

सन्तुलित खानपान गर्ने

पाको उमेरका व्यक्तिले स्वस्थ तथा सन्तुलित खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । हरिया सागपात, फलफूल तथा गेडागुडी सन्तुलितरूपमा खानु आवश्यक हुन्छ । यस्ता खानपानले शरीरलाई जवान राख्न मद्दत पुग्छ । पाको उमेरका व्यक्तिले कोलेस्ट्रोल वृद्धि गराउने खानपान तथा मासु जतिसक्दो कम गर्ने बानी बसाल्नुपर्छ ।

शरीरको संरचनाअनुसार दाँत, पेट र आन्द्राको बनावट पूर्ण शाकाहारी जनावरको जस्तै हुन्छ । त्यसैले शरीरलाई छिटो पाको हुनबाट बचाउन शरीरको प्राकृतिक संरचना तथा भोजनलाई ख्याल गर्नु अत्यावश्यक हुन्छ । सन्तुलितरूपमा स्वस्थ खानपान गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत भई चाँडै पाको हुनबाट बच्न सकिन्छ ।

नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्नाले शरीर मजबुत हुन्छ । व्यायाम गर्नाले शरीरका माङ्शपेशी, नसा तथा हाडजोर्नी लचिला हुन्छन् । यसरी नसा तथा हाडजोर्नी लचिला हुँदा शरीर नै लचिलो हुन्छ, जसका कारण शरीरमा सहजरूपमा रक्तप्रवाह भई पूरै शरीरमा पोषण–तत्त्व सहजरूपमा पुग्न मद्दत मिल्छ ।

नियमित र समुचित व्यायाम गर्दा शरीरमा अक्सिजनको मात्रा पुग्ने र ठीकसँग प्रवाह हुने तथा तौल पनि नबढ्ने भएकाले शरीर सुहाउँदा खेलकूदमा भाग लिने, दौडने जस्ता काम गर्नु पाको उमेरका लागि लाभदायक हुन्छ ।

चर्को घामबाट बच्ने

पाको उमेरमा अनुहारमा चाउरीपना देखिन्छ । छाला चाउरीनबाट बच्नका लागि घाममा हिँड्दा छाता ओढ्नु वा छहारीबाट हिँड्नु उचित हुन्छ । सूर्यको प्रत्यक्ष किरणबाट जोगिनका लागि प्राकृतिक किसिमका क्रिम पनि प्रयोग गर्न सकिन्छ ।

बिहान एघार बजेदेखि दिउँसो चार बजेसम्मको घाममा कम हिँड्नु नै उचित हुन्छ । यसको अर्थ घाममा हिँड्नै हुँदैन भन्ने पनि होइन । घाममा बस्नाले शरीरमा ‘भिटामिन– डी’ को मात्रा पुग्ने भएकाले सन्तुलितरूपमा घाममा हिँडडुल गर्नु भने आवश्यक हुन्छ ।

तनावबाट बच्ने

शरीरका अङ्गदेखि कोषसम्म तनावको असर हुन्छ । मानिसमा विभिन्न कारणले तनाव उत्पन्न हुन सक्छ । असन्तुलित यौन सम्पर्कजस्ता कारणले पनि तनाव उत्पन्न हुन सक्ने भएकाले तनावको व्यवस्थापन गरी स्वस्थ रहन तथा पाको उमेरमा समेत शारीरिक एवम् मानसिकरूपमा मजबुत बन्न सकिन्छ ।

भययुक्त समाचारका कारण पनि स्नायु प्रणलीमा प्रभाव परी हर्मोनको उतार–चढाव हुन्छ, जसका कारण व्यक्ति तनावको स्थितिमा पुग्छ । त्यसैले तनाव व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ । लामो समयसम्म तनाव कायमै रहेको अवस्थामा शरीरमा अवरोधको अवस्था सुरु हुन्छ । त्यसैले तनवासँग मुकाविला गर्न सक्नुपर्छ ।

