जाडोमा स्पाको आनन्द
अनिता सुनुवार
पछिल्लो समय विशेषतः सहरी क्षेत्रमा स्पाको आकर्षण बढ्दो छ । हेल्थ क्लबदेखि प्राकृतिक चिकित्सकीय उपचार विधिसम्ममा यसको प्रयोग हुन्छ । व्यक्ति स्वस्थ तथा सुन्दर हुनका लागि पानीको माध्यमबाट गरिने स्पा उपयुक्त विधि हो ।
स्पा पश्चिमा मुलुकमा हाइड्रोथेरापीका रूपमा प्रचलित छ । यो विधि युरोप, अमेरिकाजस्ता मुलुकमा लोकप्रिय छ ।
जाडो मौसममा पानीको आनन्द
पानीमा डुबेर शारीरिक तथा मानसिकरूपमा आन्द लिने विधि हो– स्पा । स्पा गर्ने व्यक्ति पानीको पोखरी वा ‘ज्याकुजी’ मा डुबुल्की मार्दै बाहिर निस्कन्छन् । पोखरी वा ज्याकुजीको पानी भने आवश्यकताअनुसार तातो वा चिसो दुवै किसिमको हुन सक्छ । तर, जाडो मौसममा भने तातो पानीमा स्पा गरी आनन्द लिनुको मजा छुट्टै हुन्छ ।
जाडो मौसममा ४०–४२ डिग्री फरेनहाइटको पानीमा नुहाउनु उचित हुन्छ । स्पा गर्ने पोखरीमा तातो–चिसो पानीको मात्र व्यस्था हुँदैन, चारैतिर पानीका फोहोरा समेत जडित हुन्छ । फोहोराले शरीरको छालामा चाप दिन्छ । यसरी पानीकै फोहोराले चाप दिँदा दुखाई कम गर्न त सहयोग मिल्छ नै छालासम्बन्धी विभिन्न समस्याबाट समेत बच्न सकिन्छ । यसले छालामा सुन्दरता ल्याई छाला तथा अनुहारमा चमक ल्याउँछ ।
नेपालका विभिन्न स्थानमा प्राकृतिकरूपमै सिर्जित तातो पानीमा नुहाउने प्रचलन छ; यो पनि एक प्रकारको ‘स्पा–थेरापी’ कै रूप हो । तातो पानीमा नुहाउनाले शरीरमा आउन सक्ने घाउ–खटिराबाट बच्न मात्र होइन, शरीरमा समेत रोग नलाग्ने विश्वास रहिआएको छ । यो मान्यता वैज्ञानिक तथा व्यावहारिक समेत छ । स्पाअन्तर्गत सौना, स्टिमबाथ र ज्याकुजी पर्दछन् । यी तीनवटै प्रक्रिया अपनाएर नै स्पाको एकीकृत रूप तयार हुन्छ ।
स्पाको टेक्निक
स्पा गर्ने विभिन्न तरिका छन् । स्पा गर्दा सबैभन्दा पहिले नुहाउनु आवश्यक हुन्छ । नुहाइसकेपछि स्पा पोखरीमा छिर्न सकिन्छ । यसरी स्पा पोखरीमा छिर्दा भने बिस्तारै पानीमा छिनुपर्छ, एकैसाथ फुत्त पसिहाल्नु हुँदैन । बिस्तारै छिर्दा व्यक्ति शारीरिक तथा माानसिक रूपमा तयार हुन्छ । स्पा पोखरीमा एक्कासि छिर्दा बेफाइदा भैहाल्ने खासै सम्भावना नभए पनि स्पाबाट लिइने शारीरिक तथा मानसिक आनन्द र सन्तुष्टि कम हुन सक्छ ।
सामान्यतः स्पा गर्ने पोखरीमा पानीको तापक्रम स्वचालित रूपमा सन्तुलित हुने भएकाले डराइहाल्नु पर्ने आवश्यकता हुँदैन । अर्को ध्यान दिनु पर्ने कुरा के छ भने स्पामा छिर्नुअघि पानीमा भिजाइएको रुमाल टाउकामा राखिन्छ । यसरी चिसो रुमाल वा भिजेको तौलिया टाउकामा राख्नाले शरीरको तापक्रम सन्तुलित हुन मद्धत मिल्छ ।
