प्राकृतिक चिकित्सामा समर्पित डा. बस्नेत
होलिस्टिक संवाददाता
४३ वर्षीय डा. जनकबहादुर बस्नेत प्राकृतिक चिकित्सक हुन् । उनी योग तथा प्राकृतिक चिकित्सक सङ्घका अध्यक्ष समेत हुन् । १५ वर्षअघि प्राकृतिक चिकित्सकीय पेशा थालेको बताउने डा. बस्नेतले काठमाडौंको महाराजगञ्जस्थित ‘वेलनेस अस्पताल’ मार्फत् प्राकृतिक चिकित्सासम्बन्धी सेवा दिइरहेका छन् । प्राकृतिक चिकित्सा विषयमै अध्ययन गरेका उनी आफ्नै अस्पतालमार्फत् सेवा दिइरहेका छन् ।
रोल्पामा जन्मिएका डा. बस्नेत सानैदेखि प्राकृतिक चिकित्साप्रति झुकाव राख्थे । बाल्यकालदेखि नै यसतर्फ झुकाव भएकाले प्राकृतिक चिकित्सालाई नै आफूले पेशाका रूपमा अँगालेको उनी बताउँछन् । ‘वेलनेस अस्पताल’ मा प्राकृतिक चिकित्साअन्तर्गत् जल–चिकित्सा, मालिस–चिकित्सा, भोजन–चिकित्सा, उपवास–चिकित्साजस्ता सेवा दिइरहेको उनले बताए । सो अस्पतालमा फिजियोथेरापीअन्तर्गत व्यायम–चिकित्सा र इलेक्ट्रोथेरापीजस्ता सेवा पनि दिइन्छ । उक्त अस्पतालले योग–चिकित्सामा आसन, प्राणायम, ध्यान, षठकर्मजस्ता सेवा दिइरहको छ । परम्परागत चिनियाँ उपचारविधिअन्तर्गत अकुपञ्चर, अकुप्रेसर र कपिङ उपचार विधिबाट सेवा दिइरहेको डा. बस्नेत बताउँछन् ।
डा. बस्नेतले करिव पाँच वर्षअघि अस्पताल सुरु गरेका हुन् । प्राकृतिक अस्पताल भएकाले प्राकृतिकरूपमै उपचारविधि अपनाउने गरिएको उनी बताउँछन् । उनले भने– ‘प्राकृतिक चिकित्साको काम भनेको मुख्यतः थेरापी नै हो ।’
ब्याचलर अफ नेचुरालपेथी एन्ड यौगिक साइन्स (बीएनवाईएस) गरेका उनले जनचेतना अभिवृद्धिसँगै पछिल्लो समयमा नागरिकमा ‘ब्याक टु नेचर’ को कन्सेप्ट बढ्दै गएको बताए । स्वस्थ जीवनशैलीका लागि विकल्पका रूपमा प्राकृतिक अस्पताल पुग्नेको सङ्ख्या बढिरहे तापनि कतिपय रोगमा भने आधुनिक चिकित्सा नै आवश्यक पर्ने डा. बस्नेतले बताए ।
कयौं रोगको प्राकृतिक चिकित्सकीय विधिबाट उपचार सम्भव भएकाले यसप्रति जनआकर्षण क्रमशः बढ्दै गएको डा. बस्नेतले बताए । विभिन्न जडीबुटीको उपयोग गरी प्राकृतिक ढङ्गले उपचार गरिने भएकाले प्राकृतिक चिकित्सा विधिको ‘साइड–इफेक्ट’ समेत नहुने चिकित्सकहरू बताउँछन् । प्राकृतिक उपचार पद्धति सस्तो र भरपर्दो पनि भएकाले यो विधि अपनाउनेको सङ्ख्या दिनानुदिन बढिरहेको उनी बताउँछन् । ‘प्राकृतिक चिकित्सकको अफ्नै किसिमको सिद्धान्त र विधि छ,’ डा. बस्नेत भन्छन्– ‘यो विधि सस्तो र भरपर्दो पनि छ ।’