तनावको व्यवस्थापन गर्न नसके व्यक्ति निराश भई मानसिक समस्यामा फस्न सक्छ । तनाव नलिई पाको उमेरलाई प्राकृतिक प्रक्रियाका रूपमा लिएर सहज जीवन जिउनु नै बुद्धिमत्ता हुन्छ ।

धुमपान–मद्यपानबाट बच्ने

धुमपान तथा मद्यपानले पाको उमेरलाई अझ छिटो पाको हुन बढावा दिने भएकाले धुमपान तथा मद्यपान गर्नु हुँदैन । धुमपान तथा मद्यपानमा हुने रासायनिक तत्त्वले शारीरिक र मानसिक अवस्थामा मात्र असर पुग्दैन, व्यक्ति पारिवारिक तथा सामाजिकरूपमा समेत कमजोर हुन्छ । त्यसैले चाँडै पाको हुनबाट बच्न र पाको उमेरमा पनि स्वस्थ तथा मजबुत रहनका लागि धुमपान तथा मद्यपान गर्नु हुँदैन ।

हल्लाबाट बच्ने

पाको उमेरमा श्रवण शक्ति कम हुँदै जाने भएकाले बढी कोलाहलयुक्त ठाउँमा बस्दा झन् बढी असर हुन्छ । त्यसैले पाको उमेरमा प्रस्ट कान सुन्नका लागि र मजबुत बन्नका लागि कोलाहलयुक्त वातावरण तथा ध्वनि प्रदूषणबाट जोगिनुपर्छ ।

व्यवस्थित जीवनशैली अपनाउने

पाको उमेरमा आफ्नो जीवनशैलीमा पनि निकै ध्यान दिनु आवश्यक हुन्छ । स्वच्छ वातावरणमा बस्नुपर्छ, स्वस्थकर खानपान गर्नुपर्छ, राम्रोसँग शरीरको सरसफाइ गर्नुपर्छ र नुहाइधुवाइ गर्न अल्छी मान्नु हुँदैन । सरसफाइले सधैं स्वस्थ र फूर्तिलो रहन सहयोग पुग्छ । पाको उमेरका व्यक्तिले आफैं सरसफाइ गर्न नसकेको अवस्थामा परिवारका सदस्यले ध्यान दिनु आवश्यक हुन्छ ।

आफ्नो शरीर मात्र होइन, घर–आँगन तथा सुत्ने ओछ्यान पनि सधैं सफा–सुग्घर राख्नु आवश्यक छ । यी कुरामा सचेत भएमा पाको उमेरमा पनि स्वस्थ र फुर्तिलो रहन सकिन्छ ।

पाको उमेरका व्यक्तिले ‘केही गर्न सक्दिनँ…’ भन्दै आत्मबल कमजोर बनाएर बस्नु हुँदैन । दैनिक भेटघाट तथा सामाजिक र सिर्जनशील कार्यमा व्यस्त हुँदा पाको उमेरमा पनि सक्रिय र स्वस्थ रहन सकिन्छ, जसले आयु नै लम्ब्याउन सहयोग पुर्‍याउँछ ।

पाको उमेरमा सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाउनाले पूरै जीवन जवान राख्न मद्दत मिल्छ । ‘अब धेरै लामो आयु छैन…’ भन्दै जीवनलाई ल्याङफ्याङ छाड्नु हुँदैन । सकेसम्म दैनिक कार्यमा सक्रिय हुनुपर्छ ।

ठीक समयमा र पोषणयुक्त खानपान गर्नुपर्छ । प्रशस्त पानी पिउनुका साथै सन्तुलित भोजन गर्नुपर्छ । बेलाबखत स्वास्थ्य जाँच गराउनुपर्छ । समय–समयमा स्वास्थ्यपरीक्षण र आवश्यक उपचार गर्नुका साथै चिकित्सकको सुझावअनुसार व्यवहार गर्नुपर्छ ।