नर्सको खानपान शैली

सागर दाहाल

नर्सिङ भनेको बिरामीको सेवामा व्यस्त रहने पेशा हो । बिरामीको सेवामा तल्लीन रहने नर्सको खानपान शैलीबारे सागर दाहालले गरेको कुराकानी–

सपना श्रेष्ठ

आफ्नो पेशा सम्झँदा पनि कहीलेकहीं त रुनै मन लाग्छ । बिहानदेखि बेलुकीसम्म बिरामीको सेवामा व्यस्त रहँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नै मुस्किल । बिहानै उठ्यो हतार–हतार अस्पताल दगु¥यो ।

अस्पतालमा ड्युटी गर्दा–गर्दा भोक लागिहाल्छ । घरबाट बोकेको खाना खाएर सधैं साध्य चल्दैन । त्यो पनि सेलाइहाल्छ । अस्पताल छेउछाउका होटल र क्यान्टिनमा खानु परिहाल्यो । होटल र क्यान्टिनमा खाजा खानुपर्दा मःमः, चाउमिन र फ्राई राइस नै खाइन्छ । बाहिरको खाना स्वस्थ हुन्छ नै भन्ने कहाँ छ र ! बाहिर खायो, पेट दुखेर हैरान । तर, बाध्यता हुन्छ, बाहिर नखाएर के गर्नु !

नेला साङ्मो लामा

नर्सिङ मलाई असाध्यै मन पर्ने पेशा हो । मेरो विचारमा बिरामीको सेवा गर्न पाइने यो परोपकारी पेशा हो । बिरामी ठीक भएर घर फर्कंदा कम्ति आनन्द लाग्दैन ।

स्वास्थ्य क्षेत्रमा ड्युटी हुने भएपछि खानपानको राम्रो व्यवस्थापन गर्न त मुस्किलै पर्छ । पहिलेदेखि नै स्कुलमा बोर्डर्स बसेर पढेकी हुनाले क्यान्टिनमा खाने बानी नै परिसकेको छ । स्कुलमा होस् वा स्वास्थ्य केन्द्रको ड्युटीको समय नै किन नहोस्, क्यान्टिनमै खान्छु । स्कुल र अस्पतालमा सेवा गर्छु ।

विद्यालयमा हुँदा सकेसम्म अर्ग्यानिक खानपानमा नै ध्यान दिन्छु तर अस्पतालमा भने त्यो साध्य नै हुँदैन त्यसैले मःमः, चाउमिनजस्ता खाजामा नै बढी ध्यान जान्छ । खानपान नमिल्दा बेलाबखत त बिरामी नै परिन्छ नि ।

कञ्चन बुढाथोकी

अस्पतालको ड्युटीका बेला क्यान्टिनमा खाना खान्छु । मैले काम गर्ने अस्पताल घरबाट नजिक भएकाले धेरैजसो त घरमै खाना खाएर ड्युटी जान्छु । अस्पतालमा व्यस्त रहेको समयमा क्यान्टिनमा मःमः, चाउमिन, समोसाजस्ता खाजा खान्छु । मलाई सानैदेखि समोसा असाध्यै मन पर्छ ।

मान्छेमा स्वास्थ्य समस्या त बेलाबखत आउँछ नै । म पनि यसबाट अछुतो हुने कुरै भएन । बेला–बेला बिरामी त परिहालिन्छ । नर्स भएको नाताले स्वास्थ्यबारे सामान्य जानकारी हुने भए पनि बिरामी त परिहालिन्छ । अझ नाइट ड्युटी परेको समयमा त पेट दुख्ने, ग्यास्ट्रिक हुनेजस्ता समस्या कयौं पटक भोगेकी छु ।

खानपान नमिल्दा कहिलेकहीं त हैरानै हुन्छ । सकेसम्म त स्वस्थ रहने प्रयास गर्छु तर शरीर न हो, सचेत हुँदाहुँदै पनि बिरामी त परिहालिन्छ ।

अञ्जली पोख्रेल

मानिसलाई लाग्दो हो– ‘नर्सहरू स्वास्थ्यप्रति निकै सचेत हुन्छन् ।’ मलाई थाहा त छ– स्वस्थ रहनुपर्छ भन्ने कुरा । तर, के गर्नु ! थाहा हुँदाहुँदै पनि आफ्नोभन्दा बढी बिरामीकै स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

अस्पताल पुगेपछि बिरामीको खानपान तथा पोषणलाई ध्यान दिनु परिहाल्छ । यसरी बिरामीलाई राम्रो खानपान गर्ने वातावरण बनाउँदा बनाउँदै आफूले चाहिँ खानै बिर्सिइन्छ । आफूले भने हतारिँदै, पोषणको ख्यालै नगरी खानपान गरिन्छ ।

समयमा नखाएपछि स्वास्थ्य समस्या त हुने नै भयो । मःमः, चाउमिनजस्ता खाना कति पोषिला छन् भन्ने ख्यालै नगरी खाइन्छ । यो हाम्रो बाध्यता हो ।