छाला चम्काउने स्पा
अनुकूल तापक्रमको व्यवस्था भैसकेपछि बिस्तारै स्पा पोखरीभित्र छिरिन्छ । करिव आठ मिनेट पानीमा बसिसकेपछि बाहिर निस्कनु पर्छ । तर, सहन सक्दो तापक्रमको पानीमा बस्नु उपयुक्त हुन्छ । तातो पानीमा करिव आठ मिनेट बसिसकेपछि त्यति नै समय चिसो पानीमा बस्नु उपयुक्त हुन्छ । स्पा गर्न करिव एक घन्टा लाग्छ । घरि चिसो र घरि तातो पानीमा स्पा गर्नाले छाला खुम्चने र फुक्ने प्रक्रिया हुन्छ, जसले छालासम्बन्धी रोग लाग्नबाट बचाउनुका साथै सम्पूर्ण शरीर नै स्वस्थ रहन सहयोग पुग्छ । यो प्रक्रियामा माङ्शेपशी नै खुम्चँदै फुक्दै गर्ने भएकाले छालामा भएको बिकार तत्त्व बाहिर जान्छ, जसले व्यक्तिको छाला स्वस्थ भई चमक आउँछ ।
यसरी स्पाले व्यक्तिलाई सुन्दर तुल्याउँछ । नियमित स्पा गर्नाले शरीरको अनावश्यक बोसो पनि पग्लिएर जान्छ, जसले व्यक्तिलाई ‘फिट’ रहन समेत सहयोग मिल्छ । नियमित स्पा गर्दा छालामा रहेका मरेका कोषिका बाहिर निस्कने भएकाले पुनः नयाँ कोषिका उत्पादन हुन्छन्, जसबाट छालामा रक्तसञ्चार फ्रक्रिया सहज हुन्छ । छालामा रत्तसञ्चार प्रक्रिया सहज हुने वित्तिकै छाला मात्र होइन, सिङ्गो शरीर नै स्वस्थ र मजबुत बन्छ । शरीर मजबुत बनेपछि व्यक्तिमा रोग लाग्ने जोखिम कम हुन्छ ।
यसबाट छाला मुलायम हुनुका साथै शरीरमा हुने घाउ–खटीराको जोखिम समेत कम हुन्छ । त्यति मात्र होइन, बाथ तथा प्यारालाइसिसलगायतको जोखिमबाट समेत बच्न सकिन्छ । यसर्थ, स्पा शारीरिक मात्र होइन, मानसिकरूपमा पनि लाभदायक छ । स्पा गर्नाले मुख्यतः व्यक्तिमा आनन्दानुभूति हुन्छ, जसले मानसिक रोगको जोखिमबाट समेत बचाउँछ ।
कागती–पानीले रसिलो शरीर
स्पा गर्नुभन्दा दुई घन्टा अघि र गरिसकेको दुई घन्टा पछि मात्रै कडा किसिमका खाना खानु उचित हुन्छ । कडा किसिमका खानपान गर्ने वित्तिकै स्पा गर्दा र स्पा गरिसक्ने वित्तिकै कडा किसिमका खाने कुरा खाँदा बान्ता हुने जोखिम हुन्छ । स्पा गर्ने क्रममा कागती–पानीमा वीरे नुन घोलेर पिउनुपर्छ, जसबाट रिङ्गटा र चक्कर लाग्ने तथा बान्ता हुने सम्भावना न्यून हुन्छ ।
स्पा पनि एक किसिमको व्यायाम नै भएकाले यस क्रममा शरीरबाट पानी बाहिर गएको हुन्छ । स्पाका क्रममा कागती–पानी खानाले शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । कागती–पानी यति नै पिउनुपर्छ भन्ने छैन, आवश्यकताअनुसार पिउँन सकिन्छ । बालबालिकाले भने स्पा गर्नु उचित हुँदैन । बालबालिकाको छाला कलिलो हुने भएकाले यसबाट विभिन्न नकारात्मक असर पर्न सक्छ ।